पार्टी एकताबारे

प्रकाशित मिति : २०७५ पुस ३०

- क. बसन्त

गत २०७४ असोजमा सम्पन्न हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को राष्ट्रिय सम्मेलनले पार्टी एकताको प्रश्नलाई व्यवस्थित रुपमा अगाडि सारेको थियो । त्यो सम्मेलनमा पार्टी एकताको विषयलाई केन्द्रमा राखी विभिन्न कम्युनिस्ट पार्टीसँग वार्ता गर्न र छलफल चलाउनका लागि केही न्युनतम आधार निर्धारण गरिएका थिए ।

ती थिए : एक, मार्क्सवाद–लेनिनवाद–माओवादलाई पथप्रदर्शक सिद्धान्त मान्ने, दुई, नयाँ जनवादी क्रान्तिलाई न्युनतम राजनीतिक कार्यक्रम मान्ने, तीन, संसदीय व्यवस्था तथा संसदवादको विरोध गर्ने र प्रतिक्रियावादी सत्ता अन्तर्गतको सरकारमा समावेश नहुने, चार, क्रान्तिमा बल प्रयोगको सिद्धान्तलाई अनिवार्य ठान्ने, पाँच, जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त अवलम्बन गर्ने, माओको नेतृत्वमा सञ्चालित चिनियाँ महान् सर्वआरा सांस्कृतिक क्रान्तिलाई मान्ने आदि । माओवादको सट्टा माओ विचारधारा मान्ने, तर त्यसलार्ई सार्वभौम अर्थमा ग्रहण गर्ने पार्टीहरुसँग पनि यो छलफल अगाडि बढाउन सकिने लचकता प्रस्तुत गरिएको थियो ।

उपरोक्त नीतिका आधारमा यो बीचमा विभिन्न पार्टी तथा व्यक्तित्वहरुसंग धेरै एकता केन्द्रित वार्ता तथा छलफलहरु भएका छन् । त्यसमा हाम्रो पार्टीले कमरेड विप्लवले नेतृत्व गरेको नेकपासँग पनि पार्टी एकताको विषयलाई लिएर शीर्ष नेतृत्व तहमा धेरै पटक संक्षिप्त वार्ता तथा छलफल गरेको छ । त्यो एकता वार्ता कहाँ पुगेको छ र एकताका संभावना कति छन् र समस्याहरु कहाँ छन् भन्ने विषयको सेरोफेरोमा केन्द्रित रहेर पार्टीको प्रारम्भिक धारणाअनुसार तयार परिएको यो संक्षिप्त लेख सार्वजनिक गरिएको छ ।

पहिलो कुरा, पार्टीे भनेको भौतिक सङ्गठन मात्र होइन, यो विचार, राजनीति, कार्यक्रम, रणनीति, कार्यनीति, योजना र सङ्गठनको समग्रता हो । कम्युनिस्ट पार्टी भनेको मालेमावादी सिद्धान्तद्वारा निर्देशित सर्वहारा वर्गको संगठित अग्रदस्ता हो, जसले सम्बन्धित देशको विशिष्टताअनुसार वैचारिक तथा राजनीतिक कार्यदिशालाई क्रान्तिकारी व्यवहारमा लागु गर्दछ । विचार तथा राजनीति र पार्टी संगठनका बीचमा द्वन्द्वात्मक सम्बन्ध हुन्छ, तर यसमा विचारको भूमिका प्रमुख रहन्छ । त्यसै भएर माओले “वैचारिक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ” भन्नु भएको हो ।

पार्टी एकता मुख्यतः वैचारिक तथा राजनीतिक विषयमा हुने एकता हो । विचार तथा राजनीतिमा एकता भएपछि मात्र सङ्गठनात्मक एकताको बाटो खुल्दछ । विचार र राजनीतिमा एकता भइसकेपछि पनि सङ्गठनात्मक एकतालाई अल्झाइराख्नु क्रान्तिको हितमा हुंदैन । फेरि पहिले सङ्गठनात्मक एकता गरिहालौँ र पछि विचार तथा राजनीतिमा छलफल गर्दै जाउँला भन्नु उल्टो कुरा हो । यो पार्टी एकता गर्ने मालेमावादी तरिका होइन । पहिले वैचारिक तथा राजनीतिक विषयमा रहेका अन्तरलाई समाधान गर्नु पर्दछ र त्यसपछि मात्र सङ्गठनात्मक एकताको ढोका खुल्दछ । पार्टी एकताबारे मालेमावादी दृष्टिकोण यही हो ।

