अमेरिकामा आकाशिंदो आर्थिक असमानता

गत सालको अक्टोबरमा चक कोलिन्स र जोस होक्सीले तयार पारेको Billionaire Bonaza 2018 रिपोर्ट र www.inequality.org ले अमेरिकाको आकासिंदो आर्थिक असमानता बारे तयार पारेको रिपोर्ट हालै वाहिर आएका छन् । तिनले निकालेका प्रमूख निष्कर्ष निम्नानुसार छन् । यसबाट विश्वको उत्कृष्ट भनिने अमेरिकी प्रजातन्त्रको श्रमिक विरोधी असली सार स्पष्ट हुन्छ ।

– १९८२ देखि २०१८ सम्ममा अमेरिकाका तीनवटा धनी परिवार वाल्टन, कोच र मार्सको कुल सम्पत्ति लगभग ६,००० प्रतिशतले बृद्धि भएको छ । जवकि, यही अवधिमा त्यहाँका मध्यम वर्गीय परिवारको सम्पत्ति भने ३ प्रतिशतले घटेको छ ।

– यी तीन सम्पन्न परिवारको कुल सम्पत्ति ३४८.७ अरब डलर छ । यो मध्यम वर्गीय एउटा अमेरिकी परिवारको सम्पत्ति भन्दा ४० लाख गुना बढी हो ।

– १९८२मा वाल्टन परिवारको जम्मा सम्पत्ति ६९ करोड डलर थियो । २०१८मा त्यो १६९.७ अरव डलर पुगेको छ, जुन ९२५७ प्रतिशतले बढी हो ।

– अमेरिकी तीन जना जेफ बेजोस, बिल गेट्स र वारेन बफेटको जम्मा सम्पत्ति देशका सबभन्दा गरीव ५० प्रतिशत जनताको कुल सम्पत्ति भन्दा धेरै छ ।

– अमेरिकाको एउटा मध्यम परिवारले प्रतिवर्ष ८०,००० डलर सम्पत्ति कमाउने गर्छ । जबकि, अमेरिकाको (संसारको पनि) सबैभन्दा धनी जेफ बेजोसले त्यसको २० लाख गुनाले बढी कमाउँछ ।

– गत सालमा मात्र बेजोसको सम्पत्ति ७८.५ अरव डलरबाट बढेर १६० अरव डलर पुग्यो । प्रतिघण्टा १५ डलरको अहिलेको ज्याला अनुसार पूरासमय काम गर्ने एकजना अमेरिकी मजदुरका लागि यति सम्पत्ति कमाउन २५ लाख वर्ष लाग्छ ।

– सबभन्दा गरीव १० प्रतिशत अमेरिकी मजदुरले १९७९ मा प्रतिहप्ता सरदर ४१४ डलर ज्याला कमाउँथे र त्यो २०१५ मा ३९७ डलरमा झरेको थियो । जवकि माथिका १० प्रतिशतको सरदर ज्याला १९७९ मा १,४७९ डलर र २०१५ मा २,००४ डलर थियो ।

– सबभन्दा तलका ९० प्रतिशत अमेरिकी जनताले १९७९मा ज्याला स्वरुप प्रतिवर्ष सरदर २८,५५९ डलर र माथिका १ प्रतिशतले २६९,४३८ डलर कमाउँथे । जवकि, २०१५ मा माथिका १० प्रतिशतको ज्याला क्रमशः ३४,४८१ डलर र ६९१,६४९ डलर पुगेको थियो ।

– डिसेम्बर १५, २०१७ को Intelligencer का अनुसार १९८० मा माथिका १ प्रतिशत धनाढ्यको राष्ट्रिय आम्दानीमा करीव १०.८ प्रतिशत हिस्सा थियो र तलका ५० प्रतिशत गरीवको हिस्सा करीव २०.८ प्रतिशत थियो । त्यो २०१५मा आइपुग्दा १ प्रतिशत धनाढ्यको हिस्सा बढेर करीव २०.१ प्रतिशत र तलका ५० प्रतिशतको हिस्सा घटेर करीव १३ प्रतिशतमा झरेको थियो ।