जगत बा, हाम्रो पुस्ताका कम्युनिष्ट कार्यकर्तालाई इतिहासको एक भण्डार । उहाँका समकालिनका लागि जगत माडसाव ! हाम्रो पुस्ताका लागी आदरणीय जगत बा अर्थात् जगत बहादुर श्रेष्ठ । कम्युनिष्ट आन्दोलनको संघर्षका एक संवाहक र साक्षी । जगत बा जीवनको उत्तरार्धमा पनि राष्टिययता र जनतन्त्रका पक्षमा उत्तिकै सचेत नागरिक । शरिर जीर्ण भए पनि सशक्त कविता र निवन्धका सर्जक ।
जगत बालाई मैले २०६३ को भदौमा पहिलो पटक भेटेको हो । म प्रवासवाट स्थानान्तरण भएर चितवन जिल्ला आउँदा यहाँ गणतान्त्रिक अभियान चलिरहेको थियो । माडीको बरुवाबाट सुरु भएको उक्त अभियानमा एकराज थापा शुकदेव (रौतहट) र म चनौलीबाट जोडियौं । तत्कालिन जिल्ला इन्चार्ज क. सूर्य सुवेदी ‘पथिक’को सल्लाहअनुसार नगर क्षेत्रभित्र प्रवेश पश्चात् अभियानमा रहेको जनमुक्ति सेना नेपाल, वासु स्मृति ब्रिगेडको एउटा कम्पनी कमिसारको भूमिकासहित म अभियानमा सहभागी भए । नारायणगढ बजारबाट मंगलपुर, विजयनगर तर्फ जाने क्रममा अभियान यात्रीहरुलाई स्थानिय पार्टीको तर्फबाट बिदाइ कार्यक्रम राखिएको रहेछ ।
औपचारिक कार्यक्रम पश्चात् सबैलाई एक एकवटा तौलिया दिएर एक बूढो कमरेडले विदाइ गरि रहनु भएको थियो । सानो ख्याउटे शरीर, निधारमा टुटुल्को उठेको, फुल्न लागेको कपाल भएका ती बूढा मैले पहिलो पटक भेटेको भए पनि पुरानै चिनजान जस्तो भयो । समय क्रममा मैले उहाासंग संगतगर्ने अवसर र उहाँको बारे जानकारी दुवै पाए । उहाँ चितवनका माओवादीहरुका एकजना अभिभावकनै हुनुहुँदो रहेछ । ती ख्याउटे बूढालाई सबैले सम्मानका साथ ‘जगत बा’ नामले सम्बोधन गर्ने गर्दारहेछन् । त्यतिखेर नयाँ भेट न लागे जस्तै जगत बासँग यति धेरै उठबस उहाँको परिवार संगै घुलमिल हुँदा पनि जतिबेला भेटे पनि हरेक भेट नयाँ झैं लाग्छ, केही न केही नयाँ ज्ञानका साथ ।
व्यक्तिको मृत्यु पश्चात् श्राद्ध गर्ने प्रवृत्ति विपरीत कम्युनिष्टहरुले आफ्ना पूर्खाहरुको जिवित छँदै गुण र दोषका आधारमा आलोचना, सद्भाव र सम्मान व्यक्त गर्न सक्नु पर्छ । जगत बाको अभिनन्दन ग्रन्थ निकाल्ने कुरो चलिरहेको थियो । एक किसिमले समिति बनेर छलफल चल्दै गर्दा उहाँको नागरिक अभिनन्दनको निधोमा पुगियो । म आफै पनि त्यसको सचिवालय सदस्यमा चयन भए र म आफैले यो लेखनको शीर्षक छाने । मान्छे जीवित छँदा उसको मूल्याङ्कन र व्यक्तित्व माथि बोलिहाल्नु धेरै जोखिमयुक्त कुरा हो जस्तो मलाई लाग्छ । इतिहासका ‘गद्धार पुष्पलाल’देखि ‘प्रचण्ड–पथ’ सम्मका सन्दर्भ आलै छन् ।
जगत बाका व्यक्तित्वका थुप्रै आयाम छन् । उहाँले चितवनमा लामो समयसम्म शिक्षण पेशा अंगालेर बस्नु भयो । नारायणगढको बालकुमारी स्कूलमा उहाँले अध्यापन गर्नुुभयो । पत्रकारिता पनि उहाँको एक चिनारी हो । सामन्त धर्मे साहुको गोदाम कब्जा गर्ने जुगेडी संघर्षको रिपोर्ट उहाँले नै तयार पारेर मातृभूमिमा प्रकाशन गराउनु भएको थियो । त्यस बखत उहाँ त्यस पत्रिकाको सम्वादाताको रुपमा पनि काम गर्नुहुन्थ्यो । रिपोर्ट छापिएपछि बूढाले पनि दुःख पाए । पञ्चायत कालमा जगतबाको मः मः पसल चल्तीमा थियो । तात्कालीन पार्टी नेताहरुले जगतबाको पसललाई भूमिगत भेटघाटको थलो (सेल्टर) बनाएका थिए । प्रचण्ड, किरण, बादल, सीपी गजुरेल लगायतका सबै माओवादी नेताहरु सांगठनिक कामपछि जगतबा मःमः पसलमा भेट भएर मःमः खाने गरेको स्मरण गर्नुहुन्छ, जगत बा !
