मेरो जन्म २००२ सालमा एक निम्नमध्यम परिवारमा दैलेखमा भएको हो । हाम्रो परिवारले खेतिपाती तथा पशुपालनको पेशा अपनाएको थियो । बुबाले लेखपढ गर्ने अवसर पाउनु भएन तर शिक्षा र ज्ञानका कुरा गरेपछि हुरुक्कै हुनुहुन्थ्यो । पढ्न नसके पनि ज्ञानका कुराहरु सुन्न र अरुसँग मौखिक रुपमा बाँड्न निकै रुचाउनु हुन्थ्यो । यो प्रभाव मेरो कलिलो मस्तिष्कमा परिरहेको थियो । जातिले ठकुरी भएपनि हाम्रो परिवार सामन्ती खानदानियाँ चाहिं थिएन । हामी राजा, काजी र मुखिया–जिम्मुवाल परिवारका पनि थिएनौ ।
तर हाम्रै गाउँमा बसोवास गर्ने केही ठकुरी परिवार सम्भ्रान्त तथा खानदानियाँ मानिन्थे । उनीहरुले स्थानीय जनतामाथि रजाइँ गर्थे । राजा, काजी, मुखिया, जिम्मुवाल, घाटु र कट्वालसम्म समाजको शासकका रुपमा लिइन्थे । शासकीय संरचना यस्तै थियो तात्कालिन ग्रामीण समाजमा । गाउँका किसानहरु भने उनीहरुका विरोधी खेमामा हुन्थे । बेठ, बेगारी, झाडा, कर तथा ओलक आदि लगाएर जनतालाई कज्याउने गर्दथे । उनीहरुको एक प्रकारको शासन चलेको हुन्थ्यो गाउँमा । गाउँका गाउँ जनताहरु उठेर जनश्रमदान वा झारा गएर उनीहरुको काम गरिदिनु पर्ने र माना चामल बुझाउनु पर्ने हुन्थ्यो ।
किसानहरु दोहनको स्रोत थिए । आम रुपमा सबै किसानहरु दोहनमा पर्दथे, तथापि मध्यम तथा निम्न मध्यम परिवारका किसानहरु यी स्थानीय सामन्तका लक्षित स्रोतहरुमा पर्दथे । गाउँमा मौलो पुज्ने चलन थियो । त्यो प्रायः दशैंमा पुजिन्थ्यो । त्यसमा सिंगो गाउँको सामूहिकता रहन्थ्यो । यसमा पनि गच्छेअनुसार पैसा, चामल आदि उठाएर मनाउने गरिन्थ्यो ।
शोषणमा आधारित सामाजिक संरचना भएकाले त्यहाँ नानाथरीका शोषणका तरिकाहरु अपनाइन्थे । किसानहरुलाई घरमै पुगेर निकै दुख दिइन्थ्यो । दशैंका लागि दुहुनो भैंसीका ससाना पाडाहरुमा दाम्लो बाँधिदिने र मौलोमा लगेर काटिदिने धम्की दिने, बाटामा लट्ठी फालेर बस्ने र जसले लट्ठी नाघ्यो, उसलाई दण्ड गर्ने आदि आश्चर्य लाग्दा दण्डस्वरुप पैसा असुल्ने कामहरु गर्दथे । डाँडमार गरेर खाने यस्तो चलन थियो ।
एक पटकको कुरा हो, दशैतिहार आउन थाल्यो । गाउँमा कतैबाट पनि उजुरबाजुर आएन । पैसा आउने छाँट देखिएन । आएका दशैं तिहार कसरी मनाउने ? चाडपर्वहरु आउँदै गर्दा उनीहरु षड्यन्त्रका योजनाहरु बुन्न थाल्दथे । यसका लागि उनीहरु आफ्ना गाउँघरमा र वरपरका गाउँहरुमा जाने गर्दथे । एकपटक दुईजना स्थानीय राजाहरु नजिकैको गाउँमा पुगेर भुंग्रोमा पिंडालु पोल्न लगाएछन् र दुवैजना नुहाउन हिंडेछन् । एकजना केही छिटो नुहाएर आएपछि पाकेको सबै पिंडालु खाइ सिध्याएछन् । अर्को एक जना आउँदा पिंडालु बाँकी नरहेकाले उनले निहु खोज्न थालेछन् । ती दुईजना एकआपसमा लडाइँ गर्न थालेको जस्तो बहाना बनाएछन् ।