तात्कालीन नेकपा–माओवादी भित्रको दुई–लाइन सङ्घर्षको प्रक्रियादेखि नै पार्टीमा कमरेड विप्लवले कतिपय विषयमा भिन्नमत राख्दै आएको कुरा प्रायः सबैलाई थाहा छ । ती सबै विषयहरु असान्दर्भिक र गलत थिएनन् । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थितिमा देखा परेका कतिपय परिवर्तनलाई सम्बोधन गर्नेगरी कार्यदिशाको विकास गर्नु आवश्यक थियो र पार्टीले त्यसलाई उच्च प्राथमिकतामा राखेको पनि थियो । उनले आफ्नो विचारलाई सूत्रवद्ध गरी लिखित दस्तावेज पार्टीमा दर्ता पनि गरेका थिए । तर आश्चर्य, उनी आफैले उठाएका विषय माथि छलफल गर्न आयोजना गरिएको विस्तारित बैठकमा बहस नै नगरी पार्टीलाई एउटा छोडपत्र बुझाएर पार्टी फुटको घोषणा गर्न पुगे । यो विगतको एउटा तितो यथार्थ हो ।

कमरेड विप्लवले नेतृत्व गरेको पार्टी पहिले नेकपा माओवादी र अहिले नेकपाले यो बीचमा वैचारिक तथा राजनीतिक विषयमा थुप्रै नयाँ कुराहरु अगाडि सारेको छ । कतिपय सन्दर्भमा नेकपाले मार्क्सवादका आधारभूत कुरालाई गलत ढङ्गले प्रस्तुत गरेर त्यसैलाई मार्क्सवादको विकास हो समेत भन्ने गरेको छ । यतिसम्म कि आफ्नो पार्टीको प्रकाशन जनक्रान्तिको “एकीकृत जनक्रान्ति ः कार्यदिशा संश्लेषण बारे” शीर्षकको लेखमा कमरेड विप्लवले “आजको विश्वको समाधान १७७ वर्ष पहिलेका मार्क्सको संश्लेषण, १०० वर्ष पहिलेका लेनिनको संश्लेषण र ६५ वर्ष पहिलेका माओको संश्लेषणबाट मात्र खोज्न थालियो भने वाष्प इञ्जिनमा हवाइजहाज फिट गर्न खोजेको जस्तो हुन्छ” भनेका छन् । यसको स्पष्ट अर्थ हो मार्क्सवाद–लेनिनवाद–माओवाद अब पुरानो भैसकेको छ, त्यसकारण अब हुने सर्वहारा क्रान्तिलाई यसले वैचारिक मार्गदर्शन गर्न सक्दैन । यो एउटा गंभीर वैचारिक विचलन हो ।

यति मात्र होइन, नेकपाका अन्य कतिपय विश्लेषणहरु पनि निकै गंभीर प्रकृतिका रहेका छन् । कम्युनिस्ट पार्टी अन्य भौतिक पदार्थ जस्तो विपरीतहरुको एकत्व होइन र पार्टीमा दुईलाइन संघर्ष हुँदैन भन्ने उनीहरुको बुझाइ रहेको छ । यो मालेमावाद होइन । यसका अतिरिक्त नेकपाले उत्तर साम्राज्यवाद, दलाल सत्ता, जनयुद्धको प्रक्रिया र राजतन्त्रको अन्त्यपछि नेपाल अर्ध–सामन्ती नरहेको भन्ने प्रश्न, अबको क्रान्ति नयाँ जनवाद हुन सक्दैन भन्ने विषय, एकीकृत जनक्रान्ति लगायतका थुप्रै नयाँ राजनीतिक पदावलीहरु प्रयोगमा ल्याएको छ ।

