दैलेख । नेकपा (क्रान्तिकारी माओवादी) दैलेखले जनसमुदायको नाममा एक अपिल जारी गर्दै नयाँ जनवादी व्यवस्था स्थापनाका लागि संघर्षमा जुट्न अपिल गरेको छ । पार्टी केस तथा दैलेख इन्चार्ज प्रकाशउर्जा र सेक्रेटरी अशोकले संयुक्त रुपमा जारी गरिएको अपिलमा वर्तमान ओली नेतृत्वको लोकतान्त्रिक गणतान्त्रिक सरकार पूर्णतः असफल भएको चित्रण गर्दै अबको विकल्प जनताको संघीय गणतन्त्र भएको स्पष्ट पारिएको छ ।

अपिलमा ओली सरकारको जनघात र राष्ट्रघातको चित्रण गर्दै भनिएको छ, “भोट हाल्दा नेपाली जनताले गरेको सुख र समृद्धिको अपेक्षा जनताकै थाप्लोमा असङ्ख्य करको भारी, भ्रष्टाचार, महँगी, तस्करी, राष्ट्रघात, निर्मला बलात्कार तथा हत्याकाण्ड, ठूलो जहाजकाण्ड, चिनीकाण्ड, बूढीगण्डकी काण्ड, चन्द्रागिरिकाण्ड, एनसेलकाण्ड, क्रिस्चियन धर्म प्रचारकाण्डजस्ता काण्डैकाण्डको आतङ्कमा परेर देशलाई समाप्त पारिएको छ । जनतामा सरकारप्रति असन्तुष्टि र आक्रोशभन्दा अरू केही छैन ।”

अपिलमा भनिएको छ, “वर्तमान सरकारले नक्कली कम्युनिस्ट र समाजवादको नारा दिएर भ्रम सिर्जना गर्दै नागरिक अधिकार र राजनीतिक स्वतन्त्रताका विरूद्ध फाँसिवादतिर उन्मुख बन्दै आइरहेको छ । महँगीले जनताको ढाड भाँचेको छ । अर्थतन्त्र दलाल र सुदखोरहरूको हातमा पुगेको छ । राष्ट्र बैङ्कबाट सस्तो दरमा ऋण लिएर चर्को दरमा लगानी गर्ने बैङ्क माफियाहरूले जनतालाई लुटेका छन् । युवा पलायन बढ्दै गएकोप्रति हाम्रो पार्टी चिन्तित बनेको छ ।”

ओली सरकारको जनघात र राष्ट्रघातका विरुद्ध प्रतिरोध संघर्षमा उत्रिएको क्रान्तिकारी राजनीतिक शक्तिमाथि राज्य दमनमा उत्रेको चर्चा गर्दै अपिलमा भनिएको छ, “न्यायको आवाज उठाउने पार्टीका युवा नेतामाथि झुट्टामुद्दा लगाउने, गिरफ्तार गर्ने, यातना दिने, जेल हाल्ने कार्य गरिँदैछ । यी सबैबाट देश सङ्कटमा परेको प्रष्ट छ । काङ्ग्रेस— राप्रपाले ‘कम्युनिस्ट सरकारको असफलता’ भनेर आफू सरकारमा पुग्ने वा चुनावी नारा बनाउन खोजेका छन् ।”

वक्तव्यको अन्तमा भनिएको छ, “दलाल पुँजीवादी संसदीय सत्तालाई जरैबाट उखेलेर फाल्नु र नयाँ जनवाद हुँदै, वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न अब ‘जनताले राणालाई हेरे, राजालाई हेरे, काङ्ग्रेसलाई हेरे । एमाले–माके संशोधनवादी कम्युनिस्टलाई हेरे । कसैले पनि जनता र देशको हितमा काम गर्न सकेनन् । त्यसको एउटै विकल्प नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद हो भन्ने कुरा बुझ्न कुनै अस्पष्टता छैन । तसर्थ नौलो जनवादी व्यवस्था स्थापना गर्नका लागि सबै क्रान्तिकारी, देशभक्त, लोकतन्त्रवादी, वामपन्थी शक्तिहरू एकताबद्ध बनेर स्वाधीनता र देशको रक्षा गर्न जुटौं, जित निश्चित छ ।”

यसैबीच, माघ १ गते बसेको दैलेख जिल्ला समितिको बैठकले दैलेखको जिल्ला सेक्रेटरीमा अशोकलाई चयन गरेको छ भने बैठकले पार्टी केन्द्रको योजनालाई लक्षित गरी ४ महिने राजनीतिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले पौष र माघमा राष्ट्रिय स्वाधीनता, पहिचान सहितको संघीयता, हिंसा, हत्या, बलात्कार, मूल्यवृद्धि, महंगी लगायतका विषयामा अन्तरक्रिया, गोष्टी तथा प्रचारात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर