काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्यमा कमी आएपछि नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । निगमले सोमबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।
भारतीय आयल निगम (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार मुल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । नयाँ मुल्य लागू भएपछि प्रतिलिटर पेट्रोलको मुल्य १ सय १२ रुपैयाँ पुगेको छ भने डिजेल र मटीतेलको मुल्य प्रतिलिटर ९९ रुपैयाँ पर्नेछ । निगमका अनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।
मुल्य समायोजनपछि निगमलाई पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ ४४ पैसा र डिजेलमा ५ रुपैयाँ ८१ पैसा नाफा छ । तर, ग्यासमा भने निगमलाई प्रतिसिलिन्डरमा दुई सय ८४ रुपैयाँ घाटा छ । अन्तर्राष्ट्रिय बजारमा मुल्य घटेकाले १५ दिनमा ५६ करोड ५८ नाफा रहेको निगमले जानकारी दिएको छ । केपी ओली नेतृत्वमा सरकार गठन भएको ९ महिनापछि पहिलोपटक इन्धनको मूल्य घटेको हो ।