पर्वत । म्याग्दीको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग १ ख ६१०८ नं को बस पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना हुँदा सात जनाको मत्यु भएको छ भने ३१ घाइते भएका छन् ।
बिहीबार बिहान भएको उक्त दुर्घटनामा परि ३ जनाले घटनास्थलमै र ४ जनाले उपचारको क्रममा ज्यान गुमाएका हुन् । मृत्यु भएका ७ मध्ये चार जनाको शनाखत भएको छ भने अन्य तीनको भने अझैं परिचय खुल्न सकेको छैन । दुर्घटनामा मृत्यु हुनेमा पर्वतको जलजला गाउँपालिका–८ का टिके परियार र उनकी श्रीमती सेती परियार, म्याग्दीको पाखापानीका राजेश पुन र बाग्लुङ्ग नगरपालिका ४ कुँडुलेकी शान्ति केसी रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नावय उपरीक्षक भुवनेश्वर तिवारीले दिएका जानकारी अनुसार घाइते मध्ये १७ जनाको अवस्था गम्भीर रहेको छ । बस भीरबाट कालीगण्डकीको किनारामा खरेको र ठूला ढुंगामा ठोक्किँदा बढी क्षति भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँको ग्राण्डी अस्पताल लगिएको छ भने थप तीन जनालाई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टरको व्यवस्था गर्न नेपाली सेनालाई आग्रह गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।
अन्य घाइतेहरुको धौलागिरि अञ्चल अस्पतालमा उपचार गरी थप उपचारका लागि एम्बुलेन्समार्फत पोखराको मणिपाल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतक तथा घाइतेको विवरण सङ्कलनको कार्य भइरहेको छ । दुर्घटनाको कारण भने अहिलेसम्म खुलेको छैन । केही घाइतेको अवस्था चिन्ताजनक रहेका कारण मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।