कुनै पनि पदावलीले स्पष्ट सार र अर्थ बोकेका हुन्छन् र ती पदावली प्रयोग गर्दा तिनको रुप र सारका बीचमा कुनै अन्तरविरोध पैदा हुनु हुँदैन । साथै तिनको सार र रुपमा पार्टीभित्र सबैको बुझाइ एउटै हुनु पर्दछ । उपरोक्त विषय लगायत क्रान्तिका रणनीति, कार्यनीति तथा योजनामा पनि हाम्रो पार्टी र नेकपाका बीच थुप्रै विषयमा मतभिन्नता कायमै रहेका छन् । पार्टी एकताको कुरा गर्दा सबैभन्दा पहिले सम्बन्धित पार्टीहरुका बीचमा सैद्धान्तिक तथा राजनीतिक विषयमा आधारभूत एकता भएको कुरालाई सुनिश्चित गर्नु पर्दछ र त्यसपछि मात्र सङ्गठनात्मक एकताको प्रश्न अगाडि आउँछ ।

यो लेख नेकपासँग वैचारिक बहस गर्ने उद्देश्य राखेर तयार पार्न खोजिएको होइन । यहाँ यो मात्र भन्न खोजिएको हो कि हाम्रो पार्टी र नेकपाका बीचमा यस्ता थुप्रै सैद्धान्तिक विषयहरु छन्, जुन विचार र राजनीतिका दृष्टिले निकै फरक देखिन्छन् । तर अझै पनि हामीलाई लाग्छ ती अन्तरहरु मैत्रीपूर्ण तरीकाले समाधान गर्न नसकिने प्रकृतिका छैनन् । गहन बहसको प्रक्रियाद्वारा दुबै पार्टीको बुझाईलाई अझ माथि उठाएर एकता–संघर्ष–रुपान्तरणको मालेमावादी पद्धतिद्वारा उच्चस्तरको वैचारिक एकता हासिल गरेर नेपाली क्रान्तिका अहिलेका सबै चुनौतीको सामना गर्न सक्षम एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्न पार्टी एकता गर्नु पर्दछ भन्ने बुझाइअनुसार नै हाम्रो पार्टीले एकताको प्रसङ्गलाई अगाडि बढाएको हो ।

तर, हामी के कुरामा एकदम स्पष्ट छौं भने वैचारिक एकता विनाको सङ्गठनात्मक एकता अन्ततः संझौता हुन जान्छ र त्यस्तो एकताले पार्टी र क्रान्तिलाई अगाडि बढाउन सक्दैन । यो कुरा हाम्रो पार्टीका लागि मात्र होइन, सबै क्रान्तिकारी कम्युनिस्ट पार्टीका लागि पनि त्यत्तिकै सत्य हो ।

उपरोक्त वैचारिक वुझाइका आधारमा हाम्रो पार्टीले पार्टी एकताको विषय अगाडि सारेको थियो । यस बीचमा पार्टी एकताकै एजेण्डा राखी महासचिव कमरेड किरण र नेकपाका महासचिव कमरेड विप्लवका बीचमा धेरै पटक संयुक्त बैठक सम्पन्न भएका छन् । ती सबै बैठकको निष्कर्ष पार्टी एकता गरेर अगाडि बढ्नु पर्छ भन्ने हुन्थ्यो । त्यो स्थितिमा हाम्रो पार्टीले नेकपासँग दुवै पार्टीका तर्फबाट एक–एकवटा उच्चस्तरीय केन्द्रीय वार्ता टोली निर्माण गर्ने, विषय केन्द्रित बहसको प्रक्रियाद्वारा सैद्धान्तिक मतभेदलाई टुङ्याउन कोसिस गर्ने र विचार तथा राजनीतिमा आधारभूत एकता पैदा भएको खण्डमा ढिला नगरी साङ्गठनिक एकताको प्रक्रियामा प्रवेश गर्ने भन्ने स्पष्ट प्रस्ताव राख्यो । त्यसलाई नेकपाले पनि अस्वीकार गरेन र दुई पार्टीका नेतृत्वका बीचमा पार्टी एकताको प्रक्रियालाई त्यसरी नै अगाडि बढाउने ठेगान समेत भयो । यो एउटा निकै सकारात्मक उपलब्धि थियो ।

