देशव्यापी रुपमा आन्दोलनलाई संगठित गर्दैछौं

देशव्यापी रुपमा आन्दोलनलाई संगठित गर्दैछौं

देशमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु विकराल बनेर गएका छन् । जनताले विकल्प खोजिरहेका छन् । नेकपा (क्रान्तिकारी माओवादी) ले आफूलाई विकल्पका रुपमा कसरी तयार पारिरहेको छ ?

प्रश्न धेरै गम्भीर प्रकारको उठाउनु भएको छ । देशको स्थिति भयावह नै छ । देशमा वामपन्थी नाम गरेको पार्टी सरकारमा छ । यसले चुनावताका निकै रंगीचंगी सपनाहरु जनताका बीचमा बाँडेको छ । यी सपना र बाचाका विरुद्धमा सरकारले पाइला चालिरहेको छ । यसका कारण विभिन्न तह र तप्काका जनता आज निराश छन् र उनीहरुमा वितृष्णा पैदा हुँदै गएको छ । जनताका बीचमा यी कम्युनिष्ट भन्नेहरुले पनि केही गर्न सक्दा रहेनछन् भन्ने नकारात्मक सन्देश प्रवाह हुन थालेको छ ।

उनीहरुले कम्युनिष्टको नाममा कम्युनिष्टलाई नै बदनाम गर्ने काम गरिरेका छन् । हामीहरुले उनीहरु कम्युनिष्ट नै होइनन भनेर जनताका माझमा लगिरहेका छौं । उनीहरुले एकपछि अर्को गरी राष्ट्रियता, जनतन्त्र र जनजीविका समस्याहरु थप समस्यातर्फ धकेल्दै देश र जनतालाई घात गर्दै गइरहेका छन् । दलालीको प्रक्रियालाई तिब्रता दिएका छन् । यो स्थितिमा जनताले निकै असुरक्षाको महसुस गरिरहेका छन् । भ्रष्टाचार निकै मौलाएर जान थालेको छ । पहिलेदेखि चलिरहेको भ्रष्टाचार अहिले झनै संस्थागत भएर गएको छ ।
नारामात्र हेर्दा त उनीहरुले साँच्चै नै जनताका हुन् कि त भन्ने जस्ता भ्रम पनि दिएका छन् । नारामा निकै गुलिया बनाएकाछन्– ‘समृद्ध नेपाल सुखी नेपाली’ ।

तर व्यवहारमा यसको ठीकविपरीत काम गरिरहेका छन् । यस्तो अवस्थामा क्रान्तिकारी धार बोकेको हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी)ले नेपालमा यो सत्ता, यो वर्ग र यो संविधान रहेसम्म नेपाली जनताले नयाँ खालको अनुभूति गर्न सक्दैनन भनिरहेको छ । अहिले जनताले यिनीहरुले ठीकै भनेका रहेछन् भन्ने महसुस गरिरहेका छन् । त्यो आशालाई हाम्रो बुटबलमा बसिरहेको केन्द्रीय समितिले वैठकले सम्बोधन गर्ने गरी छलफल अघि बढाइरहेको छ । जनताका इच्छा, आकांक्षा र अभिलाषाहरु यस्ता छन् भनेर ठोसठोस कुराहरु उठाइएको छन् । यसको आधारमा अहिल्यै नै हाम्रो पार्टी सशक्त विकल्पका रुपमा अघि बढिहाल्ने छ भभन्ने त भन्न सकिदैन, तर हामी नै विकल्प भने हौं । यो पार्टीले पहलकदमी लिन्छ र लिनुपर्छ भन्नेमा पार्टीमा एकमत छ ।

जनताका माग र आवश्यकताबाट सरकार जसरी पछि हटेको छ, यस अवस्थामा जनताको वैकल्पिक शक्तिले जनतालाई विश्वस्त पार्ने खालका योनाहरु बन्दै छन् ?

