क्रान्तिको बाटोको सम्बन्धमा

प्रकाशित मिति : २०७५ पुस १६

- कृष्णदास श्रेष्ठ

कुनै पनि वर्ग–विभक्त समाजमा एउटा व्यवस्थाबाट अर्को अग्रणी व्यवस्थामा संक्रमणका लागि क्रान्तिको अपरिहार्य आवश्यकता रहन्छ । समाजको आमूल क्रान्तिकारी रुपान्तरण क्रान्तिमार्फत् मात्र हुन सक्छ र हुने गर्छ । उक्त आवश्यकता आफसेआफ् यथार्थमा परिणत हुने होइन, बरु त्यो क्रान्तिकारी क्रियाकलापमार्फत् सम्पन्न हुने गर्छ ।

यहाँ चर्चा गर्न खोजिएको विषय हो, क्रान्तिको बाटोको सवाल क्रान्तिले कस्तो बाटो लिन्छ ? कुन बाटो भएर क्रान्ति अघि बढ्छ ? कुन तत्वले क्रान्तिको बाटो निर्धारण गर्छ ? यस सम्बन्धमा क्रान्तिका पक्षधरहरुका माझमा भिन्ना–भिन्नै धारणा छन् । केही क्रान्तिकारीहरु आफ्नो सोचअनुसार आफूलाई ठीक लागेको बाटोतर्फ क्रान्तिलाई निर्देशित गर्न खोज्छन् । कोही यस्ता पनि छन्, जो आफूले कोरेर तयार पारेको बाटोतर्फ क्रान्तिलाई घिसारेर लैजान खोज्छन् । यस्तो धारणा मनोगतवादी दृष्टिकोणको एउटा अभिव्यक्ति हो ।

उपरोक्त खालका प्रयासहरु सामान्यतः असफल हुन्छन् र भएका छन् पनि । किनभने, क्रान्तिकारी परिस्थिति र क्रान्तिकारी शक्तिहरुको सांगठनिक स्थितिलाई बेवास्ता गरेर कसैले क्रान्ति ल्याउन सक्दैन । क्रान्ति कुनै व्यक्ति वा व्यक्ति समूहले तम्तयार पारेको बाटो भएर ल्याउने कुरा होइन । कसैले ठूलो स्वरले डाकेर पनि आउने होइन । कसैले डाकेर वा घिसारेर आउने भए क्रान्ति हामी कहाँ पहिले नै सम्पन्न भइसक्ने थियो ।

वास्तवमा क्रान्तिले यसको अग्रगामी क्रान्तिकारी प्रक्रियामा आफ्नो बाटो आफै बनाउँछ । मुलुकमा विद्यमान विभिन्न वर्गहरुमाझ क्रियाशील राजनीतिक शक्तिहरुमाझ संघर्षको बीचबाट क्रान्तिले आफ्नो बाटो बनाएर अघि बढ्छ । कुनै मुलुकमा घट्ने राजनीतिक घटनाहरु विभिन्न राजनीतिक शक्तिहरुमाझ हुने अन्तर्विरोध, संघर्ष र द्वन्द्वका परिणाम हुन् र क्रान्ति पनि तिनको उच्चतम परिणाम हो ।

कुनै मुलुकमा क्रान्ति कुन बाटो भएर आउँछ भन्ने कुरा सम्बन्धित मुलुकको बाह्य परिवेश तथा आन्तरिक अवस्थाहरुमा निर्भर गर्दछ । त्यसको बाटोमा अनेकौं उतार–चढाव, घुम्ती र मोडहरु हुन सक्छन्, र ती सब क्रान्तिको विकासको विभिन्न चरणहरु हुन् । विभिन्न मुलुकहरुमा क्रान्ति विभिन्न ढंगबाट र विभिन्न बाटो भएर आएका ऐतिहासिक तथ्यहरु छन् । यहाँ तथ्यको सन्दर्भमा लेनिनले कस्तो विचार व्यक्त गरेका छन् भने लक्ष्य एउटै भएपनि सो लक्ष्यतर्फ विभिन्न मुलुकका जनताहरु आ–आफ्ना विशिष्ट बाटोबाट अघि लाग्ने गर्छन् ।

इतिहासले के देखाउँछ भने विभिन्न मुलुकहरुमा क्रान्ति विभिन्न बाटो भएर आएको छ । इतिहासबाट हामी के थाह पाउँछौं भने क्रान्ति मुख्य रुपलले तीनवटा बाटो भएर आउने गरेको छ– जनविद्रोहको बाटो, आन्तरिक सशस्त्र संघर्षको (गृहयुद्धको) बाटो र विदेशी अधिपत्य तथा विदेशी आक्रमणको विरुद्ध राष्ट्रिय स्वाधिनताको लागि संघर्षको बाटो ।

पछिल्लो बाटो भएर क्रान्ति आएको ज्वलन्त उदाहरणको रुपमा हामी चिनियाँ जनक्रान्ति (जुन जापानी साम्राज्यवाद विरुद्ध संघर्षबाट आएको थियो) र भियतनामी क्रान्ति (जुन फ्रान्सेली उपनिवेशवाद र अमेरिकी साम्राज्यवादविरुद्ध संघर्षको बाटोबाट आएको थियो) तिनलाई लिन सक्छौं । कुनै मुलुकमा क्रान्ति कुनबेला कस्तो बाटोबाट अघि बढ्छ भन्ने कुरा तत्कालीन समयका बाहिरी तथा आन्तरिक परिस्थितिमाथि निर्भर गर्दछ ।

जहाँसम्म हाम्रो मुलुकमा जनवादी क्रान्तिको सवाल छ, त्यो विभिन्न उतार–चढाव र विभिन्न चरणहरुबाट अघि बढिरहेको छ । यहाँ त्यसले अहिलेसम्म मुख्यतः दुईटा बाटो लिएको हामीले देखेका छौं –आन्तरिक सशस्त्र संघर्षको बाटो (२००७ सालको सशस्त्र संघर्ष र माओवादी पार्टीद्वारा सञ्चालित जनयुद्ध) र जन–विद्रोहको बाटो (२०४६ र २०६२÷०६३ को ऐतिहासिक जन–आन्दोलन) । ती क्रान्तिको विकासका विभिन्न चरणहरु हुन् ।

हाल यता आएर हाम्रो राष्ट्रिय स्वाधिनता र इलाकीय अखण्डताविरुद्ध भारतीय विस्तारवादी हस्तक्षेप तथा अतिक्रमण र अझ मुख्य रुपले हाल नेपाल विरुद्ध भारतद्वारा गरिएको अघोषित नाकाबन्दीको परिप्रेक्षबाट हेर्दा यहाँ क्रान्ति भारतीय विस्तारवादविरोधी संघर्षको बाटोबाट आउने संकेतहरु देखा परेका छन् ।

विकसित हुँदो वरिपरिका सामाजिक, राजनीतिक अवस्थाहरुमा क्रान्तिले कुनबाटो लिन्छ वा लिन गइरहेको छ, त्यसलाई ठीकसित बुझेर त्यसलाई सफलताको साथ अघि बढाउन आवश्यक यतारी गर्नु मुलुकका क्रान्तिकारी शक्तिहरुको जिम्मेवारी तथा अभिभारा हो ।