काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले ओली सरकारको विकल्प सत्ताधारी दलका अरु कुनै नभएर अब सिंगो राज्यसत्ताकै विकल्पको खोजी भइरहेको बताएका छन् । सोमबार राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा ‘अग्रामी विकल्पको तयारी गरौं’ भन्ने शीर्षकमा एक कार्यपत्र प्रस्तुत गर्दै गजुरेलले उक्त कुरा बताएका हुन् । देशमा दुईतिहाई बहुमत प्राप्त ओली सरकार एकवर्ष पनि नपुग्दै निकै बदनाम भएको र यसको विकल्प देश र जनताले खोजिरहेको वर्तमान सन्दर्भमा गजुरेलले राज्यसत्ता नै परिवर्तनको कुरा उठाएका हुन् ।
उनले ओली सरकारका धेरै कमी र कमजोरीहरु त छन्, तर त्यो उनको व्यक्तिगत कमी कमजोरी भन्दा पनि बढी त संसदीय राज्यसत्ताकै कमीकमजोरी भएकोमा उनले जोड दिएका छन् । ओलीका ठाउँमा माधव नेपाल वा अरु कुनै व्यक्तिलाई लिएर राखेमा कमीकमजोरी २० को १९ त होला, तर अहिले देखिएका समस्याहरु व्यवस्थाद्वारा सिर्जित भएकाले यो सिंगो व्यवस्था नै परिवर्तन गर्न विकल्पको तयारी गर्नुपर्ने कुरामा लाग्नु पर्ने बताए ।
उनका अनुसार वर्तमान ओलीको सरकार दलाल सरकार हो, यसले दलाल तथा नोकरशाही पुँजीवादी तथा साम्राज्यवादीहरुको सेवा गर्दछ, देश र जनताको होइन । त्यसैगरी वर्तमान शासन व्यवस्था दलाल संसदीय व्यवस्था हो । त्यसैले सरकारका साथै सिंगो शासन व्यवस्थाको विकल्प खोजिनु जरुरी भएको कुरामा गजुरेलको जोड थियो । यसको विकल्प संघर्षबाट खोजिनु जरुरी छ, त्यो भनेको जनआन्दोलनद्वारा खोजिनुपर्ने विकल्प हो । नयाँ व्यवस्था वा जनवादी गणतन्त्र स्थापनाको विकल्प हो ।
हाल नेपालमा राष्ट्रियता, जनतन्त्र र जनजीविका समस्याहरु विकराल बन्दै गएको प्रसंग कोट्याउँदै गजुरेलले देशको सिमाना बहुमतको ओली सरकारले यसरी बेचेर खाने हो अबका ५ वर्ष कुर्दा यो देश कहाँ खोज्न जाने भन्दै ओली सरकारसहित सिंगो राज्यको विकल्पको खोजीमा अब बिनाढिलाइ सडकमा उत्रनुपर्ने बेला आइसकेको कुरामा उनले जोड दिएका थिए ।
अन्तरक्रियामा सीमाविद तथा नापी विभागका पूर्व महानिर्देशक बद्धिनारायण श्रेष्ठले देश, देशभक्ति, राष्ट्रियता र राष्ट्रको भावना तथा मनोविज्ञानको व्याख्या गर्दै यसको बचाउका लागि नेपालीहरु समयमा नै उठिबस्नुपर्ने कुरामा जोड दिए । उनका अनुसार देशघाती, जनघाती तथा जनतामाराका विरुद्धमा सबै उठिबस्नुपर्छ र जनता विरोधीहरुको दाहोलो काढ्नुपर्छ । राष्ट्र भनेपछि भूगोल हुन्छ, निश्चित जनसंख्या हुन्छ, सीमा हुन्छ, सार्वभामिकता हुन्छ, स्वतन्त्र सरकार हुन्छ भन्दै श्रेष्ठले नेपालमा अहिले सार्वभौमिकता खोज्नु पर्ने, स्वतन्त्र सरकार नदेखिने र सीमाको रक्षा नहुने भएको बताए ।
श्रेष्ठले नेपालको मिचिएका सिमाहरु र हडपिएका अतिक्रमित भूभागहरु विदेशी लाइब्रेरीमा रहेका नक्शामा अझैं पनि सुरक्षित रहेकाले तिनको खोजी गरी सप्रमाण लड्नुपर्ने र किम्बदन्ती जस्तो कुरा गरेर नहुने बताए । लिम्पियाधुरादेखि पश्चिमबाट सीमानाहुँदै पूर्वको पशुपति नगरसम्म पुग्दा नेपालको सीमाना पूरै मिचेर भारतले उसको सीमाभित्र देखाएकाले यसको फिर्ताका लागि सबै एकजुट भएर लड्नुपर्ने बताए । उनले भने यी सबै कुराका लागि देशमा जनताले पनि परिवर्तन खोजेका छन् ।
अन्तरक्रिया कार्यक्रममा प्रो.डा. सुरेन्द्र केसीले देशमा ठूलाठूला युद्ध र आन्दोलनहरु भएपनि जनताका लागि वास्तविक परिवर्तन ल्याउन राजनीतिक दलहरु र यसका नेताहरु चुकेको बताउँदै एक्काइसौं शताब्दीमा क्रान्तिको नयाँ मोडल खोज्नुपर्ने र नोललाई मुक्त गराएर छाड्नु पर्ने कुरामा जोड दिएका थिए ।
उनले वर्तमान ओलीको सरकार सबैभन्दा नाकाम सरकार भएको औंल्याउँदै यसले देश र जनताका लागि भलो हुने कुनै पनि काम गर्न नसक्ने ठोकुवा गरेका थिए कम्युनिष्ट सिध्याउने खेलमा लागेको क्रिश्चियन को होली वाइन शेचन गरेर सोल्टी होटलमा प्रधानमन्त्रीको कार्यालय नै सार्ने र रासोबासो त्यही गराउने ओली न त कम्युनिष्ट रेको न त देशभक्त रहन सकेको बताएका थिए । जनयुद्ध लडेर पनि त्यसको उपलब्धिको संरक्षण गर्न नसकेको भन्दै कम्युनिष्ट नेताहरु र पार्टीहरुले देश र जनताका लागि खेलवाड गर्न नहुने कुरामा जोड लिएका थिए ।
अन्तरक्रिया कार्यक्रमका सञ्चालक तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सचिव परि थापाले अबको आन्दोलनका लागि विचार र संस्कृतिमा आफूहरुलाई धेरै माथि उठाउनुपर्ने र प्रशिक्षित गर्नुपर्ने कुरामा जोड दिएका थिए । यसका साथै, कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिंदै सुझाव र टिप्पणी गरेर सहयोग पुर्याएका अतिथिहरुप्रति आभारसमेत् व्यक्त गरेका थिए ।