हामीले यसका बारेमा राम्रो छलफल गरेका छौं । मुख्य रुपमा राष्ट्रियताको सवाल हाम्रा अगाडि ज्वलन्त बनेर आएको र राज्यले यसलाई पूरै आँखा चिम्लेको तथा भारतीय विस्तावादका अगाडि पूरै लम्पसार परेको अवस्था छ । यो ककुरा व्यवहारिक रुपमा जनताले नै अनुभूत गरिराखेका छन् । ठाउँ ठाउँबाट यसखाले आत्मसमर्र्पणवादी सरकारी रबैयाको विरोध गरिरहेका छन् । यति बेला क्रान्तिकारी पार्टीले यी जनताहरुलाई गोलबन्द गर्ने र देश तथा जनविरोधीहरुका बारेमा भण्डाफोर गर्ने गरिरहेको छ ।

क्रान्तिकारी माओवादीले आम जनसमुदायको बीचमा लगेका कार्यक्रमहरुलाई जनताले स्वीकार गरिरहेका छन् । जनताका आवाजहरुको अभिभावकत्व लिनुपर्छ र यी सबैलाई ठोस बनाएर अघि बढाउनु जरुरी पनि छ । हामीले सोचिरहेका छौं कि हाम्रो पार्टीको निर्णयले अहिलेका देश र जनताका समस्याहरुलाई कहीं न कहीं प्रतिनिधित्व गर्न सकोस । त्यति ठूला भीमकाय परिवर्तन नै ल्याउन नसक्ने भए पनि केही न केही जनताका आवाज संबोधन गर्ने जनतालाई वरिपरि गोलबन्द गर्ने र फराकिलो ढंगले जाने गरी सोचिरहेका छौं ।

हामीहरुले जनसंघर्षका, जनआन्दोलनका र वर्गसंघर्षका विविध स्वरुपहरुलाई जोडेर लैजानुपर्छ । देश र जनताका समस्याहरुलाई केन्द्र विन्दुमा राखेर जानु पर्दछ । देश असफलतातिर जाने र जनता निराशातिर जाने खतरालाई रोक्न सक्नुपर्छ । यसो गर्न सकिएन भने नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्तामाथि ठूलो दुर्दशा आइलाग्न सक्छ । साम्राज्यवादको हस्तक्षेपको दायरा बढ्दै जाने र तिनका नेपाली दलालहरुले नेपाली जनतामाथि उत्पीडन थोपरिरहने स्थितिको अन्त्य हुनु पर्छ । जनताले विद्रोह देखेका छन् ।

त्यसको नेतृत्व गर्नसक्ने एक सक्षम क्रान्तिकारी पार्टीको निर्माण प्रश्न आजको ज्वलन्त आवश्यकता बनेर आएको छ । यो हाम्रालागि सकारात्मक चुनौती हो । वर्तमान ओली सरकारमाथि देश र जनताका विरुद्धमा गरेका कामकार्यहरुले देखा परेको चुनौती नकारात्मक चुनौती हो । उनीहरुका विरुद्ध जनशक्ति आक्रामक हुँदै गइरहेको छ, हामीहरुको वरपर जनशक्ति केन्द्रित हुँदै आइरहेको छ । हामीले विनम्र भएर देश र जनताका समस्याहरु समाधान गर्नतिर लाग्नु पर्छ ।

हाल उनीहरुले प्रयोग गर्दै आएका नेपाली सीमा अतिक्रमित गलत नक्साहरु प्रयोगका विरुद्धमा कार्यक्रमहरुलाई देशव्यापी बनाएर लैजादै छौं । जनताले यसै विषयलाई लिएर केही गल्ती गरेको भनी आफूहरुको कमी कमजोरी पनि भन्न थालेका छन् । जनताको यो बुझाई निकै उच्चस्तरको श्रेष्ठ बुझाइ हो । अब त स्थिति हेर्दा विवद्रोह पार लगाउन कसै न कसैले नेतत्व गर्नुपर्ने जरुरी देखिएको छ । हामीले यसका लागि भरपर्दो वैकल्पिक शक्तिका रुपमा तयार पारिरहेका छौं ।

तपाईहरुले वर्गीय संघर्षका कुरा गर्दैगर्दा पछिल्ला कालखण्डमा धर्मलाई कभर बनाएर नेपालका निकै गतिविधिहरु भइरहेका छन् । यसले देशलाई धार्मिक युद्धतिर त लैजादैन ?

