काठमाडौं । काठमाडौँको पानीपोखरीबाट प्रहरीले चोरीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । महानगरिय प्रहरी वृत महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई चोरीको सामानसहित राति ८ः३० बजे पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौंको नयाँ बजार बस्ने काभ्रेका १६ वर्षीय प्रज्वल तामाङ, ढल्कु क्षेत्रपाटी बस्ने रामेछापका १५ वर्षीय अनिल तामाङ स्वयम्भु बस्ने मकवानपुरका १५ वर्षीय राजीव देउला र काठमाडौंको पकनाजोल बस्ने दोलखाका १६ वर्षीय निमा तामाङ रहेका छन् ।
उनीहरुले निमाको नेतृत्वमा काठमाडौंका विभिन्न ठाउँमा घर फोडेर चोरी गर्ने गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनीहरुको बयानका आधारमा काठमाडौं महानगरपालिका–१७ ढल्कु तण्डुकार टोलको एक घरमा लुकाइ राखेको चोरीको सामानहरुसमेत बरामद गरेको छ ।
उनीहरुको साथबाट नगद ६६ हजार पाँच सय ७५ रुपैयाँ, ल्यापटप ३ थान, मोबाइल ९ थानसँगै एउटा आइफोन, ढलोटको मूर्ति १ थान, सुनको जस्तो देखिने औठी १ थान, सुनको जस्तो देखिने तिलहरी, १ थान, चाँदीको पाउजु २ थन, घर फोर्ने औजार पेचकस ५ थानलगायत सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाही गरिने प्रहरीले बताएको छ ।