चारकर्ताका रुपमा कम्युनिष्ट कार्यकर्ता

चारकर्ताका रुपमा कम्युनिष्ट कार्यकर्ता

क्रान्तिकारी कम्युनिष्ट पार्टीका हामी कार्यकर्ताहरु चारकर्ताका रुपमा तयार हुनु आवश्यक छ । क्रान्ति गर्नका लागि क्रान्तिकारी विचार, क्रान्तिकारी संगठन, क्रान्तिकारी संघर्ष र क्रान्तिकारी व्यवस्थापन (आर्थिक उत्पादनसहित) आवश्यक छ । त्यसैले, क्रान्ति गर्नका लागि लाल र निपूर्ण हुनुका साथै राजनीतिक कार्यकर्ता, संगठनकर्ता, संघर्षकर्ता उत्पादनकर्ता हुन आश्यक छ ।

सर्वप्रथम, राजनीतिक कार्यकर्ता हुनका लागि मार्क्सवाद–लेनिनवाद–माओवादबारे जानकारी हुन आवश्यक । मार्क्सवाद–लेनिनवाद–माओवादको जग मार्क्सवाद हो । मार्क्सवादका तीन संघटक अंगहरु क) दर्शन, ख) राजनीतिक अर्थशास्त्र र ग) वैज्ञानिक समाजवाद हुन् । जर्मनीका कार्लमार्क्स, (१८१८–१८८३) र फ्रेडरिख एंगेल्स (१८२०–१८९५) ले जर्मनीका हेगेल (१७७०–१८३१) को द्वन्द्वात्मक आदर्शवादबाट द्वन्द्ववाद र लुडविग फायरबाख (१८०४–१८७२) को भैतिकवादबाट भौतिकवादी विचार लिएर द्वन्द्वात्मक भौतिकवादी दर्शनको प्रतिपादन गर्नुभयो । मार्क्स–एंगेल्सद्वारा इतिहासलाई वस्तुवादी तरीकाले विश्लेषण गरिएको विषयवस्तुलाई ऐतिहासिक भौतिकवाद भनिन्छ । वर्तमान वर्गीय समाजमा दर्शन पनि वर्गीय हुन्छ । आदर्शवादी र द्वन्द्वात्मक भौतिकवादी दर्शनले परस्परविरोधी वर्गहरुको हित र स्वार्थलाई प्रतिनिधित्व गर्दछन् ।

आदर्शवादी दर्शनले चेतना प्रधान र पदार्थ गौण मान्दछ । जगत र जीवन ईश्वरले बनाएको मान्दछ । यसले शोषक वर्गको पक्षपोषण गर्दछ । हालको अवस्थामा यो पुुँजीपतिवर्गको पक्षमा रहेको छ । यसले भौतिक विश्वलाई समेत् अवोधगम्य र रहस्यमय मान्ने गरेको छ ।
तर द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादले विश्वजगतलाई पदार्थ प्रधान, बोधगम्य र बुझ्न सकिने बताएको छ । यसले पदार्थ प्रमुख र चेतना सहायक मान्दछ । अर्थात् मानिसमा चेतनाको विकास समाज र वस्तुगत जगतले निर्माण गर्दछ भन्ने कुरालाई स्वीकार गर्दछ । यही विचारले सर्वहारा वर्गको मार्गनिर्देशन गर्दछ ।

द्वन्द्वात्मक भौतिकवादले जीवन र जगतलाई संघर्षबाट निर्मित भएको मान्दछ । द्वन्द्ववादको अर्थ हरेक वस्तुमा दुई परस्पर विरोधी तत्वहरु हुन्छन् । त्यहाँ संघर्ष चलिरहन्छ । त्यही अन्तरविरोधमा त्यस वस्तुभित्र गति पैदा हन्छ । द्वन्द्वात्मक भौतिकवादी मान्यताअनुसार वस्तुभित्र दुई विपरीतहरुको बीचमा संघर्ष हुँदा रुपान्तरण आउँछ । हाम्रो जीवन व्यवहारमा पनि दिनपछि रात वा रातपछि दिन, फुटपछि एकता वा एकतापछि फुट, राम्रोको नराम्रो वा नराम्रोको राम्रो आदि आइनै रहन्छन् । जन्म र मृत्यु पनि यही द्वन्द्वात्मकतामा चलेका हुन्छन् ।