सबै मान्छेका जीवन अरुका निम्ति उत्तिकै शिक्षाप्रद नहुन पनि सक्छन् । जगत बाको जीवनका केहि आयामहरु छन्, जसले मलाई प्रभावित बनायो र एउटा साधारण ख्याउटे बूढा मलाई असाधारण लाग्न थाल्यो ।
जीवनशैली :
मलाई जगतबाको सामान्य जीवनशैलीले हमेशा प्रभावित पारिरहन्छ । सामान्य लवाइखवाइ, श्रमप्रतिको लगाव, अध्ययन र नित्य श्रृजना उहाँका जीवनका आधार हुन् । जहिल्यै उहाँको घर जाँदा कि त करेसाबारीमा काम गरिरहेको अवस्थामा, नभए पढ्दै लेख्दै गरेको भेट्छु’ त कहिले आफ्ना लुगाफाटा आफै धोएको अवस्थामा पनि देख्छु’ अनि सोच्छु’ यत्तिको बूढो मान्छे यसरी सक्रिय रहँदा किन म र मेरो पुस्ता निष्क्रियतामा रमाउँछ हँ मैले चिनेदेखि आजसम्म जगत बालाई धेरै फेरिएको देखेको छैन । यमुना न्यौपाने दाइले एउटा प्रसंगमा भन्नु भएको थियो “मैले भेटेदेखि जगत दाइ जस्ताको त्यस्तै र जत्राको त्यत्रै हुनुहुन्छ” यो मेरो पनि भोगाई हो ।
स्वभाविक रुपले जगत बाले परिवारिक हिसावले पनि आफ्ना मातापिता प्रतिको कर्तव्य, आफ्ना सन्तान प्रतिको भूमिका र जीवनसाथी प्रतिको समभाव र सहकार्यलाई पनि कहिल्यै बिर्सनु भएन । एउटा आदर्श छोरा, कुशल अभिभावक र सफल जीवनसाथीको रुपमा आफूलाई हमेसा उभ्याइरहनु भयो । श्रीमती अल्जाइमर रोगले ग्रस्त भएर बसेको अवस्थामा २०४अै घण्टा उहाँको जीवन पर्यन्त छायाँ बनेर पुरुषप्रधान समाजमा पनि एक असल पतिको रुपमा उहाँले आफूलाई उभ्याउनु भयो ।
देशभक्ति र कविता :
जगतबाको निम्ति सबैभन्दा बढी सम्वेदनशील विषय भनेको राष्ट्रियता हो । उहाँ राष्ट्रियताप्रति बढि संवेदनशील हुनुहुन्छ । राष्ट्रियताका सम्बन्धमा लेखिएका उहाँका कविता र निवन्धहरु मेरो धर्ती नामक कविता संग्रह र जगत बहादुर श्रेष्ठका निवन्धहरु गरी दुईवटा पुस्तक र थुप्रै फूटकर रचनाहरु प्रकाशित छन् । भारतीय विस्तारवादको चपेटामा परेका नेताहरुप्रति उहाँ कवितामै भन्नुहुन्छ–
रअ आयो टिपी लग्यो टर्दैन त्यो टारेर
रअ को खेल एउटा नियती नै हेरियो
स्वास्नी च्याखे थापी खेल्ने जुवाडेको जस्तो
स्वाभिमान नै बेची खाने नेता यहाँ कस्तो
उठ जनता देश जान आँट्यो’
(मेरो धर्ती— पृष्ठ ०९)
खवरदारी गदै उहाँ अझ भन्नु हुन्छ,
‘तेस्रो विकल्प हो
मेरो अस्थिपञ्जर
अङ्गप्रत्यङ्का अनगिन्ति हाडखोरहरु
मेरो अन्त्य पछि
मेचीदेखी महाकालीसम्म
शिला बनेर
शत्रुको बलमे नदेख्ने पहरो बन्ने छ’
जव दक्षिणी किनार
बफादार किल्ला बन्ने छ’