लामो समयदेखि एकातिर भारतीय विस्तारवाद र अर्कोतिर पश्चिमा साम्राज्यवादले नेपाललाई आआफ्ना चंगुलमा कसरी पारिरहने भनेर निरन्तर कसरत गरिरहेका छन् । चीनको पनि आफ्नै स्वार्थहरु रहेका छन् । यसमा उनीहरु धर्मका नाममा एकअर्कामा लडाइँ पनि गरिरहेका र शेयर पनि गरिरहेका देखिन्छन् । भारतले नेपालको समस्या पछिल्लोपटक चीनसँग राखेर हल गर्न खोजिरहेको देखिन्छ ।

जे होस्, उनीहरुले नेपाललाई एउटा भूरणनीतिक महत्वको क्षेत्र, कमजोर र दलाल मनोवृत्तिका शासकहरु, गरीबी र अभाव आदिलाई आफ्ना पक्षमा लिन चाहिरहेका देखिन्छन् । अहिले युपीएफले एउटा धार्मिक कार्यक्रम गरेर गयो । यसका पछाडी पनि उनीहरुका स्वार्थहरु रहेका छन् । यहाँको सरकार ४ पैसामा बिक्रि हुन्छ । यसले पनि यस्ता गतिविधिहरुलाई बढावा दिएको छ ।

पैसा फालिदिएपछि जे पनि गर्न दिने ओली–दाहाल मण्डली जो सत्तामा छ, यो मगन्ते मण्डलीका कारण पनि विदेशीहरु नेपालका आआफ्ना स्वार्थका कामहरुलाई अघि बढाइरहेका छन् । ओलीदाहाल मण्डलीका काम भनेको कम्युनिष्ट पार्टीलाई बदनाम गर्ने, देशका सीमाहरु बेच्ने, प्राकृतिक स्रोतसाधन अरुका हातमा पारिदिने र पैसा कुम्ल्याएर मोजमस्ती गर्ने रहेकाले पनि यो बाह्य हस्तक्षेप र तिनका गतिविधि बढ्न गएको हो । राष्टिय स्वाधीनतालाई यसले निकै कमजोर बनाएर लगिरहेको छ । यसले पनि जनतालाई निकै आक्रोशित बनाइरहेको छ ।

यी सारा समस्याहरुलाई हल गनका लागि क्रान्तिकारीहरुबीचमा एकता आवश्यक छ । के कसो गरिरहनु भएको छ ?

यी विषयहरुमा हामीले गंभीरतापूर्वक छलफल गर्दै आइरहेका छौं । यसका केही सकारात्मक पक्षहरु पनि छन् । जसलाई विचार, सिद्धान्त र राजनीतिका हिसाबले जोजो नजिक छौं, ती सबैका बीचमा वैचारिक स्तरमा छलफल चलाएका छौं । हेर्दा परिणाम त हात लागेको छैन, तर हामी निरन्तर मेहनतमा छौं । थाकिसकेका भने छैनौं । हामीहरुले क्रानितकारीहरुलाई एकजुट बनाउने र ध्रुवीकरण गर्ने कुराहरुलाई इमान्दारिताका साथ लिएका छौं र हामीले नै त्यसको नेतत्व गर्नु पर्छ भन्ने पक्षमा पनि छौं ।

जनसमुदायबाट पनि त्यस्तो अपेक्षा भएको छ र जनता चाहन्छन् यो कार्यभार यही पार्टीबाट पूरा होस् । यसले नै पहलकदमी लेओस् भन्ने गरिरहेका छन् । कुनै न कुनै रुपमा हामीले सहयोग पुर्याउने छौं पनि जनताले भनिरहेका छन् । त्यो अपेक्षालाई पूरा गर्न हाम्रो पार्टी टिमबद्ध भएर जान जरुरी छ । हामीले यसै उचाइमा छलफल गरिरहेका छौं र यसलाई संश्लेषण गर्ने तयारीमा पनि छौं ।

