
श्रीलंकामा उत्पन्न संकटको पछाडी भारतीय स्वार्थ रहेको खुलासा हुन आएको छ । कार्यकारी हैसियत प्राप्त राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्री रनिलविक्रमा सिंघेलाई बर्खास्त गरी आफ्ना प्रतिद्वन्द्वी महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलंकामा यो राजनीतिक संकट चुलिन पुगेको हो ।
बर्खास्तमा परेपछि आफूले प्रधानमन्त्रीको कार्यालय नछाडेको र संसदमा बहुमतको सामना गर्ने आशय प्रकट गरेपछि राष्ट्रपतिले संसद पनि स्थगन गरिदिएका छन् । अहिले ‘डिफंक्ट’ अवस्थामा रहेको श्रीलंकाको सरकार र संसद निश्चित समयपछि खुलेमा बर्खास्त गरिएको भनिएका प्रधानमन्त्री सिंघे विश्वासको मत लिने कडा अडानबाट हलचल गरेका छैनन् ।
संसदका सभामुख जयसूर्याले रनिल विक्रमासिंघे नै देशका प्रधानमन्त्री रहेका र उनले संसदमा आफ्नो मत लिएर बहुमतको विश्वास देखाउने भनेपछि राष्ट्रपति र सभामुख दुई अलग धारमा उभिन पुगेका छन् । यसले देशमा निम्त्याइएको राजनीतिक संकटलाई अझ गहिरो बनाउँदै लगिरहेको छ ।
श्रीलंकाको एउटा बन्दरगाह भारतलाई लिजमा दिने भन्ने कुरामा राष्ट्रपति र प्रधानमन्त्रीबीच तनाव उत्पन्न हुँदै गएको थियो । यो विवादले संसदमा प्रवेश पाउनु अघि नै राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री सिंघेलाई बर्खास्त गर्ने काम गरेका थिए । उनको बर्खास्तगी अघि प्रम सिंघेले भारतीय जासुसी संस्था ‘रअ’ले आफ्नो हत्या गर्ने योजना बनाएको भन्दै श्रीलंकामा व्यापक प्रचार गरेका थिए । तर त्यसको केही दिनपछि सिंघे आफै भारत भ्रमण गरी स्वदेश फिरेका थिए । यसको लगत्तै राष्ट्रपति सिरिसेनाद्वारा उनी बर्खास्तमा परेका थिए ।
थप कुरा खुल्न बाँकी नै छ । तर भारतीय चासो र खेलका कारण श्रीलंकामा आजको यो राजनीतिक संकट उत्पन्न भएको कुरामा कसैको विमति रहने ठाउँ भने छैन ।






























