फ्रान्समा ‘यलो भेष्ट’ प्रदर्शन चौथो हप्तामा

फ्रान्समा ‘यलो भेष्ट’ प्रदर्शन चौथो हप्तामा

काठमाडौं । फ्रान्समा इन्धनमा भएको अत्यधिक मूल्य वृद्धिलाई लिएर चारहप्तादेखि निरन्तर ‘यलो भेष्ट’ विरोध प्रदर्शन भइरहेको छ । यो विरोध प्रदर्शनलाई इम्यानुअल म्याक्रोंले दबाएर ठीक पार्ने बताइरहँदा त्यहाँका जनता सशक्त रुपमा सडकमा उत्रिइरहेका छन् । दिनप्रतिदिन विरोध प्रदर्शन निकै सशक्त भइरहेकाले सरकार पनि निकै उद्दण्ड बनेर धैर्यता गुमाउँदै प्रस्तुत भइरहेको छ ।

देशव्यापी आकार लिंदै ठूला सहरहरुमा आगो झैं यो आन्दोलन फैलिएपछि फ्रान्स सरकारले सामान्य प्रहरी बाहेक अत्याधुनिक हतियारसहित आठ हजार सशस्त्र फौज सडकमा उतारेको छ । यिनका साथमा धेरै बख्तरबन्द गाडी पनि परिचालित गरिएको बताइएको छ । सरकारले दैनिक दमनका क्रममा अश्रुग्यास र रबरका गोलीहरु प्रहार गरिरहेको छ ।

देशभर भएका विरोध प्रदर्शनहरुमध्ये मध्यपेरिसको विरोध प्रदर्शन सबैभन्दा खतरनाक रहेको बताइएको छ । यो प्रदर्शनमा सरकारी सशस्त्र फौज पनि पछाडि हट्नु परेको थियो साथै केही भ्यान तथा सवारी साधनहरुमा आगजनी पनि गरिएको थियो । यदि प्रदर्शनको यो स्थिति कायमै रहने हो भने इम्म्यानुअल म्याक्रोंको दिन गणना हुन थाल्ने पनि बताइएको छ ।

यो प्रदर्शनलाई फ्रान्सको इतिहासमा दशकौंपछिको डरलाग्दो र सशक्त प्रदर्शन भनिएको छ । यो आँकलन गरिएभन्दा बढि नै हिंसात्मक भएको भनी चिन्ता पनि व्यक्त गरिएको छ । देशका वुद्धिजीवीहरुले सरकारलाई दमनको मूर्खतापूर्ण नीति अख्तियार नगर्न र बेलैमा सचेत रहन विशेष आग्रह गरेका छन् । यसपछि राष्ट्रपति म्याक्रोंले देशका नाममा संबोधन गर्ने तयारी गरिरहेका छन् । प्रदर्शनकारीहरुमध्ये फ्रान्सेली सरकारले हालसम्म एकहजार जनालाई गिरफ्तार गरिसकेको छ ।

उता अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत् आफूले लिएको संरक्षणवादी नीति यसै कारणले उत्तम भएको भन्दै म्याक्रोको खिल्ली उडाउन थालेका छन् । यस अघि म्याक्रोंले ट्रम्पको संरक्षणवादी नीतिको धज्जी उडाउँदै उदारवादी नीतिको रक्षा र बचाउ गरेका थिए ।