यो हामीहरुका लागि सकारात्मक चुनौती हो । यो हामीले प्रतिबद्धताका साथ अघि बढाउनु पर्छ । यो हाम्रालागि अवसर पनि हो । भारतले सीमा मिचिराखेको छ, महंगी बढिराखेको छ, हत्या र बलात्कारका घटनाले सीमा नाघेको छ, जनतामा भय र त्रासदीले घर गरेको छ, यस्तो अवस्थामा हामी जनताका साथ अघि बढ्नै पर्छ । जनताले निकास खोजिरहेका छन् ।

हाल विदेशमा रहेका नेपालीहरु पनि नेपालमा केही न केही परिवर्तन होस् भन्ने चाहन्छन् । म अमेरिकाको भ्रमण गरेर भर्खरै आए । अमेरिकामा रहँदा केही ठाउँहरुमा नेपालीहरुसँग अन्तरक्रिया, भेटघाट र छलफल पनि भयो । उनीहरुले भन्ने गरेका छन्– नेपालमा वाम पार्टीको सरकार आयो, अब त केही हुने छ, तर केही पनि भएन । अब तपाईहरुले केही न केही त गर्नुपर्छ । नेपालमा एउटा ठूलो विद्रोहको खाँचो छ । त्यो विद्रोहको नेतृत्व तपाईहरुले गरिदिए हुने थियो भन्ने अपेक्षा पनि उहाँहरुको छ । राजनीति र सुसंस्कृत चेत भएको नेतृत्व हाल क्रान्तिकारी माओवादीमा मात्र छ भनेर ती छलफलहरुमा उठेका पनि थिए ।

तर यी सबै तयारी आजको भोलि त हुँदैनन । यसका लागि केही तयारी त चाहिन्छ नै । यो पार्टी लामो अनुभवले खारिएको छ । क्रान्तिलाई धोखा दिने खलपात्रका रुपमा प्रचण्डको नाम पनि लिएका थिए केही अन्तरक्रियाहरुमा । तर त्यहाँ रहेका जनताको पनि गहिरो घृणा छ प्रचण्डप्रति । उनले दिएको धोखा, उनले गरेका गद्दारी र हाल उनले निर्वाह गरिरहेको निम्नकोटीको भूमिका बारेमा पनि विदेशमा बस्ने नेपालीहरुको गहिरो क्षोभ छ ।

उहाँहरुको भनाइ छ ‘तपाईहरुले बेलैमा प्रचण्डजस्ता देश तथा जनघातीलाई छाड्नु भएको रहेछ भनी कुरा पनि राखेका थिए । विम्रताका साथ हामीले यो सल्लाहलाई आत्मसात् गर्नुपर्छ र हाम्रा मोर्चाहरुलाई फराकिलो बनाएर जानु पर्छ । हामीले संघर्षका तयारीका बाँकी अवयवहरुलाई पनि पूरा गर्दै जानु पर्छ ।

क्रान्तिकारी माओवादीले नक्कली नक्साहरु प्रयोगका विरुद्ध अनुगमन गरिरहेको छ । यसका बारेका अरु केही थप कामहरु गर्ने सोच्नु भएको छ ?

यसलाई मुख्य आन्दोलनसँग जाडेर लैजानु पर्छ । सापेक्षतामा ससाना संघर्षहरुलाई सिर्जनात्मक रुपले अगाडि बढाउनु पर्छ । काठमाडौंमा सफल भएका आन्दोलनहरु अन्यत्र विस्तार गरी देशव्यापी बनाउनु पर्छ । अन्यत्रका आन्दोलनलाई पनि काठमाडौंले सिक्नु पर्छ । केन्द्रीय तह र स्थानीय तहको आन्दोलनहरुको सम्बन्ध र सन्तुलन मिलाउनु पर्छ । संघर्ष तल र माथि दुवैतिरबाट चलाउन सक्नु पर्छ । यी संघर्र्षका कार्यक्रमहरुलाई उत्कर्षतिर पुर्याउन फाल्गनु १, चैत्र २४ र मे दिवसलाई लक्षित गरिएको छ । विभिन्न तहमा उठेका आन्दोलनहरुलाई समग्रतामा जोड्ने प्रयास गर्नुपर्छ । सबै आन्दोलनहरुलाई जिम्मेवारीपूर्वक नेतृत्व गर्न सक्नुपर्र्छ । अहिले हाम्रा अगाडि रहेका चुनौतीलाई सम्भावनाका रुपमा देख्नुपर्छ । त्यसका लागि योजनाबद्ध संघर्ष उठान गरेर लैजानु पर्छ । यसका लागि राम्रो खालको बहस र तदनुरुपको केन्द्रीकरणको जरुरी छ ।