यो सन्दर्भमा पार्टीले महासचिव कमरेड किरणको नेतृत्वमा तीन सदस्यीय केन्द्रीय वार्ता टोली निर्माण गर्यौं र त्यसरी नै नेकपालाई पनि केन्द्रीय वार्ता टोली निर्माण गरेर छिटै छलफल अगाडि बढाउने व्यवस्था मिलाउन प्रस्ताव राख्यो । तर, उनीहरुले त्यसलाई गंभीरताका साथ लिएनन् । हामीले बारम्बार ताकेता गर्यौं, तर उनीहरुले प्राविधिक अप्ठ्यारो भएको कारण देखाएर लामो समयसम्म विषयलाई पन्छाउने मात्र काम गरे ।

बरु उल्टो नेकपाका कतिपय जिम्मेवार कमरेडका मुखबाट हाम्रो हिजो एउटै पार्टी त थियो, नमिल्ने कुरा के पो छन् र दुईजना महासचिव बसेर टुङ्ग्याए त भै हाल्छ नि भन्ने जस्ता अत्यन्त बचकाना र असैद्धान्तिक भनाइहरु सुन्नमा आए । यहाँसम्म आइपुग्दा पार्टी एकतालाई केन्द्रमा राखेर नेकपा हाम्रो पार्टीसंग सैद्धान्तिक बहस गर्न तयार छैन भन्ने देखिन थाल्यो ।

यस बीचमा नेकपाको नजिक देखिने केही अनलाइन पत्रिकाहरुमा पार्टी एकताको विषयमा केन्द्रित भएर विभिन्न तहका नेताका लेखहरु प्रकाशित गरिएका छन् । प्रायः ती सबै लेखको सार के देखिन्छ भने नेकपाको नीति र नेतृत्वका बारेमा कुनै बहस हुन सक्दैन र एकता गर्न चाहनेले नीति र नेतृत्वलाई स्वीकार गरेर विनाशर्त पार्टीमा आउनु पर्दछ । स्पष्ट छ यो भनाइ र बुझाइले पार्टी एकतालाई सहयोग गर्दैन । यसका साथै, ती लेखमा उनीहरुले क्रान्तिकारी माओवादीको विचार, राजनीति र कार्यदिशामा केन्द्रित भई मैत्रीपूर्ण र रचनात्मक आलोचना गरेर वैचारिक एकताको आधार निर्माण गर्नुको साटो सो पार्टीका अमूक नेता दक्षिणपन्थी, अमूक नेता चुनावपरस्त, अमुक नेता सुधारवादी र अमूक नेता अकर्मण्यतावादी भनेर जुन व्यक्तिगत लान्छनाको तरीकाले कमरेडहरुको चरित्रहत्या गर्ने काम गरेका छन्, त्यसले पार्टी एकताबारे ती कमरेडहरुको धारणा रचनात्मक होइन, ध्वंशात्मक रहेको कुरा स्पष्ट देखिन्छ ।

यो एउटा पार्टीको नेताले अर्को मित्र पार्टीको नेताबारे सार्वजनिक ठाउँमा लेख्ने विषय होइन । कुनै लेख तथा रचनाका सन्दर्भमा सम्बन्धित नेताको दृष्टिकोणमाथि आलोचना हुने कुरा स्वाभाविक हुन्छ । तर कसैलाई विना सन्दर्भ जथाभावी लान्छना लगाउने कुरा एकताको पक्षमा हुँदैन र यो कम्युनिस्ट नैतिकता भित्र पनि पर्दैन ।

यसै सन्दर्भमा, कमरेड विप्लवद्वारा लिखित रचनाहरुको सङ्कलन “महापतन” नामक एउटा पुस्तक आजभन्दा केही महिना पहिला बजारमा आएको थियो । त्यसमा समावेश गरिएको ‘अन्तर्सङ्घर्ष र दुई–लाइन सङ्घर्षको प्रश्न’ शीर्षक अन्तर्गत ‘प्रचण्ड र किरणबीचको सङ्घर्ष’ उपशीर्षक रहेको एउटा लेख यतिबेला फरक–फरक शीर्षकमा नेकपाका निकटका प्राय सबै अनलाइन पत्रिकामा एकै चोटी प्रकाशन गरिएको छ । यो काकताली मात्र होइन, बरु यो पार्टी एकताको प्रसङ्ग चलेको बेला योजनावद्ध ढङ्गले कमरेड किरणको क्रान्तिकारी छबिलाई धमिल्याउने र उहाँबाट नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व हुनै सक्तैन भनी अविश्वास पैदा गराउने गलत मनसाय राखेर गरिएको योजनावद्ध काम हो भन्ने प्रस्ट देखिन्छ ।

