नेपालका बिग मिडियाहरु प्रायोजित छन् : सीपी गजुरेल

नेपालका बिग मिडियाहरु प्रायोजित छन् : सीपी गजुरेल

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य समेत रहेका देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले नेपालका मूलधारका भनिने मिडियाहरु प्रायोजित रहेको टिप्पणी गरेका छन् । क्रान्तिकारी माओवादी निकट पत्रकार संगठन क्रान्तिकारी पत्रकार महासंघको ३ नं. प्रदेशको भेलालाई बुधबार सम्बोधन गर्दै अध्यक्ष गजुरेलले यस्तो टिप्पणी गरेका हुन् ।

आफूलाई बिग मिडिया भनी दावी गर्ने छापा, इलेक्ट्रोनिक तथा अनलाइन मिडियाहरुले दलाल पुँजीपति वर्ग, बहुराष्ट्रिय कम्पनी तथा कर्पोरेट हाउसहरुको विचार र समाचारहरु प्रायोजित रुपमा प्रकाशन तथा प्रशारण गर्ने गरेको भन्दै अध्यक्ष गजुरेलले वैकल्पिक शक्तिको रुपमा स्थापित हुँदै गएको क्रान्तिकारी माओवादी, देजमो तथा सम्बद्ध जबस मोर्चाले गरेका संगठन र संघर्ष लगायतका कार्यक्रमहरुका समाचारहरुलाई ब्ल्याक आउट गर्ने गरेको दावी गर्दै भने, “बिग मिडियाहरुले अहिले क्रान्तिकारी माओवादी भन्ने यो देशमा राजनीतिक शक्ति नै छैन भन्ने बनाउन धेरै कोशिस गरिरहेका छन् । हाम्रा संगठन र संघर्षका कार्यक्रमहरु भइरहेका छन् । उनीहरुलाई राम्रैसँग थाहा छ । बिट हेर्ने पत्रकारहरुले समाचार पनि लैजान्छन् तर मिडिया मालिक र सम्पादकहरुले हाम्रा समाचारहरु जानीबुझीकन छाप्दैनन् । तर दलाल पुँजीपति वर्गका विचार र समाचार भने खोजी खोजी छाप्ने गर्छन् । यसकारण बिग मिडियाहरु प्रायोजित छन् ।”

मिडिया मालिकहरुले मिडियाहरुमा योजनाबद्ध एजेन्डा सेटिङ गर्ने गरेको र आफ्नो स्वार्थ अनुसार प्रायोजित समाचारहरु प्रकाशन र प्रशारण गर्ने गरेको चर्चा गर्दै अध्यक्ष गजुरेलले क्रान्तिकारी तथा जनपक्षीय शक्तिले आफ्नो लक्ष्य पूरा गर्न आफ्नै मिडियाहरु सञ्चालन गर्नुपर्ने र भएका मिडियाहरुको गुणस्तरलाई विकास र विस्तार गरेर लैजानुपर्ने आवश्यकता औल्याए ।

ओली नेतृत्वको वर्तमान लोकतान्त्रिक गणतान्त्रिक सरकार पूर्णतः असफल भइसकेको दावी गर्दै अध्यक्ष गजुरेलले अबको विकल्प भनेको जनताका संघीय गणतन्त्र हो र त्यसको स्थापनाका निम्त क्रान्तिकारी माओवादी अहिले नयाँ जनवादी क्रान्तिको तयारीमा जुटिरहेको बताए र भने, “राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विकराल समस्याको समाधान ओली सरकारबाट सम्भव छैन । त्यसको लागि अब क्रान्तिको विकल्प छैन । जनताको साथ सहयोग विस्तारै बढ्दै जानेछ ।”

भेलालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका पिविएम तथा ३ नं. प्रदेश सचिव दिनेश शर्माले क्रान्तिकारी पत्रकारहरुले श्रमजीवि, शोषित–उत्पीडित जनसमुदायको पक्षमा कलम चलाउनु पर्छ भन्दै जनयुद्धका महान सहिद कृष्णसेन इच्छुकको पदचापलाई पछ्याउँदै क्रान्तिकारी पत्रकारहरुले नयाँ जनवादी क्रान्तिको पक्षमा आफूलाई दृढतापूर्वक उभ्याउने र निडरतापूर्वक कमल चलाउनुपर्ने विचार व्यक्त गरे । उनले भने, “क्रान्तिकारी पत्रकारहरु जस्तोसुकै कठिनाइ पनि झेल्न तयार हुनुपर्छ । जनयुद्धका महान सहिद कृष्णसेन इच्छुकको पदचाप पछ्याउँदै क्रान्तिले सुम्पेको महान अभिभारा पूरा गर्न तम्तयार रहनु पर्दछ ।”

भेलालाई सम्बोधन गर्दै क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले पत्रकारिता वर्गसापेक्ष हुने धारणा राख्दै मूलधारका भनिने मिडियाहरुले स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको दावी गरे । उनले भने, “मिडिया भनेको आवाजविहीनहरुको आवाज हो तर मूलधारका भनिने मिडियाहरुले यो दायित्व निर्वाह गरेका छैनन् । मिडिया वर्गीय हुन्छ भन्ने कुरा उनीहरुले दिने विचार र समाचारबाट नै प्रष्ट हुन्छ ।”

मिडियाहरुमा आलोचनात्मक चेत भुत्ते हुँदै गएको चर्चा गर्दै वाच डगको भूमिका खेल्ने पत्रकारहरु ल्याप डगमा परिणत हुँदै गएकोमा चिन्ता व्यक्त गरे । राज्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति निरंकुश बन्दै गएको चर्चा गर्दै प्रेस विरोधी मुलुकी संहिता खारेज हुनुपर्ने धारणा राखे । डिजिटल मिडियाको वर्गीकरणको नाममा साना तथा स्वरोजगारमुखी मिडियाहरुलाई नियन्त्रण गर्ने गरी प्रेस काउन्सीलले नीति तर्जुमा गर्न लागेको प्रति अध्यक्ष राउतले खेद व्यक्त गरे । उनले जनताको राजनीतिक अधिकार र श्रमजीवि पत्रकारहरुको पेशागत हकहितका साथै साना लगानीका मिडियाहरुको संरक्षण र सम्बद्र्धनका लागि संघर्षका प्रक्रियाबाट संगठन अगाडि बढ्ने बताए । अध्यक्ष राउतले नेपाल पत्रकार महासंघ अब एउटै पार्टीको भातृसंगठनमा परिणत हुन लागेको चर्चा गर्दै महासंघको साझा र छाता चरित्रका लागि सरोकारवाला अन्य संगठनहरुबीच गम्भीर विमर्शको खाँचो रहेको औल्याए ।

क्रान्तिकारी पत्रकार महासंघ ३ नं. प्रदेशको फ्र्याक्सन इन्चार्ज समेत रहेका क्रान्तिकारी माओवादीका केस हरिकृष्ण गजुरेलले श्रमजीवि पत्रकारहरुका पेशागत मुद्दाहरु मुलुकमा जनवादी क्रान्ति पूरा नहुँदासम्म समाधान नहुने भएकाले पेशागत मुद्दासँगै नयाँ जनवादी क्रान्तिका निम्ति आफ्नो भूमिकालाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्ने आवश्यकतामाथि जोड दिए ।

विधुर ढकालले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता रनसुर महतराले गरेका थिए भने स्वागत मन्तव्य सागर श्रेष्ठले गरेका थिए । भेलामा ३ नं. प्रदेशका अधिकांश जिल्लाबाट प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भेलाले रनसुर महतराको नेतृत्वमा २१ सदस्यीय प्रदेश कमिटि निर्वाचित गरेको छ ।