‘अन्त्य’ सम्बन्धी शून्यवादी चिन्तन : एक दार्शनिक सन्दर्भ

प्रकाशित मिति : २०७५ माघ ४

- प्रा.डा. ताराकान्त पाण्डेय

 

 

नित्से : दार्शनिक दृष्टिले उत्तर आधुनिकतावाद अन्त्यका दर्शनमा आधारित छ । अथवा यसो भनौं यसको दार्शनिक पीठिका शून्यवादी दर्शन हो, जसका प्रणेता फ्रेडरिक विल्हेम नित्से (१८४४ –१९००) हुन् । डेरिडाली उत्तर संरचनावाद र फुकोइअन उत्तर संरचनावाद दुवैको दार्शनिक आधार नित्सेको शून्यवादी दर्शन हो (जिमा १४८, १५०) । फुकोले त आफै “म नित्सेवादी हुँ” भनेका छन् । नित्सेका दार्शनिक चिन्तनको निचोड के हो भने सत्य सार्वभौम हुँदैन र त्यो नैतिकता भन्दा माथि पनि हुँदैन ।

समाजले स्वीकृत गरेका नैतिकताका परिधिमा रहेर हामी सत्यलाई स्वीकार गर्छौं जबकि त्यसरी स्विकारिएको सत्य पूर्ण सत्य हुँदैन, त्यो कतै प्रतीकात्मक हुन्छ र उनकै शब्दमा भन्दा सत्य वस्तुतः मानवीय आरोपणको परिणति मात्र हुन्छ । अर्थात् त्यो पूर्णतः मानवारोपित (Anthropomorphic) हुन्छ ।

नित्से के भन्छन् भने सत्य मान्छेकै माध्यमले व्यक्त हुन्छ अर्थात् यो वस्तु, यो घटना यो हो भनेर मान्छेले सूक्ष्म प्रतीक/सादृश्य (Metonymies) को प्रयोग गरेर सत्यलाई आफ्ना ढङ्गले व्यक्त गर्दछ । मान्छे विनाको सत्य हामी ग्रहण नै गर्दैनौं र त्यसरी ग्रहण गरिएको सत्यमा पूर्ण सत्यता (Absolute Reality) हुँदै हुँदैन । नित्से थप के भन्छन् भने वस्तुमा मान्छे प्रवेश गरेपछि त्यो मान्छेको व्याख्या हुन पुग्छ, वस्तुको आफ्नो वस्तुता हराउँछ ।

त्यसैले उनको निष्कर्ष छ–वास्तविकता (पूर्ण सत्य) को अनावरण सम्भव छैन (४६६) । वस्तु स्वयं सत्य हो, शब्दले सत्यलाई व्यक्त गर्न सक्तैन । शब्द/भाषा छलकारी हुन्छ । यसरी भाषाको आलङ्कारिक स्वभाव र यसका सीमाको व्याख्या गर्दै नित्से पाठलाई अनि कानुन र व्यवस्था सबैलाई छलना (भ्रम) (Simulation) बाहेक केही देख्दैनन् । भाषाका आधारमा गरिने व्यवहार र सिर्जना सबै छलना(भ्रम) मात्र हुन् उनका दृष्टिमा । उनका दृष्टिमा सत्य र मान्छे बिच चोर–पुलिसको लुकामारी खेल मात्र चल्छ । अर्थात् सत्यको नाटक मात्र गरिन्छ । यसरी नित्सेले मान्छेलाई समेत महा छली र धोकेबाजको संज्ञा दिएका छन् ।

बौद्रिलार्द : छलना/साइमुलकारा

नित्सेका धारणामा टेक्दै उत्तर संरचनावादी बौद्रिलार्दले पनि भाषाको छलकारी रूपको व्याख्या गरेका छन् । उनले भाषाद्वारा निर्मित पाठ (Discourse) लाई छलना (अर्थात् Simulcara )को संज्ञा दिएका छन् । यो छलना (साइमुलकारा) को तात्पर्य मूल विनाको अनुकरण/प्रतिलिपि/नक्कल (the copy without an original) हो भन्दै बौद्रिलार्द अहिलेको लेखन र युगलाई यही छलना (simulation) / (hyper reality) को लेखन र युगको संज्ञा दिन्छन् र यस युगमा वास्तविकतामाथि नक्कल (imitations) वा झुठ (Fakes)ले प्राथमिकता वा ज्ञद्दआधिपत्य कायम गरेको बताउँछन् (सेल्डन, २०१) । बौद्रिलार्द अगाडि के भन्छन् भने सङ्केतहरू (भाषिक, भाषेतर) ले वास्तविक जीवनलाई व्यक्त गर्दैनन्, बरु चिन्हहरूको स्वायत्त संसारमा वास्तविक जीवनलाई प्रतिस्थापित गरिदिन्छन् । उनका विचारमा यो वास्तविकता र बिम्बको एउटा विस्फोट (Implosion) हो ।