उक्त लेखमा तात्कालीन नेकपा (माओवादी) भित्रको दुई–लाइन सङ्घर्षको सन्दर्भलाई कोट्याएर कमरेड किरणबारेको आफ्नो बुझाइलाई विप्लवले प्रचण्ड, बाबुराम, बादल वा अन्य कसैको हवाला दिएर बाहिर ल्याएका छन् । उनले लेखेका छन् “मान्छेहरु धेरैले किरणलाई प्रचण्डको गुरु भनेर बुझ्छन् ….. तर प्रचण्डले यो कुरा कतै पनि लिखित रुपमा उल्लेख गरेका छैनन्”, “किरण एक ‘दार्शनिक’ क्षमता भएका नेता त हुन् तर क्रान्तिको नेतृत्व हाँक्न सक्ने क्षमता उनीमा छैन भन्ने परेको र पारिएको थियो …… उनी (किरण–ले.) यसमा कुण्ठित हुन्थे”, “किरणले नेतृत्व दिन नसकेपछि प्रचण्ड सङ्घर्षसहित अगाडि आएका हुन्”, “‘किरणले भनेको मानेको भए जनयुद्ध सुरु नै हुने थिएन’ …… यो विषय बादल, बाबुराम र दिवाकरले पनि भन्ने गर्थे”, “पार्टीमा रुढीवाद र जडसूत्रवादबारे बहस गर्नुपर्ने र समस्यालाई हल गर्नु पर्ने भन्ने छलफल सुरु भैसकेको थियो”, “बादलले जनयुद्धको तयारीदेखि अहिले पनि जडसूत्रीय संशोधनवाद बाधक बनिरहेको त्यो ‘चाणक्य र चन्द्रगुप्त’को भूमिकामा बस्न खोजेको विश्लेषण गरे” आदि ।

यसरी कमरेड विप्लवले प्रचण्ड, बाबुराम, बादल जस्ता गद्दारहरुको बैशाखी टेकेर जसरी कमरेड किरणप्रति विष बमन गरेका छन् त्यसले विप्लव आफैको वैचारिक हैसियतलाई अझ उदाङ्गो पारेको छ । प्रचण्डहरुको सहयोगमा कमरेड किरणलाई बदनाम गरेर आफ्नो वैचारिक तथा राजनैतिक हैसियतको रक्षा गर्नुपर्ने कमरेड विप्लवले मालेमावादको कस्तो विकास गर्ने हुन् ? यो आउने दिनमा अझ प्रष्ट हुँदै जाला । उनले त्यसको अन्तिममा लेखेका छन्, “किरण विचारका दृष्टिले क्रान्तिकारी धारामा बसे पनि कार्यनीतिका दृष्टिले टाउको संसदवादी उपयोगवादको दुलो भित्र घुसारिरहेका छन् । उनले त्यसबाट टाउको निकाल्लान् वा अकर्मण्यताको भुमरीमा अल्झिएर पुच्छरमात्र क्रान्तितिर फर्काइरहलान् ? त्यो कुरा भावी आन्दोलनले प्रस्ट पार्ला ।” यहाँ कमरेड विप्लवले के भन्न खोजेका हुन् कुरा आफैमा स्पष्ट छ ।

उपरोक्त विश्लेषणका आधारमा के कुरा स्पष्ट हुन्छ भने कमरेड विप्लवले पार्टीको नेता एकदम ‘चतुर’ हुनुपर्दछ भन्ने विषयलाई अतिरन्जना गरेर विचारको भूमिकालाई पछाडि धकेल्ने काम गरेका छन् । यो सोच पार्टीको नेता भनेको सबै चमत्कारपूर्ण काम एक्लैले गर्नसक्ने हिन्दी सिनेमाको “हिरो” जस्तो हुनु पर्दछ भन्ने सामन्तवादी चिन्तनमा आधारित छ । कम्युनिस्ट पार्टी भनेको सबै क्षमताहरुको केन्द्रीकरण हो र त्यसको नेतृत्व सामुहिक पद्धतिमा चल्छ भन्ने मालेमावादी मान्यतामा उनलाई विश्वास छैन या उनले यसको अर्थ नै बुझेका छैनन् । यसै भएर “नेतृत्व क्षमताका हिसावले” कमरेड विप्लवले प्रचण्डलाई आदर्श गुरु मान्न पुगेका छन् । माथिको उद्धरणले यही कुरा पुष्टि गर्दछ ।