त्यसो भए यो बैठक निरन्तरतामा क्रमभंगको बैठक हुन्छ ?

साना साना क्रमभंग त हामीले हरेक बैठक पछाडि गर्दै आएका पनि छौं । यो बैठकले विगतका बैठकहरुको तुलनामा अलि माथिको क्रमभंग भने गर्छ । हामीले त्यही उचाइका साथ बैठकमा छलफललाई केन्द्रित गरेका छौं । त्यो उचाइ हासिल नगर्ने हो भने हामीले अहिलेका चुनौतीको सामना गर्न सक्दैनौं । अहिलेको परिस्थितिमा हामी चुप लागेर बस्ने, केही नगर्ने हो भने त हाम्रो पार्टीको औचित्यमाथि नै प्रश्न चिन्ह खडा हुन्छ । यसलाई हाम्रो केन्द्रीय समितिले गहिरो गरी महसुस गरेको छ । त्यसकारण हामीले क्रमभंगकै बैठक बनाउने कोशिस गरिरहेका छौं ।

अन्तमा, विगत जनयुद्ध, जनआन्दोलनका सहिद, वेपत्ता परिवार, घाइते, आमूल परिवर्तनका पक्षधर जनताले क्रान्तिकारी माओवादीको यो बैठकलाई एउटा आशाको नजरले नजिकबाट हेरिरहेका छन् । ती सबैमा के आव्हान तथा अपील गर्न चाहनुहुन्छ ?

यो पार्टी सर्वहरावर्ग, उत्पीडित वर्ग, जाति तथा समुदायको प्रतिनिधि र नेतृत्वदायी पार्टी हो । यस हिसाबले जनताको अपेक्षा भनेको हाम्रो अपेक्षा हो । त्यसलाई ठीक ढंगले आत्मसात गर्नुपर्छ । सहिद, वेपत्ता, घाइते परिवारलाई संगठित गर्ने, जनयुद्धका सहिदहरुलाई राज्यलाई सहिद घोषणा गरेको छैन, त्यसका लागि दबाबमूलक संघर्ष गर्ने कार्यलाई अगाडि बढाउन आवश्यक छ । जनयुद्धका महान सहिदहरुलाई राज्यले सहिदको दर्जा दिनुपर्छ । हामीले त्यसको लागि आन्दोलनको विकल्प देखेका छैनौं । साम्राज्यवादीहरुको दलालीमा टिकेका सत्ताधारीहरु खासगरी डबल नेकपाका नेताहरु साम्राज्यवादको दलाल बनेका छन् । अब सहिदहरुलाई न्याय दिलाउनका लागि सहिद वेपत्ता परिवारहरु आन्दोलित बन्नैपर्छ ।

यसका अतिरिक्त राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई लिएर अब हामीले देशव्यापी रुपमा आन्दोलनलाई संगठित गर्दैछौं । वर्तमान दलाल राज्यव्यवस्थाको वैकल्पिक शक्तिको रुपमा हामी अगाडि आउँदैछौं । आमूल परिवर्तनको यो आन्दोलनमा सरिक हुन, साथ दिन हामी आम जनसमुदाय, जनयुद्ध जनआन्दोलनका सहिद तथा वेपत्ता परिवार, घाइतेलगायत आम क्रान्तिकारी पंक्तिलाई हार्दिक आव्हान गर्न चाहन्छौं ।