काठमाडौं । प्रधानमन्त्री टेरिजा मेको ब्रेक्जिट डिल बेलायती संसदबाट असफल भएको छ । युरोपीय युनियनबाट ब्रिटेन अलग गर्नका लागि सबै गृहकार्य सकेर संसदमा पेश गरिएको प्रस्ताब अस्वीकृत भएको छ । प्रस्तुत प्रस्ताबमा मेलाई जम्मा २०२ सांसदले समर्थन गरे भने यसको विपक्षमा ४३२ सांसदले आफ्ना मत जाहेर गरे ।
यही आशंकालाई चिर्न संसदमा प्रस्ताव पेश गर्नुअघि मेले संसदलाई प्रभावित पार्नेगरी सम्बोधन पनि गरेकी थिइन । उनले सुरुदेखिको कुरा उठाएर आफ्नो योजनाको बचाउ गर्न समय पनि खर्च गरेकी थिइन् । निकै भावुक र आवेशपूर्ण सम्बोधनका क्रममा उनले आफू र आफ्नो ब्रेक्जिट डिललाई संसदको समर्थन नै बेलायतको भविष्य भएको समेत बताएकी थिइन् । उनले आफू सत्तामा रहेको अवधि यत्ति नै भएकाले बेलायत तथा बेलायती जनताका लागि आफूले केही अविस्मरणीय काम गरेर जाने कुरामा समेत् जोड दिएकी थिइन् ।
सम्बोधनका क्रममा उनले आफ्नो जीवनको राजनीतिक करियरकै सबैभन्दा महत्वपूर्ण क्षण भएको बताउन पनि पछि परिनन् । तर, प्रधानमन्त्री मेले आफ्नै कन्जरभेटिभ पार्टीका ११८ सांसदको मन समेत जित्न सकिनन् । परिणामतः ब्रेक्जिट डिलको विपक्षमा बहुमत पर्न गयो । बेलायती संसदमा हालसम्म भएका महत्वपूर्ण ऐतिहासिक घटनाहरुमा ब्रेकजिटको यो सरकारी प्रस्ताब नै सबैभन्दा ठूलो हार भएको घटनाका रुपमा दरिएको छ । विपक्षीले यति ठूलो मत पाउँदै गर्दा विपक्षी दलकै लेबर पार्टीका तीन सांसदले भने ब्रेक्जिट डिलको पक्षमा आफ्नो मत जाहेर गरेका थिए ।
पहिले पनि अविश्वासको प्रस्ताव झेलेकी टेरेजा मेका विरुद्ध उनको यो ऐतिहासिक हारपछि विपक्षी लेबर पार्टीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनको दाबीअनुसार प्रधानमन्त्री मेको ब्रेक्जिट डिल खारेज भई सरकारले संसदको विश्वास मत गुमाउन पुगेको छ ।