काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले लिएको संरक्षणवादी नीतिमाथि आक्रमण गर्दै जर्मन र फ्रान्सले त्यो केवल संकुचित राष्ट्रवाद भएको बताएका छन् । खुला र एक आपसमा हातेमालो गरेर अघि बढिरहेको विश्वमा त्यस्तोखाले राष्ट्रवादले कुनै पनि अर्थ नराख्ने ती देशहरुको भनाइ छ ।
आज भन्दा ठीक एक शय वर्षअघि सन् १९१८ मा भएको प्रथम विश्वयुद्धको अन्त्य तथा विश्व शान्ति स्थापनाको अवसर पारेर फ्रान्समा आयोजना गरिएको सतवार्षिकी कार्यक्रममा फ्रान्सका राष्ट्रपति इम्म्यानुअल म्याक्रों र जर्मन चान्सलर एन्जेला मेर्केलले ट्रम्पको संकुचित राष्ट्रवादको खुलेर आलोचना गरेका हुन् । म्याक्रों र मेर्केलले निकै जोड दिंदै त्यस्तो खाले राष्ट्रवाद अस्वीकार गर्न विश्व समुदायलाई सार्वजनिक अपिल पनि गरेका छन् ।
म्याक्रों र मेर्केलका अनुसार यस्तैखाले राष्ट्रवादको नाममा प्रथम तथा द्वितीय विश्व युद्ध भएको र अहिलेको स्थिति पनि सन् १९१८ पूर्वकाको अवस्थामा पुगेको जस्तो बताएका छन् । उनीहरुले विश्व शान्तिलाई कम आँक्न नसकिने भन्दै शक्ति राष्ट्रहरुमा पल्हाएको यो राष्ट्रवादले दुर्घटना निम्त्याउन सक्ने बताएका छन् । यस्ता राष्ट्रहरुले उठाएका कुराहरुले अरु राष्ट्रहरुलाई समस्यामा पारेको समेत् बताएका छन् ।
तर संकुचित राष्ट्रवादको बारेमा अहिलेसम्म कुनै पनि चोटिलो प्रतिक्रिया कुनै देशका नेताहरुबाट आएको छैन ।