मेरो पनि भूमि
स्वतन्त्र स्वाबलम्वी बनिरहने छ’
मरो पीडाको पनि अन्त्य हुनेछ ।’
(मेरो धर्ती, पृष्ठ– ७८)
राजनीतिक आदर्श र निष्ठा :
जगतबहादुर श्रेष्ठका व्यक्तित्वका धेरै आयामहरु हुँदाहुँदै पनि राजनैतिक व्यक्तित्व नै उहाँको मुख्य परिचय हो । वि.सं. २०१० सालमा ने.रा.वि फेडरेशन मार्फत् विद्यार्थी राजनितीमा प्रवेश गर्नु भएका जगतबाले २०१० मा नै लक्ष्मण बाबु श्रेष्ठको हातबाट पार्टी सदस्यता प्राप्त गर्नु भएको थियो । काठमाण्डौमा अध्ययनको क्रममा पुष्पलाल श्रेष्ठ, निर्मल लामा, हिक्मत सिं भण्डारीहरुसंग सम्पर्क पश्चात् राजनीतिले उहाँलाई बढी प्रभावित पार्यो । २०१४ सालको भद्र अवज्ञा आन्दोलनमा जीवनमा पहिलो पटक जेल पर्नुभयो ।
२०१५ सालको संसदीय निर्वाचनमा गोर्खाबाट कृष्णप्रसाद भट्टराईसंग प्रतिस्पर्धा गर्नु भएको थियो । पार्टी आन्दोलन छिन्नभिन्न हुँदा पनि उहाँले आनन्ददेव भट्ट, गुणबहादुर घले, मथुराप्रसाद श्रेष्ठसंग मिलेर Non Central Group गठन गरेर भए पनि क्रान्तिको पक्षमा काम गरिरहनु भयो । पछि मशाल हुँदै माओवादी बन्दा उहाँ पनि माओवादी बन्नुभयो । जनयुद्धमा सम्पर्क सूत्रको रुपमा काम गर्नुभयो । सेल्टर दिनु भयो । सेनाले गिरफ्तार गरेर लैजादा पनि डग्नु भएन । निरन्तर आन्दोलन, क्रान्ति र जनताको पक्षमा उभिनु भयो । जनयुद्धको मूल नेतृत्वले धोखा दिँदा पनि आस्था र विश्वासको सतिसाल भएर क्रान्तिका पक्षमा सधै उभिन सक्नु र सधै अरुलाई क्रान्तिप्रति आशावादी बन्न उत्प्रेरणा जगाउनु पनि साधारण विषय हैन ।
आज पनि कम्युनिष्ट आन्दोलन विशेषत माओवादी जनयुद्धका नेतृत्वदेखि तल्लो तहका नेता कार्यकर्ता सबैको आदर र सम्मानका पात्र भए तापनि उहाँमा एक असल कम्युनिष्टको सादगीपूर्र्ण जीवनको छाप भेटिन्छ । जति उच्च व्यक्तित्व छ, त्यति नै पुच्छरमा बसेर पनि उहाँले क्रान्ति र आन्दोलनको पक्षमा निरन्तर आवाज उठाइरहनु भएको छ ।
उच्च व्यक्तित्वका धनी जगत बा सांगठनिक रुपले जुनसुकै निकायमा रहे तापनि क्रान्ति र आन्दोलनको पक्षमा निरन्तर आवाज उठाइरहनु भएको छ । हाम्रो पुस्ताले विघटित र विश्रृंखलित भएको कम्युनिष्ट आन्दोलन र वर्ग संघर्षलाई नयाँ परिस्थितिमा ठिक ढंगले उठान गर्नका लागि जगत बाले खेलेको निरन्तर तथा अविचलित राजनीतिक दृढता तथा सांगठनिक क्रियाशीलतालाई ऐतिहासिक शिक्षाको रुपमा आत्मसात गर्दै अगाडी बढ्न सक्नु नै जगत बा प्रतिको सच्चा सम्मान ठहरिने छ ।