‘जगत अभिनन्दन ग्रन्थ’ मा जगत बा

‘जगत अभिनन्दन ग्रन्थ’ मा जगत बा

नेपाली कम्युनिस्ट अन्दोलनमा निरन्तर क्रान्तिकारी धारको पक्षमा उभिई देश र जनताको स्वतन्त्रता र मुक्तिको सपना देख्ने एक साधक हुनुहुन्छ– जगत श्रेष्ठ । जगत श्रेष्ठले सिंगो जीवन नै संघर्षमा समर्पित गर्नुभएको छ । गत महिना ती जगत श्रेष्ठ अर्थात् ‘जगत बा’ को चितवनको उद्योग वाणिज्य संघको हलमा झाँकीसहित नागरिक अभिनन्दन गरियो । 

अर्का प्रखर वामपन्थी परिपक्व वयका कमरेड पुष्पगोपाल श्रेष्ठले उहाँलाई दोसल्ला र अभिनन्दन पत्रसहित सम्मान गर्नुभयो । यिनै वाम आन्दोलनका तपस्वी नेता, कवि, साहित्यकार, पत्रकार, समाजसवी तथा उमेरले ९० वर्ष पुगेका व्यक्ति ‘जगत बा’को नाममा प्रकाशित भएको छ ‘जगत अभिनन्दन ग्रन्थ’ ।

जगत बा जन्मेको गोर्खाको जौंबारीको चित्र पृष्ठभूमिमा र उहाँको फोटो आमुखमा छापिएको अभिनन्दन ग्रन्थको आकार १७५ पृष्ठ को छ । यो कृति सुन्दर र पठनीय रहेको छ । कृतिले मोहन वैद्य, मोहनविक्रम सिंह, मोदनाथ मरहट्ठादेखि ईश्वरचन्द्र ज्ञवाली, ईश्वरी ओझा र ईश्वरीप्रसाद दाहालसम्मका रचनाका साथै रविकिरण निर्जिव, जगदीशचन्द्र भण्डारीदेखि पूर्णबहादुर अधिकारी, पोषराज पौडेल, पूर्णप्रसाद दवाडी तथा प्रकाश चापागाईंसम्मका विभिन्न क्षेत्रका प्रतिष्ठित र विज्ञ व्यक्तिका रचना छापेको छ ।

यी रचनाले ‘जगत बा’का समग्र जीवनका पाटापक्षहरुलाई उजागर गरेका छन् । चितवनमा कम्युनिष्ट आन्दोलनको सम्मिलन कालमा ‘नन्–सेन्टर–ग्रुप’का नामबाट सक्रिय रहेका ‘जगत बा’ वर्तमानसम्म क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकारका रुपमा अविछिन्न रुपमा अविचल प्रतिवद्ध रहँदै आउनु भएको छ ।

उहाँको जीवनको उत्तरार्धकाल झन् बढी निष्ठा र समर्पणको पर्याय बनेको छ । उहाँ वर्तमान राज्यसत्ताको दिशाहीन, अकर्मण्य र प्रतिक्रियावादी चरित्रका कारणबाट असन्तुस्ट देखिनुहुन्छ । कम्युनिष्ट नामधारी प्रतिक्रियावादी संशोधनवादीहरुको ८२ प्रतिशत अभिमत प्राप्त सरकारको नालायकीपन, असफलता, दिवालियापन, कार्यहीनता र मूर्दापनदेखि दुखित छन् । यसले कम्युनिष्टहरुको बदनाम गरेर नेपालबाट सदाका लागि कम्युनिष्ट व्यवस्थाप्रति नै जनतामा वितृष्णा, घृणा र रोष पैदा गर्ने ठान्छन् । यसरी जगत बा देशकै अभिभावकका रुपमा देशप्रति यो अन्तिम समयमा पनि उत्तिकै चिन्तित छन् ।