सञ्चार प्रविधिको यस युगमा मिडिया (विशेषतः टेलिभिजन)ले यस्ता बिम्बको निर्माण गर्छ भन्दै उनी टेलिभिजनद्वारा कुनै घटना/यथार्थका लागि निर्माण गरिने बिम्बलाई साइमुलेसन (छलना)को संज्ञा दिन्छन् । यसै आधरमा उनले अहिलेको दृश्य मिडिया वा लेख्य डिस्कोर्सलाई युटोपियाको संज्ञा दिएका छन् । वास्तविकता र त्यसको भाषिक अभिव्यक्तिप्रति ब्रौद्रिलार्दको यस्तो धारणालाई सेल्डनले शून्यवादकै प्रभाव बताएका छन् (२०१) । सेल्डनका विचारमा बौद्रिलार्दका लागि उत्तर आधुनिकता अर्थको उनुपस्थिति, निष्क्रियता, शिथिलता र इतिहास वा विषयको अन्त्यको पुनरावृत्ति हो (२०१) ।

मिसेल फुको

विमर्श : सत्य, शक्ति र ज्ञानको सम्बन्ध

उत्तर आधुनिकताका अर्का दार्शनिक आधार स्तम्भ मिसेल फुको पनि पहिला फ्रेन्च कम्युनिस्ट पार्टीका सदस्य थिए । पछि उनी त्यसबाट अलग भए । उनले किटानी गरेर मार्क्सवादको आलोचना गरेका छैनन् तर उनले इतिहासको जसरी पुनर्व्याख्या गरेका छन् र त्यसलाई जसरी खण्डित र स्थानिक बनाउने काम गरेका छन्, त्यसले सारमा मार्क्सवादको ऐतिहासिक भौतिकवादी मान्यताालाई विखण्डित गरेको छ । उनी इतिहासको निरन्तरतामा विश्वास गर्दैनन् र इतिहासको गति अग्रगामी यात्रातर्फ उन्मुख हुन्छ भन्ने विश्वास पनि गर्दैनन् । उनको नव इतिहासवादी मान्यताले इतिहासको गतिशील विकास क्रम र त्यसका गौरवपूर्ण प्राप्तिहरु अनि तिनको अद्यावधिक महत्वलाई निषेध गर्दछ ।

इतिहासहरु अलग अलग कालखण्डका विमर्शहरु हुन् र तिनले स्थापित गरेका सत्य वा ज्ञान त्यही विमर्शात्मक संरचना (Discursive Formation) मा मात्र सत्य हुन् भन्ने मान्यता अगाडि सारेर फुकोले ज्ञान (संज्ञान) को र सत्यको बोध र निर्धारणको भौतिकवादी प्रक्रियालाई उल्ट्याएका छन् । मार्क्सवाद पनि एउटा विमर्शात्मक संरचनामा स्थापित सत्य मात्र हो, त्यसैले त्यसको निरन्तरता र समीचीनता स्थापित हुँदैन ।

यस्तो अवधारणाका आधारमा घुमाउरो पाराले उनले मार्क्सवादको निषेध गर्न खोजेका छन् । समाजमा हुने द्वन्द्व र शक्तिको प्रयोगसम्बन्धी उनको मान्यता र व्याख्याले पनि वर्ग अन्तर्विरोधको मार्क्सवादी मान्यताको विखण्डन गरेको छ । अन्तर्विरोध र द्वन्द्वका अनेक रुप भए पनि समाज परिवर्तनमा वर्ग अन्तर्विरोधको केन्द्रीय भूमिका हुने र आर्थिक आधारमा हुने द्वन्द्व नै निर्णायक हुने मान्यतालाई फुकोले खारेज गरेका छन् ।

उनका विचारमा द्वन्द्व बहुधारा र बहुपक्षबीच हुन्छ । त्यसै गरी शक्ति पनि कुनै व्यक्ति, वर्ग वा संस्थामा मात्र सीमित हुँदैन, न त यो दमन, निषेध वा नियन्त्रणमा मात्र सीमित हुन्छ । शक्तिलाई उनी उत्पादनशील र सर्वव्यापी देख्छन् र यो समाजका हरेक इकाइमा निहित हुने धारणा राख्छन् (The Order of Things 100, 150) । त्यसैले उनका विचारमा शक्ति माथिबाट तल (शासक/केन्द्रबाट शासित/परिधितिर) मात्र प्रसारित हँदैन । तलबाट माथितिर अनि ठाडो मात्र नभई तेर्सो (horizontal) दिशामा पनि प्रसारित भइरहेको हुन्छ ।

डेरिडा, ल्योतार र फुकोले विज्ञान र महाख्यानको अन्त्य र त्यसका स्थापित अर्थप्रति जुन अविश्वास प्रकट गरेका छन् र फुकोयामाले जसरी इतिहासको अन्त्यको घोषणा गरेका छन्, ती सबका पछाडि मार्क्सवाद (र समाजवाद)को विरोधको राजनीतिक आधार र निहितार्थ त छँदै छ, तर दार्शनिक दृष्टिले हेर्दा अन्त्य, अविश्वास र संशयका उक्त सबै धारणाहरूका पछाडि वा केन्द्रमा शून्यवादी अज्ञेयवादी दृष्टि नै मुख्य रूपले सक्रिय रहेको छ जसको बलियो पृष्ठभूमि उत्तर आधुनिकताका पूर्ववर्ती दार्शनिक नित्सेमै पाइन्छ ।