विपरीतहरुको संघर्षबाट हुने रुपान्तरणमा मुख्यतः तीन नियमहरुले काम गरेका हुन्छन् । पहिलो हो, विपरीतहरुको एकता, संघर्ष र रुपान्तरण । दोस्रो हो, गुणको मात्रा र मात्राको गुणमा रुपान्तरण । तेस्रो हो, निषेधको निषेध वा माओको शब्दमा नकारको सकार । यी तीन नियमहरुमा मार्क्स, लेनिन र स्टालिनसम्म आउँदा पछिल्लो वा तेस्रो नियममा नकारको नकारको मानेको देखिन्छ भने माओले यसलाई थप व्याख्या गरेको पाइन्छ । त्यो हो यो नियमको नकारको नकार भन्दा पनि नकारको सरकारको रुपमा व्याख्या ।

समाज विकासको व्याख्या पनि पुँजीवादीहरुले र साम्यवादीहरुले भिन्न रुपमा गररेको पाइन्छ । पुँजीवादीहरुले जंगली युग, बर्बर युग र आधुनिक युगका रुपमा व्याख्या गरेको पाइन्छ । मार्क्सवादी समाजशास्त्रीहरुले आदिम युग, दासयुग, सामन्ती युग, पुँजीवादी युग, समाजवादी युग र साम्यवादी युगको व्याख्या गरेको पाइन्छ । हालसम्म पुँजीवादी युग र यसको साम्राज्यवादी युगमा विकास भएको छ भने समाजवादी युगका लागि लेनिनको नेतृत्वमा समाजवाद ल्याएर पनि टिकाउन नसकेको र साम्यवादी युग आउन बाँकी रहेको छ । हाल समाजवादी युग स्थापनाका लागि समाजवादी क्रान्ति गरेर ल्याउने कार्यभार पनि सर्वहारा वर्गको काँधमाथि बाँकी नै रहेको छ ।

मानव जीवनको क्रियाकलापको अध्ययन मार्क्सवादको राजनीतिक अर्थशास्त्रमा पर्दछ । उत्पादन प्रणाली, उत्पादक शक्ति र उत्पादन सम्बन्ध, उत्पादनका साधनहरु यसको अध्ययनभित्र पर्दछन् । यसमा मार्क्सले अध्ययन गरेको अतिरिक्त मूल्यको सिद्धान्त पर्दछ । दास क्यापिटल अहिलेसम्मको मार्क्सवादी राजनीतिक अर्थशास्त्रको मुख्य स्रोत हो ।

वैज्ञानिक समाजवादले मार्क्सवादले परिल्पना गरेको सत्तासम्बन्धी खोज र अध्ययन गराउँछ । राज्यसत्ताको उपरीसंरचना नै यसको अध्ययन क्षेत्र हो । समाज रुपान्तरणका लागि कला, संस्कृति, विकास, कलकारखाना, भौतिक संरचना, मानवको कलात्मक तथा राजनीतिक गतिविधि आदि यसमा पर्दछन् । यसले सत्तास्वरुप र यसको परिवर्तनलाई समेट्छ ।

मार्क्सवादको विकासको क्रममा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको तीनवटै क्षेत्रमा विकास गर्दै लेनिनले मार्क्सवादलाई मार्क्सवाद–लेनिनवादमा विकास गर्नुभयो । लडाकु कम्युनिस्ट पार्टी, जनवादी केन्द्रीयताको सांगठनिक सिद्धान्त, ठोस परिस्थितिको ठोस विश्लेषण, एकदेशीय समाजवादी क्रान्ति, संघर्षमा आम सशस्त्र विद्रोहको मोडल वा फौजी कार्यदिशा निर्माण उहाँका थप योगदान हुन् । अक्टोबर क्रान्तिको सम्पन्नता र समाजवाद निर्माण विश्व सर्वहारा वर्गको नेतृत्व र प्रेरणा बनेका छन् ।

लेनिनको यो विकासलाई मार्क्र्सवादी विचारको दोस्रो मञ्जिल तथा सार्वभौम विकासका रुपमा स्वीकार गरिएको छ । त्यसपछि माओले चीनका सन्दर्भमा त्यहाँका विशिष्टताहरुलाई पहिचान गरी क्रान्ति सम्पन्न गर्दा मार्क्र्सवाद–लेनिनवादका तीन संघटक अंगहरुका साथै संघर्षको मोडल, फौजी कार्यदिशा तथा अन्तरविरोधको थप अध्ययन गरी मार्क्सवाद–लेनिनवाद–माओवादका रुपमा विकास गर्नु भयो । यसमा पुँजीवादी क्रान्ति सम्पन्न नभएका अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेका देशहरुमा समाजवादमा जानका लागि त्यसपूर्व नयाँ जनवादी क्रान्ति गरिनुपर्ने कुरा माओले विकास गरेको मुख्य योगदान हो ।

