काठमाडौं । नेपाली विमानलाई आफ्नो भुमिमा उड्न प्रतिबन्ध लगाउने गरी कालोसुचीमा राखेको युरोपियन युनियन (ईयु)ले त्यसलाई पुनः निरन्तरता दिएको छ ।
(ईयु)को हवाई क्षेत्रसँग सम्बन्धित ६ र ६ महिनामा हुने बैठकले कालोसुचीमा राख्ने निर्णयलाई निरन्तरता दिएको हो । ईयुले सन् २०१३ देखि नेपालको हवाई सुरक्षा क्षेत्र कमजोर रहेको भन्दै नेपाली विमानलाई युरोपेली भुमिमा उडाउन प्रतिबन्ध लगाउँदै आएको छ ।
नेपालका तर्फबाट पटक—पटक प्रयास भए पनि सुचीबाट हट्न सकेको छैन । ‘केही प्रगति भए पनि यस पटकसमेत हामी कालोसूचीबाट हट्न सक्दैनौं भन्ने अपेक्षितै थियो,’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने ।
नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) मापदण्ड तथा प्रक्रिया पूरा नगरेको र उडान सुरक्षा पालनासम्बन्धी स्थापित मापदण्ड बाहिरको काम गरेको भन्दै ईयूले कालोसूचीमा राखेको हो ।
नागरिक उड्डयन प्राधिकरण सेवा प्रदायक र अनुगमनकारी दुवै काम गर्ने एउटै निकाय भएकाले ईयूले पछिल्लो समय कालोसूचीबाट हटाउन नमानेको हो ।