यो देखेर स्थानीय जनताले लडाइँ नगर्न अनुरोध गर्दै ‘उहाँलाई पोलिहाल्यौं, अब तपाईलाई पनि पोलौंला हजुर’ भने छन् । यसमाथि खत टिप्दै ‘म त जिउँदै छु, मलाई किन पोल्ने ? कसरी पोल्ने ?’ भनी उल्टै ती स्थानीयमाथि जाइ लागेछन् । स्थानीयहरुले डरले ‘नबोल्नु पर्ने दुर्वाच्य परिगयो, दण्ड तिर्छौ’ भनेर कबोल गरी दण्ड तिरेपछि ती दुईजना घरतिर लागेछन् र दण्ड गरिएको पैसा बाँडेर लिएछन् । तात्कालीन समाजका शोषणका र दण्डसजायका स्वरुपहरु यति डरलाग्दा थिए । स्थानीय सामन्त र राजारजौटाहरुको मनपरि थियो ।
हाम्रो घरपरिवारमा यस्तो कुरा सरासर अन्याय हो भन्ने परेको थियो । तर मैले पढ्न पाएन । त्यसैले मैले छोराहरुलाई पढाउँछु लेखाउँछु भनेर बुवाको मनमा हामीलाई पढाउने सुर आयो । गाउँमा पाठशाला थिएनन् त्यति बेला । दैलेख जिल्लामा केवल दुईवटा पाठशालाहरु मात्र थिए । एउटा दुल्लुमा थियो, अर्को दैलेखमा । ती पाठशालालाई भाषा पाठशाला भनिन्थ्यो । ती भाषा पाठशालामा जिल्लाभरका पढ्न चाहनेहरु आएर पढ्दथे । हरिदत्त आचार्य भन्ने एक जना शिक्षकलाई लिएर हाम्रा बुवाले स्थानीय केटाकेटीहरुलाई पढ्न लगाउनु भयो । हरिदत्तका छोरा पनि पढेलेखेका थिए, उनले पनि पढाए । बुवाले गाउँका केटाकेटीहरु जम्मा गरेर पढ्न पढाउने गर्नुहुन्थ्यो ।
त्यतिबेला गाउँमा बत्ति पनि हुने कुरा भएन । पेट्रोल र डिजेल पनि हुने कुरा भएन । त्यसैले बुवाले मसिना झिंक्रा दाउरा खेरेर रातमा हामीलाई पढ्ने व्यवस्था गरिदिनुहुन्थ्यो । रातमा दाउरा बालेर हामीसँग बस्नुहुन्थ्यो र अभिभावकत्व लिनु हुन्थ्यो । हामीले काठको कालो पाटीमा अंगारले मोस्याएर कालो बनाई त्यसमाथि दुधेखरीले लेख्ने गर्दथ्यौं । त्यतिबेला म सात वर्षको भइसकेको थिए ।
त्यतिबेला छोइछिटोको निकै चलन थियो । नुहाएर धोती फेरेर खाना खाने चलन थियो । एक जना हुर्के बढेको स्थानीय विद्यार्थीले पढ्न नजानेपछि गुरु रिसाएर एकजना विद्यार्थीको नांगो ढाडमा लट्ठीले हिर्काउँदा काँढा बिझेर घाउ बनी पाकेको मलाई अझैं पनि याद आउँछ । गुरुले हप्काउँदै ‘धोती काछेर खाने तन्नेरी भएर पनि विद्या नआउने’ भनेर गाली पनि गरेका थिए । हामीले यसरी गुरुकुल शिक्षा आर्जन गर्यौं ।
गुरुकुल शिक्षामा हामीले निकै स्तोत्र पाठ गर्ने गर्दथ्यौं । गणेश स्तोत्र, तिलक चण्डी, अर्गला कवज र ऐनश्रेस्ता पनि पढ्यौं । हामीले तमसुक, फिराल पत्र तथा विन्तिपत्र पनि पढ्यौं र लेख्न सिक्यौं । हिसाब पनि पढ्यौं । हामीहरु गाउँका जिम्मुवाल मुखियाले जानेको जति त जान्ने भइहाल्यौं । किनकि उनीहरुले जानेको कुरा पनि त्यति नै हो । तमसुक लेख्ने भएपछि त ठूलै मानिस भइहाल्यो, त्यो बेलामा । हामीजस्ता जान्ने मानिसहरु त्यो बेलामा औंलामा गन्ने मात्र थिए ।
