काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कलोमासो दलेको अभियोगमा गिरफ्तार गरिएका सुरेश तामाङलाई आइतबार सशरीर सर्वोच्चमा उपस्थित गराएको थियो । त्यसपछि भएको बहसमा १७ जना वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरुले बहस गरेका थिए । बहसपश्चात् तामाङको मुद्दा जिल्लाले हेर्ने गरी फैसला गरिएको छ ।
हालसम्म एकाघरका परिवरलाईसमेत् जानकारी नगराइएका र भेटघाटसमेत गर्न नदिइएका क्रान्तिकारी युवा लिगका सचिवालय सदस्य सुरेश तामाङलाई आइतवार सशरीर सर्वोच्च अदालतमा उपस्थित गराउन विहीवार नै सर्वोच्चद्वारा महानगरीय प्रहरी परिसर टेकुलाई आदेश जारी गरिएको थियो ।
सुरेश तामाङको जीवन संगिनी निर्मला तामाङद्वारा बुधवार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेपछि विहीवार ११.० बजे सर्वोच्चमा १३ जना वकिलहरुद्वारा संयुक्त रुपमा बहसपछि निज तामाङलाई सशरीर सर्वोच्चमा उपस्थित गराउन अदालतको आदेश आएको थियो ।
तामाङको बन्दीप्रत्यक्षीकरण रिटका पक्षमा शुक्रवार लगातार १३ जना वरिष्ठ अधिवक्ता तथा अधिवक्तहरुले लगातार बहस गरेपछि सर्वोच्च आदालतमा आश्चर्यजनक कौतुहलता छाएको थियो । वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता एकराज भण्डारी, वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ता देवकुमार मोक्तान, अधिवक्ता फणिन्द्र कार्की, अधिवक्ता पेमा लामा, अधिवक्ता भेषराज पाण्डे, अधिवक्ता चन्द्रप्रसाद पोखरेल, अधिवक्ता रामबहादुर खड्का, अधिवक्ता रामकुमार माझी, अधिवक्ता भीमबहादुर गुरुङ, अधिवक्ता डिल्लीप्रसाद न्यौपाने र अधिवक्ता मनोहर लामिछानेले बहस गर्दा सर्वोच्चको बहस हेर्न र सुन्न लायकको बनेको थियो ।
बन्दी प्रत्यक्षीकरणको उक्त रिटमा सुरेश तामाङलाई आइतवार उनकै घरमा बिहान ११ बजे खानाखाई बाहिर निस्किएको बेलामा सीआईबी प्रहरीको एक हुलले लछारपछार गरी गालीगलौज गर्दै अपमानित ढंगले प्रहरी भ्यानमा राखी लगिएको थियो ।