टि–ट्वान्टी क्रिकेट बरियताको ४१ औं स्थानमा कप्तान पारस खड्का

टि–ट्वान्टी क्रिकेट बरियताको ४१ औं स्थानमा कप्तान पारस खड्का

काठमाडौं, कात्तिक २७ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जारी गरेको टि–ट्वान्टी क्रिकेटको ब्याटिङ र अलराउन्डर विधाको बरियतामा नेपालका कप्तान पारस खड्का पर्न सफल भएका छन् ।

कप्तान खड्का जम्मा तीन वटा विधामध्ये ब्याटिङ र अलराउन्डरको बरियतामा समावेश हुन सफल भएका हुन् । उनी उनी अलराउन्डरतर्फको बरियतामा ४१ औं स्थानमा रहेका छन् । कप्तान खड्काले विश्वचर्चित खेलाडी इंग्ल्यान्डका जाइ रुट, बेन स्टोक्स, दक्षिण अफ्रिकाका क्रिस मोरिस, पाकिस्तानका हसन अली, इमाद वासिमलाई पछि पारेका छन् ।

त्यस्तै, कप्तान पारस ब्याटिङमा ९३औं स्थानमा उक्लिएका छन् । पारसले वेष्ट इन्डिजका एन्ड्रे रुसेल, कैरोन पोलार्ड, अष्ट्रेलियाका क्रिस लिन जस्ता खेलाडीलाई पछि पारेका छन् । त्यस्तै, नेपालको युवा बलर सोमपाल कामी पनि टि–ट्वान्टी क्रिकेटको दुबै विधामा परेका छन् । सोमपाल बलिङतर्फ ९४ औं स्थानमा छन् भने अलराउन्डरमा ६४ औं स्थानमा रहेका छन् । बलिङतर्फ भने नेपालका बसन्त रेग्मी पनि पर्न सफल भएका छन् । बसन्त ७५ औं स्थानमा छन् ।

टि–ट्वान्टी क्रिकेटको ब्याटिङ बरियताको शीर्ष स्थानमा भने पाकिस्तानका बाबर अजाम रहेका छन् । त्यस्तै, बलिङतर्फ अफगानिस्तानका युवा बलर राशिद खान रहदा अलराउन्डरमा अष्ट्रेलियाका ग्लेन म्याक्श्वेल रहेका छन् ।