सिन्धुली । सिन्धुली जिल्लाको दुधौली नपा वडा नं. ७ को सिमराही टोलमा पर्ने करिब पच्चीस विगाह जमिन क्रान्तिकारी माओवादीले कब्जा गरेको छ । उदयपुुर जिल्ला कटारी नपा–३ मा स्थायी घर भई हाल युकेमा बस्ने रत्नबहादुर तामाङले विगत लामो समयदेखि आफ्नो नाममा दर्ता गर्न खोजेको ऐलानी जग्गा कब्जा गरेको क्रान्तिकारी माओवादी सिन्धुलीका सेक्रेटरी नविनले जानकारी दिएका छन् ।
स्थानीय जनताको समेत सहभागितामा सेक्रेटरी नविनको नेतृत्वमा गएको क्रान्तिकारी माओवादीको टोलीले बुधबार उक्त जग्गामा पार्टीको झण्डा गाडी कब्जा गरिएको र हाते पर्चा छरिएका जनाइएको छ । सेक्रेटरी नविनका अनुसार उक्त जग्गा सुकुम्बासीहरुलाई वितरणको तयारी गरिएको छ ।
चतरा–हेटौडा लोकमार्गले छोएको उक्त जग्गा आफ्नो नाममा दर्ता गराउन तामाङले जग्गा दलाल, कमिसनखोरहरुलाई लगाउँदै आएको र करिब १५ विघा जमिन दर्ता समेत गरेको पाइएकोले उक्त जग्गा कब्जा गरिएको सेक्रेटरी नविनले बताए । उक्त जग्गामा जनयुद्धअघि देखि नै सुकुम्बासीहरु बस्दै आएको र पछि तामाङले प्रशासन लगाएर सुकुम्बासीहरुलाई हटाई आफ्नो नाममा दर्ता गराउन ठूलै आर्थिक चलखेल गरेको समेत सेक्रेटरी नविनले बताए ।