त्यति बेलाको राजनीति भनेको गाउँमा जिम्मुवाल मुखिया हने र डाँडमार गरेर खाने मात्र थियो । कोही थोरै त गाउँघरमा उन्नति हुनुपर्छ भन्नेहरु पनि थिए । त्यतिबेला एकजना देवमल कार्की भन्ने अंग्रेजी निकै राम्रो बोल्ने मानिस गाउँमा आए । अंग्रेजको जमानाका विद्यालयमा पढेका उनी निकै राम्रो अंग्रेजी बोल्दथे । हाम्रो बुवाले उनलाई आँखाको नानी झैं माया गर्न थाल्नु भयो । बुवालाई लागेको थियो छोराहरुले नेपाली भाषामा त पढे, तर अंग्रेजीमा पनि पढाउन पाए हुने थियो । युग बदलिइसक्यो ।
उहाँले गाउँलेहरु सबैलाई जम्मा गरेर छलफल गर्नुभयो । अंग्रेजी पढेर आएका कार्कीलाई वुवाले तपाईले विदेशमा राम्रो काम गरेर आउनु भयो, हाम्रालागि राम्रो नासो लिएर आउनु भयो भन्दै खुशी पार्नु भयो । यो नासो सबैलाई बाँड्नुपर्छ भनेर हौस्याउनु पनि भयो । गाउँलेहरु पनि खुशी भए ।
२०१३ सालमा स्कुल पनि स्थापना भयो । त्यसपछि हामीले नयाँ शिक्षा पढ्यौं । त्यस विद्यालयको नाम जयदेव नेपाल राष्टिय प्राथमिक विद्यालय राखियो । त्यति बेला एक कक्षाको किताब पनि मोटो न मोटो हुन्थ्यो । अंग्रेजी पनि पढ्थ्यौं । स्टोरी बुकहरु पनि हुन्थे । बुवाले नयाँ शिक्षा पढेपछि संसार बुझिन्छ र अन्याय अत्याचारको विरोध गर्न सकिन्छ भन्नुहुन्थ्यो । दशरथ चन्द, गंगालाल, धर्मभक्त र शुक्रराज शास्त्रीको कथा सुनाउनु हुन्थ्यो ।
उनीहरुले पढेलेखेर राणाहरुको विरुद्धमा लड्न सके भन्ने वुवाको विचार थियो । गंगालालको चिट्ठीको बारेमा बुवालाई थाह रहेछ । यसैको प्रसँग झिकेर अन्यायका विरुद्ध लड्नुपर्छ भनी सिकाउनु हुन्थ्यो । देश र जनताका लागि प्राणको आहुति दिन दुख मानेनन् भन्नुहुन्थ्यो । त्यतिबेला त पाँच कक्षा पढेपछि गाउँका स्कुलहरुमा मास्टर हुन पाउने व्यवस्था थियो । त्यतिबेला पढाए वापत् मासिक ७५ रुपैयाँ ज्याला पाइन्थ्यो । वर्षभरिको ९०० रुपैया हुन्थ्यो । म त्यतिबेला आठ कक्षा पाास गरेको थिए । मलाई एउटा गाउँमा मास्टर बनाएर राखे । मलाई रमिता हेरे झैं हेर्न आउँथे । त्यहाँका मानिसहरुले मलाई अंग्रेजी बोल्छ भनेको ‘गुड बोली’ बोल्छ भन्ने गर्दथे । वर्षको ९०० रुपैयाँ खान्छ रे भन्ने गर्दथे ।
मलाई अलिकति भए पनि शिक्षित बन्न पारिवाकि वातावरणले साथ दियो । वुवाको चेतना अलिक केही राजनीतिक नेताहरुसँगको बसाइले पनि तिखारियो । अर्को कुरा मेरो मावली पनि तात्कालिन राज्यसत्ताको पहुँचमा थिए । सेनामा राम्रा ओहदाहरुमा थिए । मेरो मुमा पनि केही राजनीतिक चेत भएकी महिला हुनुहुन्थ्यो । अध्ययन अध्यापन, सम्पर्क सम्बन्धले मलाई राजनीतितिर तानिन प्रेरित गरेको थियो ।
तात्कालिन राज्यका पहुँचवालाहरुसँग हाम्रो वुवाको नाता सम्बन्ध थियो । हाम्रो बुवाले किताबलाई निकै माया गर्ने, किताब राख्ने र पढ्न सक्ने मानिस आएपछि किताब समाएर पढ्न लगाउने र आफूले ध्यान दिएर सुनिरहने बानी थियो ।