ब्राजिलमा दक्षिणपन्थीको जीत : बोल्सोनारो विजयी

ब्राजिलमा दक्षिणपन्थीको जीत : बोल्सोनारो विजयी

दक्षिण अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिलमा दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनमा दक्षिणपन्थी नेता जैर बोल्सोनारोले विजय हासिल गरेपछि राजनीतिक रुपमा ब्राजिल वाम तथा दक्षिणपन्थी दुई प्रतिद्वन्दी धारमा विभाजित हुन पुगेको छ । पहिलो चरणको निर्वाचनमा कसैको पनि वहुमत आउन नसकेपछि दक्षिणपन्थी नेता जैर बोल्सोनारो र वामपन्थी नेता फर्नान्डो हड्डाडका बीचमा दोस्रो चरणको निर्वाचन भएको थियो ।

पछिल्लो निर्वाचनमा बोल्सोनारोले ५५ प्रतिशत र हड्डाडले ४५ प्रतशत मत प्राप्त गरेका छन् । निर्वाचन मत प्राप्त नतिजा अनुसार बोल्सोनारो स्पष्ट बहुमतका साथ विजय हुन पुगेका छन् । सत्तामा रहेको वामपन्थीको हार र दक्षिणपन्थीको जीतले ब्राजिलमा धेरै प्रश्नहरु जन्माएको छ । संसदीय व्यवस्था मार्फत् नै समाजवादको निर्माण गर्ने भनेर केही समयदेखि सत्ता सम्हाल्दै आएका वामपन्थीहरुलाई त्यहाँका जनताले पत्याएको देखिएन । जनताको भोट मागेर समाजवादको निर्माण गरिने भन्ने वर्ग केवल निम्न पुँजीपति वर्गमात्र भएको र त्यो मजदुर वर्गसम्म पनि नभएको बहस ब्राजिलियन जनतामा प्रारम्भ भएको छ ।

निर्वाचनका बखत वामपन्थी उम्मेदवार हड्डाडले यदि दक्षिणपन्थीहरुले विजय हासिल गरेमा ब्राजिल ध्वस्त हुने र दक्षिणपन्थी नेता बोल्सोनारोले यदि वामपन्थीले जितेमा ब्राजिल भिखमंगामा परिणत हुने दावा गर्दै आएका थिए । आश्चर्यको कुरा त के पनि रहेको छ भने वामपन्थीहरुले शासन गर्दै आएको राज्यमा दक्षिणपन्थीहरुको जीत भएको छ, त्यो पनि दक्षिणपन्थी नेता बोल्सोनारोले नवसम्भ्रान्त वाम भ्रस्टाचारीहरुमाथि कार्वाही गरिने र ब्राजिलको आर्थिक उन्नति गरिने भन्ने नारा दिएर । बोल्सोनारोले दिएका यी नाराहरु दक्षिणपन्थीहरुको तर्फकाट जनताले अपेक्षा गरेका नाराहरु होइनन् । भ्रस्टाचारको अन्त्य, सुशासन, दीगो विकास, शान्ति र समृद्धि त वास्तवमा वामपन्थी नाराहरु हुन् ।

शायद नेपालको वर्तमान नेकपाको सरकार र यसले दिएका नाराहरु जस्तै नारा एकातिर र व्यवहारमा वाम नवसंभ्रान्तको उदय र संस्थागत भ्रस्टाचार, माफियाकरण, दलाली र विचौलियाकरण अभूतपूर्व रुपमा भएर नै होला ।