फेरि पनि राष्ट्रियताका कुरा

प्रकाशित मिति : २०७५ मंसिर १९

काठमाडौं । नेपालको दश हजार वर्ग किलोमिटर जमिन भारतले उसको सीमाभित्र पारेको खबर नेपालीका कानमा परिरहेको छ । राष्ट्रवादी नेपालीहरुका लागि यो समाचार आफैमा दुखद् र असैह्य दुवै हो । सधैभरि भनियो नेपाल कसैको पनि दासतामा बाँधिएन । कसैको उपनिवेशमुनि पिल्सिनु परेन । त्यो इतिहास नेपालको देखिदैन र सर्सर्ती हेर्दा त्यसो पनि पाइँदैन ।

तर धेरै विश्लेषकहरुको भनाइ के छ भने नेपाल कसैको अधीनमा पनि रहेन र स्वतन्त्र पनि रहेन । यसको मर्म निकै गहिरो छ । यसले नेपाली भूगोल कसैको बुटमुनि नकुल्चिए पनि राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृृतिक तथा मनोवैज्ञानिक रुपमा सधैं भारतको भारतीयहरुको प्रभावमुनि रहिरह्यो । शायद नेपालीहरुको राष्ट्रियताबारे केही खोटपूर्ण सोंच र बुझाइहरु रहेका छन् ।

पहिलो त, देशभक्त नेपालीहरुले राष्ट्रियता भनेको विशुद्ध माटो हो भन्ने कुरा मात्र बुझे । उनीहरुले राष्ट्रियताका कुरा गर्दा आफ्नो घर आँगन र खेतबारी हुँदै बढी भनेको सीमा इलाकाहरु र दशगजा क्षेत्रहरु मात्र हेरे । यो एउटा कम्प्युटरको हार्डवेयर जस्तो मात्र रह्यो । यसका सफ्टवेयरहरुका बारेमा या त देशभक्त नेपालीहरुले भेउ नै पाएनन्, या त उनीहरुको यसका बारेमा दिमागले नै सोच्न सकेन । यो अहिले आएर कमजोरीका रुपमा अभिव्यक्त हुन गयो । यसले गर्दा अहिले नेपालीहरुको माटो र सीमानाको राष्ट्रियता अतिक्रमित हुँदै गयो । त्यसलाई जोगाउने सफ्टवेयर विज्ञान, प्रविधि र राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा मनोवैज्ञानिक तयारीहरु पूरा भएनन् । उपनिवेशकालमा बचेको नेपाल आज नवऔपनिवेशिक कालमा भारतको नवउपनिवेशको अवस्थामा रहन पुगेको छ । विदेशीको अतिक्रमण चौतर्फी छ ।

माथि उठाइएका प्रश्नहरुमध्ये सबैभन्दा डरलाग्दो प्रश्न भनेको राजनीतिक नै हो । यो प्रश्न आन्तरिक प्रश्न पनि हो । किनकि नेपालले आफ्नो आनतरिक राष्ट्रियता मजबुत बनाउन सकेन । असफल भयो । यसको पछाडिको कारण भनेको विभिन्न जाति, समुदाय, भाषाभाषी, वर्ग क्षेत्र, लिंग र समुदायका बीचमा आन्तरिक राष्ट्रियता बलियो हुन सकेन । हामी नेपालीहरु विभाजित अवस्थामा रहयौं । बाँडिएर रह्यौं र फुटेर रहयौं । आन्तरिक रुपमा नेपालको राष्ट्रियता मजबुत हुन नकेपछि ‘भाइ फुटे गवाँर लुटे’को अवस्था सिर्जना हुन गयो । एकातिर सैन्य शक्तिका हिसावले कमजोर रहनु, अर्कातिर शासकहरु सधैं भारतपरस्त दलाल र चाकरीवाजहरुको बन्न जानु नेपाली राष्ट्रियताका अरु कमजोर पक्षहरु रहन गए । यसका साथै राष्ट्रिय शक्तिहरु सधैं किनाराका साक्षी र सीमान्तकृत भएर रहन पुग्नु यसका अन्य कारणहरु पनि भए ।

अहिले यिनै थिचिएका, मिचिएका र पहिचानका लागि लडेका जातजाति, भाषाभाषी, वर्ग, क्षेत्र, लिंग र समुदायहरुका राज्यहरु दिइएका छैनन् । उनीहरुलाई सबल बनाइएको छैन । मन, बचन र कमका हिसाबले नेपालीहरु फेरि पनि फुटाइएका छन् । आपसी विद्वेष पैदा भएको छ । ठीक यसैबेला भारतीय स्वार्थमा सत्तासिन बनाइएको नेकपाको पालामा ईपीजी गठन गरेर यसमार्फत् नेपालको कालापानीदेखि पूर्वसम्म अतिक्रमित १० हजार वर्ग किलोमिटर भूभाग नयाँ सम्झौतासहित भारतलाई बुझाइएको खुल्न आएको छ । यसवापत् इपीजीका एक सदस्य निलाम्बर आचार्य भारतीय राजदूतका रुपमा पुरस्कृत पनि भइसकेका छन् । भेषबहादुर थापा लगायतका इपीजीका अन्य सदस्यहरु पनि क्रमशः पुरस्कृत हुने लाइनमा बसेका छन् ।

यी सबै आन्तरिक राष्ट्रियता कमजोर हुनुका परिणति बन्न गएका छन् ।