ईपिएलः ललितपुरद्वारा चितवन ११ रनले पराजित

ईपिएलः ललितपुरद्वारा चितवन ११ रनले पराजित

काठमाडौं । जारी एभरेष्ट प्रिमियर लिग (इपिएल)मा ललितपुर प्याट्रियोट्सले चितवन टाइगर्समाथि विजय हासिल गरेको छ । कीर्तिपुरको टियु क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा ललितपुरले ११ रनको जित निकाल्दै चितवनलाई हराएको हो । यो ललितपुरको पहिलो जित हो ।

ललितपुरले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रनमात्रै जोड्न सक्यो । चितवनका मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले ४१ रनको पारी खेल्दै टोलीलाई अघि बढाएपनि जित दिलाउन सकेनन् । ४५ बल खेलेका उनले १ छक्का र ३ चौका प्रहार गरे ।

यस्तै उसका कप्तान पृथु बास्कोटाले २६ रन जोडे । भीम सार्कीले तल्लोक्रममा ९ बलमा २१ रनको विस्फोटक पारी खेलेपनि उनलाई सन्नी पटेलले एलबिडब्लुको सिकार बनाएपछि चितवन ब्याकफुटमा धकेलिएको थियो ।

चितवनले गतिलो सुरुवात गर्न सकेन् । उसका ओपनरद्धय दीलिप नाथ र पाउल स्ट्रर्लिङ १–१ रनमै पवेलियन फर्किए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४३ रन जोडेको थियो । तल्लोक्रममा आएका सन्दीप जोरा र मध्यक्रमका सोनु तामाङले विस्फोटक ब्याटिङ गर्दै ललितपुरलाई सो स्थितीमा पुर्याएका थिए । सातौं नम्बरमा आएका सन्दीपले ८ बलमा २५ रन जोडे । उनले तीन छक्का र १ चौका प्रहार गरेका थिए । यस्तै सोनुले २४ बलमा ३५ रन जोडे । उनले पनि ३ छक्का र एक चौका प्रहार गरे ।

ललितपुरका भारतीय खेलाडी गौरव तामोरले ३०, जयकिशन कोल्सावालाले २० रन र सन्नी पटेलले १९ रन जोडे । कप्तान ज्ञोनेन्द्र मल्ल र कुशल भुर्तेल ३ रनमै पवेलियन फर्किए ।

चितवनका इंग्ल्याण्डका खेलाडी जर्जस्कटले उत्कृष्ट बलिङ गरे । ३ ओभरको स्पेलमा उनले एक ओभर मेडन राख्दै २४ रन खर्चेर २ विकेट लिए । यस्तै ललितसिंह भण्डारी, कमलसिंह ऐरी र पाउल स्ट्रिर्लिङले समान १–१ विकेट लिए । अब अर्को खेल दिउँसोको १ बजे भैरहवा ग्याडियटर र पोखरा राइनोजबिच हुनेछ ।