यो क्रान्ति जनयुद्धको फौजी कार्यदिशामार्फत् अघि बढ्दछ । नवसंशोधनवादी ख्रुश्चेवी धारसँगको विचार संघर्ष र महान बहस, मालेमाको रक्षा, एकको दुईमा विभाजन, निरन्तर क्रान्तिको सिद्धान्त, हरेक कुराको वैज्ञानिक जाँच पडताल, वर्गसंघर्ष, उत्पादनका निम्ति संघर्ष र त्यसको वैज्ञानिक प्रयोग र सर्वहारा सांस्कृतिक क्रान्ति माओका थप सार्वभौम योगदानहरु हुन् । माओले व्यवहार र ज्ञानलाई जोड्नु भयो । विचारबाट व्यवहार र व्यवहारबाट फेरि नयाँ विचारमा जाने छलाङको रुपमा ज्ञानसिद्धान्तलाई विकसित र परिभाषित गर्नुभयो ।

माओले राजनीतिक कार्यकर्ताहरुलाई मालेमावादको आलोकमा प्रशिक्षित गर्ने, परिचालन गर्ने, व्यवहारमा पठाउने, ठोस कामको जिम्मेवारी दिने, कामका आधारमा उनीहरुको मूल्यांकन गर्ने र पार्टी कमिटीलाई जनवादी केन्द्रीयताका आधारमा सञ्चालन गर्ने कुराहरुमा जोड दिनुभयो । विचारलाई व्यवहारसँग जोडेर सिंगो पार्टीपंक्ति सञ्चालन गर्ने कुरामा जोड दिनुभयो । उहाँले निर्मित सबै कमिटीहरु कामकाजी हुनुपर्ने कुरामा जोड दिनु भएको थियो । क्षमताअनुसार कामको जिम्मामा घटी वा बढी गर्ने कुरामा उहाँको निरन्तर ध्यान पुगिरहेका हुन्थ्यो ।

संघर्षकर्ताका रुपमा कार्यकर्ताहरुलाई परिचालन गर्दा प्रशिक्षण, व्यवहारिक अभ्यास, कामको बारेमा जानकारी, आलोपालो काम, क्षमता र भावनाको कदर आदिलाई ध्यान दिन माओले सिकाइरहनुभएको थियो । कार्यकर्ताहरुलाई संघर्षका वैधानिक, अवैधानिक, राजनीतिक, सांगठनिक तथा सामरिक कामहरुका विशेषताहरु माथि ख्याल पुर्याउनु पर्ने कुरामा जोड दिने गर्नुहुन्थ्यो । नेपालका सन्दर्भमा पनि यो कुरालाई राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका कुराहरुमा संघर्षका रुपमा उठान गरिंदा ख्याल गरिनु पर्दछ ।

प्रचारकर्ताका रुपमा कार्यकर्ताहरुले एक काम हजार प्रचारको नीतिलाई ध्यान दिनु पर्छ । संगठन, संघर्ष, आर्थिक, सामाजिक, सांस्कृतिक तथा सामरिक कामहरु सम्पन्न गर्नका लागि क्याडरहरु उत्पादनकर्ता बन्नु पनि जरुरी छ । यसै अर्थमा कार्यकर्ताहरु चारकर्ता बन्नुपर्छ भनिएको हो । सबै कामहरु सञ्चालनका लागि आर्थिक जरुरी हुन्छ । त्यसैले कार्यकर्तालाई उत्पादनकर्ता बनाउनका लागि निम्न कुराहरुमा ध्यान दिनु जरुरी हुन्छ :

क) पार्टी, जनवर्गीय संगठन, मोर्चा तथा मातहतका सबै संगठनहरुमा आवद्ध कार्यकर्ताहरुबाट अनुशासन स्वरुप लिने लेवी सहयोग नियमित बनाउनु पर्छ ।

ख) श्रमशिविरहरु सामुहिक रुपमा सञ्चालन गर्नुपर्छ । यसका साथै एकल श्रमका लागि पनि प्रेरित गरिरहनु पर्छ ।

ग) समर्थक तथा शुभचिन्तकहरुबाट पाउने सहयोगलाई नियमित बनाउनु पर्छ । जनताबाट मौसमी सहयोग पनि लिनु पर्छ ।

घ) लिइएका यी सबै कुराहरु पारदर्शी हुनु पर्छ र पार्टीको जानकारीमा हुनुका साथै आवधिक अडिट पनि गरिनुपर्छ ।