काठमाडौं । नर्वे विश्कै सबैभन्दा तिव्र गतिको इन्टरनेट चलाउने मुलुकको सूचीमा नम्बर एक रहेको छ । विश्वभरका इन्टरनेट गतिमा गरिएको अध्ययनले सन् २०१८ मा सबैभन्दा तिव्र गतिमा इन्टरनेट नर्वेमा चलाइएको प्रतिवेदन सार्वजनिक गरेको हो ।
ओक्ला विश्वभरको मोबाइल र फिक्स्ड इन्टरनेटको गति मापन गर्ने संस्था हो । सो संस्थाले इन्टरनेटको सेवा उपलब्ध भएका देशहरुको इन्टरनेटको गति मापन गरी सार्वजनिक गर्ने गर्दछ । सो सूचीअनुसार नर्वेमा मोबाइलमा औसत डाउनलोड स्पीड ६३.१९ एमबीपिएस रहेको छ । सो सूचीको दोस्रो नम्बरमा ५८.६८ एमबीपीएस स्पीड सहित आइसल्याण्ड र तेस्रो नम्बरमा कतार रहेको छ । कतारमा मोबाइलमार्फत् हुने डाउनलोडको स्पीड ५५.१७ एमबीपिएस रहेको छ ।
तिव्र गतिको इन्टरनेट चलाउने मुलुकमध्ये चौथो नम्बरमा ५४.७१ एमबीपीएससहित सिंगापुर छ र पाँचौं नम्बरमा नेदरल्याण्ड छ । नेदरल्याण्डमा ५३.४२ एबीपिएसको मोबाइल डाउनलोड स्पीड छ । इन्टरनेट स्पीडमा अन्य विभिन्न संस्थाहरुको पनि प्रतिवदेनहरु आइरहेका छन् । वर्षको अन्तिम महिनामा वर्षभरको इन्टरनेट ट्रेन्ड सार्वजनिक हुने गर्छ ।
हालै सार्वजनिक भएको ओक्लाको प्रतिवेदनले यो वर्ष विश्वभरको इन्टरनेट स्पीड गत वर्षको भन्दा १५ प्रतिशतले बढेको देखाएको छ । गत वर्षको इन्टरनेट स्पीडमा डाउनलोडको २२.८२ एमबीपीएसमा बढेर यो वर्ष औषत १५.२ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ । अपलोड स्पीडमा पनि ११.६ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिवेदनअनुसार इन्टरनेट स्पीडमा नेपालको स्थान ११६ औं छ । स्पिड टेष्ट इन्डेक्स अनुसार सन् २०१८ मा नेपालको मोबाइल इन्टरनेट स्पिडमा थोरैमात्र सुधार भएको छ भने फिक्स्ड नेटवर्कको अवस्था अघिल्लो वर्षकै जस्तो रहेको छ । फिक्स्ड इन्टरनेट स्पीडको आधारमा हेर्दा नेपाल ८६ औं स्थानमा रहेको छ । फिक्स्ड इन्टरनेट डाउनलोड स्पीड औसतमा १६.६६ एमबीपीएस मात्र रहेको छ । अध्ययन प्रतिवेदनमा मोबाइल र फिक्स्ड ब्रोडब्यान्डको छुट्टाछुट्टै स्पीड प्रस्तुत गरेको छ । सो रिपोर्टअनुसार सन् २०१८ मा तिव्र रुपमा विश्वभर फोरजी सेवा विस्तार भएको छ । जसले गर्दा फोरजी इन्टरनेट स्पीडमा पनि वृद्धि भएको छ ।
ओक्लाले गरेको स्पिड टेस्ट इन्टेलिजेन्स परीक्षणअनुसार तिव्र फिक्स्ड इन्टरनेट स्पिड भएको देशको सूचीमा पहिलो नम्बरमा सिंगापुर छ । सिंगापुरमा १७५.१३ एमबीपीएसको इन्टरनेट सेवा उपलब्ध छ । प्रतिवेदन अनुसार दोस्रोमा आइसल्याण्ड र तेस्रोमा हङकङ रहेको छ भने चौथो र पाँचौंमा क्रमशः दक्षिण कोरिया र रोमानिया रहेका छन् ।
ओक्लाको रिपोर्टअनुसार इन्टरनेट प्रयोगकर्ताहरुको व्यवहारको बारेमा पनि अध्ययन गरिएको छ । जसअनुसार विश्वभर मोबाइल र फिस्क्ड ब्रोडब्याण्ड दुवैमा बेलुकी ९ बजेपछि सबैभन्दा उच्च तहमा इन्टरनेट सेवा प्रयोग हुने गर्दछ भने बिहानको ४ बजे सबैभन्दा न्यून मात्रामा इन्टरनेटको प्रयोग हुने गरेको उल्लेख छ ।