‘यलो भेष्ट’ आन्दोलनलाई म्याक्रोंद्वारा संबोधन

प्रकाशित मिति : २०७५ मंसिर २५

काठमाडौं । अन्तत: फ्रान्सका राष्ट्रपति इम्मानुअल म्याक्रोंले ‘यलो भेष्ट’ आन्दोलनलाई सम्बोधन गरे । उनले सम्बोधनमा मजदुर, व्यापारी तथा सर्वसाधरणहरुलाई जेजसरी भए पनि यो आन्दोलन अन्त्यका लागि छलफल मार्फत् निकासमा जानु पर्ने कुरामा सहमत हुन आग्रह पनि गरे ।

लगातार ४ हप्तासम्म चलेको सरकार विरोधी यो आन्दोलन फ्रान्सको केही दशकका आन्दोलनहरुमध्ये एक डरलाग्दो आन्दोलनका रुपमा गरिएको गएिको छ । यो आन्दोलन देशमा बढाइएको कर र मूल्य वृद्धि विरुद्धमा निरन्तर अघि बढिरहेको छ ।

फ्रान्सका मध्यपन्थी तथ वुद्धिजीवीहरुले यो आन्दोलनलाई समयमै संबोधन गर्न र सहमतिसहित टुंग्याउन सरकारलाई गम्भीरताका साथ अनुरोध सुझाव दिएका छन् । यसका लागि सरकारले तत्काल ठोस कदमहरु चाल्न पनि विशेष अनुरोध गरेका छन् ।

राजनीतिक वृत्तमा पनि यसै गरी म्याक्रोंलाई अनुरोध गरिएको छ र समाजले चारचार हप्तासम्म बेहोरेको दुख र कष्टलाई अनदेखा नगर्न भनिएको छ । यसको समाधानका लागि विना ढिलाई गम्भीर निर्णयहरु लिनु पर्ने पनि सुझाइएको छ । यसलाई कसले जित्छ र कसले हार्छ भनी ‘इगो’का रुपमा होइन, समग्र फ्रान्सको आर्थिक संकटले निम्त्याएको संघर्षका रुपमा लिन अनुरोध पनि गरिएको छ । मूल्य वृद्धि, चर्को कर तथा सेवासुविधामा भएको अभावले यसलाई निम्त्याएको रुपमा बुझ्न पनि भनिएको छ । यो स्थिति समग्र फ्रान्सेली जनता र फ्रान्सका लागि दुर्भाग्य भएको पनि बताइएको छ ।

आन्दोलनमा उत्रिएका जनताले म्याक्रों पूर्व व्यांकर हुन् र उनले जनताका समस्याहरु कत्ति पनि बुझ्न सक्दैनन्, समस्या यसैले पनि निम्त्याएको हो भनी आरोपित गरिएको छ । आक्रमण, प्रत्याक्रमण, हिंसा, प्रतिहिंसा र आगजनी तथा विष्फोटन अनि लुटपाटका घटनाले फ्रान्सलाई असुरक्षित देशका रुपमा चित्रित गरेको पनि बताइएको छ । सरकारले पर्यटकहरुलाई सुरक्षा दिइने र देश छोड्नु नपर्ने भने पनि पर्यटकहरु भने फ्रान्सको बसाई छोट्याएर अन्य देशहरुको यात्रामा लागिरहेका छन् ।

पछिल्ला दिनहरुमा झन्पछि झन् क्षतिको विवरण सार्वजनिक हुन थालेपछि देशभर चिन्ता छाएको छ । गाडीहरु जलाउने, शिशाका झ्यालहरु फोड्ने, पसलमा लुटपाट गर्ने, अश्रुग्यास र रबरका गोली प्रहारबाट मानिसहरु घाइते हुने र देशको दैनिक राजस्वमा निकै कमी आउने गरेकाले फ्रान्समा यसले राष्ट्रिय संकट निम्त्याउन सक्ने तर्फ पनि सरकारलाई सचेत गराइएको छ ।

वार्ता संवादको बाटो खोज्न भन्दा दमनको बाटो रोजेर म्याक्रोंको सरकारले बख्तरबन्द गाडी तथा सशस्त्र सैन्य बल सडकमा उतारेर भिडन्त निम्त्याएको थियो । यसलाई मानवअधिकार कर्मी तथा विदेशी पर्यवेक्षकहरुले भर्त्सना  पनि गरेका छन् । अहिलेसम्म लाखौं प्रदर्शनकारीहरु देशका ठूलाठूला सहरहरुमा उत्रिएका र तिनीहरुको दमनका लागि कम्तीमा आठ हजार सशस्त्र फौज उतारिएको बताइएको छ ।

दश हजार प्रदर्शनकारीहरुलाई सरकारले नियन्त्रणमा लिएको बताइएको छ ।