अर्को कुरा हाम्रो पार्टीले गत निर्वाचनमा संसदको क्रान्तिकारी उपयोग गरेको विषयलाई ठूलो सैद्धान्तिक विषय बनाएर कमरेड विप्लवले त्यसको आलोचना गरेका छन् । पहिलो कुरा संसदको उपयोग गर्नु संसदवाद होइन । अर्को कुरा, हाम्रो पार्टीले नेपाली क्रान्तिको कार्यदिशा, कार्यक्रम, रणनीति, कार्यनीति लगायतका यावत विषयमा गहिरो छलफल चलाई पार्टी एकताको वैचारिक आधारलाई मजबुत बनाऔं र विकसित कार्यदिशाका आधारमा पार्टी एकता गरौँ भनेकै छ ।

हामीले उनीहरुले जस्तो यो विषयमा बहस नै हुन सक्दैन भनेर कहिल्यै भनेका छैनौ । सत्य यस्तो स्पष्ट हुँदा हुँदै पनि कमरेड विप्लवले विचार तथा राजनीतिका सबै विषयमा टेबुल ठोकेर बहस गर्न र उनकै शब्दमा क्रान्तिकारी धारामा बसेका कमरेड किरणको पुच्छर होइन, टाउकोलाई क्रान्तितिर फर्काउने वैचारिक सङ्घर्षमा होमिन किन तयार भएनन् ? त्यसको ठीक उल्टो प्रचण्डले कमरेड किरणलाई खुइल्याएकोमा उनलाई यति धेरै आनन्द किन ? गंभीर भएर सोचौ, किरणलाई खुइल्याउँदैमा क्रान्ति भै हाल्दैन ।

हाम्रो पार्टीले गत राष्ट्रिय सम्मेलनदेखि कमरेड विप्लवले नेतृत्व गरेको नेकपासँग पार्टी एकताका लागि जुन प्रयास गरेको थियो तत्कालका लागि त्यो असफल भएको छ । उहाँहरु पार्टी एकताको विषयलाई लिएर सैद्धान्तिक छलफलमै बस्न तयार हुनु भएन । यसरी विप्लवले नेतृत्व गरेको नेकपासँग अहिलेलाई एकताको संभावना टरेको छ । तर यो सामान्य कुरा हो । क्रान्तिका दौरानमा यस्ता स्थितिहरु बारम्बार आइराख्छन्, क्रान्तिकारीले यसलाई त्यति ठूलो विषय बनाइराख्नु हुँदैन । फेरि एकपटक यो प्रयास असफल हुँदैमा यो विषय यहीँ टुङ्गिने पनि होइन ।

विचार तथा राजनीति सही भए सङ्घर्ष र सङ्गठनको विकास हुन्छ र क्रान्ति अगाडि बढ्छ । हाम्रै इतिहासमा समेत यसको शानदार ढङ्गले पुष्टि भएको छ । सुरुमा गुलेली समेत् पनि साथमा नभएको तात्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को विचार तथा राजनीतिक कार्यदिशा सही भएको र त्यो कार्यदिशालाई इमान्दारीपूर्वक कार्यान्वयनमा लगेकै कारण त्यतिबेला पार्टी विश्व साम्राज्यवादको नाइके अमेरिका र भारतीय विस्तारवादलाई राजनीतिक चुनौती दिने हैसियतमा पुगेको थियो ।

विचारबाट चिप्लिँदा पछि के भयो सबैलाई थाह छ । मालेमावादलाई दरोसँग पक्रौं र कार्यदिशा कार्यान्वयन गर्न वर्गसङ्घर्षमा अगाडि बढौँ सच्चा क्रान्तिकारीहरु क्रान्तिको पक्षमा ध्रुवीकरण हुने प्रक्रिया अगाडि बढ्छ, त्यसलाई कसैले रोक्न सक्दैन । क्रान्तिको विकास सही विचारले समृद्ध पार्टीको नेतृत्वमा जनताले गर्ने हो, सिद्धान्तहीन भीडले होइन ।