राष्ट्रिय क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको तलब अन्तत पाउने भए

राष्ट्रिय क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको तलब अन्तत पाउने भए

काठमाडौं । राष्ट्रिय क्रिकेट खेलाडीले विगत दुई वर्षदेखि रोकिएको तलब पाउने भएका छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा खेलाडीले उक्त पारिश्रमिक बराबरको रकम पाउन लागेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) भित्र साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर भएको उग्र विवादले गर्दा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेपछि खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो । सदस्य सचिव केशवकुमार विष्टले परिषद्को पहलमा आइसिसीले राखेपमार्फत दुई वर्ष (सन् २०१७ र २०१८)को खेलाडीले वर्गीकरण अनुसार पाउने तलब उपलब्ध गराउने सहमति भएको बताए ।

उनले भने, ‘हामीले आइसिसीसँग गरेको पहल सकरात्मक रह्यो, उसले पैसा दिने सहमति जनाएको छ, अहिले हामीले खेलाडीसँग पनि सम्झौता गरेर आइसिसीमा पठाएका छौँ, वर्गीकरणभित्र परेका खेलाडीले केही साताभित्र तलब बापतको पैसा पाउनेछन् ।’

विसं २०७३ वैशाखमा क्यान निलम्बन भएपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावक बिनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् । साथै नेपाली क्रिकेटको सबै व्यवस्थापकीय पक्ष आइसिसीले नै हेर्दै आएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमन सिवाकोटीका अनुसार आईसिसीले राष्ट्रिय खेलकूद परिषद्को सहकार्यमा तलब दिन लागेको हो । यसका लागि आइसिसीले तलब दिने खेलाडीलाई ए, बी र सी गरी तीन तहमा वर्गीकरणसमेत गरेको छ । ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ३५ हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु २५ हजार र सी श्रेणीका खेलाडीले मासिक रु १५ हजारका दरले पछिल्लो दुई वर्षको तलब पाउनेछन् ।

त्यसमध्ये ‘ए’ श्रेणीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, र दीपेन्द्रसिंह ऐरी रहेका छन् । श्रेणी ‘बी’ मा रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार शाह र शक्ति गौचन रहेका छन् । श्रेणी ‘सी’ मा सुशन भारी, किशोर महतो, सुवास खकुरेल, सागर पुन, दिलीपनाथ, सुनील धमला र विनोद भण्डारी रहेका छन् ।

‘ए’ श्रेणीका खेलाडीले पछिल्लो दुई वर्षको एकमुष्ट रु आठ लाख ४० हजार, ‘बी’ श्रेणीका खेलाडीले रु छ लाख र ‘सी’ श्रेणीका खेलाडीले रु तीन लाख ६० हजार प्राप्त गर्नेछन् ।

आइसिसीको निलम्बनमा पर्नु अघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ तीन श्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन शुरु गरेको थियो । तर, क्यानले भने निलम्बनमा परेसँगै खेलाडीको तलबसमेत रोकेको थियो ।