‘ए’ डिभिजन लिगः पुलिसद्वारा एनआरटी ३–०ले पराजित

प्रकाशित मिति : २०७५ मंसिर १४

काठमाडौं । पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबसँग न्युरोड टिम एनआरटी ३–० ले पराजित भएको छ । शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा पुलिसलाई सहज जित दिलाउन निरकुमार राईले २ तथा अभिषेक रिजालले १ गोल गरे ।

खेलको ४१ औं मिनेटमा निरकुमारको गोलमा पुलिसले सुरुवाती अग्रता लिएको थियो । उनले अजित भण्डारीको पासमा हेड गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको पुलिसले दोस्रो हाफमा थप दुई गोल गर्यो । ६६ औं मिनेटमा अभिषेकले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे ।

८२ औं मिनेटमा निरकुमारले व्यक्तिगत दोस्रो गोल गर्दा पुलिसले खेलमा ३–० को अग्रता लियो । खेलको अन्तिम समयमा वान भर्सेस वानमा गोल गर्न नसक्दा निरकुमार ह्याट्रिक गर्नबाट चुकेका थिए । २ गोल गरेका पुलिसका निरकुमार राई खेलको म्यान अफ दि म्याच घोषित भए ।

जितसँगै ५ खेलबाट १० अंक जोड्दै पुलिस तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित एनआरटीको यो चौथो हार हो । लिगको पुछारमा रहेको एनआरटीको १ अंक छ ।