यस कृतिमा जगत बाका जीवनका आरोह अबरोह, सफलता, असफलता, दुखसुख अगाडिका सबैजसो पाटाहरुलाई देखाइएको छ । यो कृतिपढेपछि समग्र जगत बाको जीवन मात्र होइन, उहाँसँग जोडिएका राजनीति, इतिहास र समाजलाई पनि राम्रोसँग बुझ्न र पढ्न सकिन्छ । झण्डै ७० वर्षको सामाजिक जीवनको चित्ररेखालाई रचनाले स्पष्ट पारेका छन् । यो कृतिमा पाँचवटा समालोचना तथा कैयौं निवन्ध लेख, संस्मरण र शब्दचित्र तथा कविताहरु पनि समेटिएका छन् ।

यिनले जगत बाका साहित्यिक जीवनका विविध आयामहरुलाई पनि उद्योत गर्दछन् । जगत बाका विविध व्यक्तित्वप्रति पनि विश्लेषण र भाष्य प्रदान गर्दछन् । मूलतः जगत बाका प्रवृत्तिहरुलाई यस कृतिले सारका रुपमा प्रस्तुत गरेको छ । जसलाई निम्न बुँदाहरुमा समेटेर संक्षेपीकरण गर्दा निम्न निष्कर्ष दिन सकिन्छ :

१. उहाँ एक कयुनिष्ट समर्पित राजनीतिक नेता र कम्यनिष्ट क्रान्तिकारी धारका अभिमत्ता हुनुहुन्छ ।

२. एक देशभक्त, राष्ट्रवादी, स्वाभिमान र स्वतन्त्रताका पक्षधर जगत बा भारतीय विस्तारवादको विरोध र देशीय आत्मसमर्पणवादी दलाल चरित्रका नेता तथा दलको विरोध गर्नु हुन्छ ।

३. सर्वहारा गरीब, मजदूर, किसान वर्गको मुक्ति र क्रान्ति नै उहाँको जीवनको अभिष्ट हो ।

४. उहाँले सुधारवाद, संशोधनवादको विरोध र आमूल परिवर्तनको चाहना प्रस्तुत गर्नुभएको छ ।

५. समानता, न्याय र शोषणरहित समाजको स्थापना नै उहाँको सपना हो ।

६. विद्यमान भ्रष्टाचार, बेथिति, लुट, ठगी र विसंगतिको अन्त्य हुनु पर्ने चाहना उहाँको छ ।

७. यो सरकार नामको कम्युनिष्ट भए पनि कामको भने प्रतिक्रियावादी र पश्चगामी सरकार हो, जसले भारतको दलाली गरेर सत्ता जोगाउँदै देशविरोधी जनशत्रुकै भूमिका पूरा गरी रहेको छ । यसले दलाल पुँजीपति र सामन्त शोषक वर्गकै हित गर्छ । सर्वहारा वर्गको होइन भन्ने धारणा रहेको छ ।

८. यस्तो राज्य व्यवस्थाले न त देशको स्वाधीनता जोगाउन सक्छ, न जनताका समस्या समाधान नै गर्न सक्छ । देश फेरि पनि उस्तै रहने छ भन्ने निष्कर्ष दिन्छ ।

९. यस्तो व्यवस्था विरुद्ध फेरि पनि जनताले संघर्ष गर्नै पर्छ । क्रान्ति विना नेपालमा हामीले चाहेको परिवर्तन आउन संभव छैन । फेरि पनि क्रान्ति नभइ हुन्न भन्ने जगत बाको आकांक्षा र धारणालाई रचनाले अभिव्यक्त गर्छन् ।

१०. त्यो परिवर्तनका लागि जगत बाले देखाएको बाटो सशस्त्र जनवादी क्रान्तिको बाटो हो ।

अन्त्यमा, यो कृति सबैका लागि एउटा पठनीय कृति हो । यसले कैयौं ऐतिहासिक नखुलेका तथ्य उन्मीलन गर्दछ, जानकारी दिन्छ । यस कृतिले जगत बाको जीवन नै एउटा महाकाब्य हो भन्ने देखाएको छ । जीवन नै कविता वा काव्य लिएर बाँचिरहेका जगत बाको गौरवपूर्ण जीवन जान्न यो कृति पढ्नै पर्छ । कम्युनिष्ट आन्दोलनमा जगत बाले देखाएको बाटो कस्तो छ र र के सपना देखाउँछ एक पटक राजनीतिका विद्यार्थीले पनि पढ्नै पर्छ ।