ओली सरकारको सामन्तवादी चेहरा अन्त्यको आवश्यकता

ओली सरकारको सामन्तवादी चेहरा अन्त्यको आवश्यकता

२०६२/०६३को जनआन्दोलन, दशवर्षे माओवादी जनयुद्ध, विभिन्न जनजाति आन्दोलन, मधेस आन्दोलनआदिका दौरानमा पनि समय समयमा बाहिर आएको नेकपा (एमाले) भित्रको ओली प्रवृत्तिको अहिलेको गणतन्त्र नेपालमा फेरि पुनर्जन्म भएको छ । २०६२/०६३को जनआन्दोलनका दौरानमा उनले व्यक्त गरेका गणतन्त्र विरोधी, धर्म निरपेक्षता विरोधी, संघीयता विरोधी अभिव्यक्तिहरु जे वास्तवमा सामन्तवादी चिन्तन र प्रवृत्तिका धरोहर हुन, अहिले नेपालको संविधान २०७२ले स्थापित गर्न खोजेको दिशानिर्देशका विरुद्ध व्यवहारद्वारा निश्चित पार्ने काम उनी सरकारको नेतृत्व, त्यो पनि “दुईतिहाई जनमत” मार्फत् गर्न थालेका छन् । गणतन्त्रमा उनले गरिरहेका सबै व्यवहारहरु राजतन्त्रको झझल्को आउने गरी गर्न थालेका छन् । धर्म निरपेक्षताको त उनले खिल्ली नै उडाइदिएका छन् ।

परम्परागत हिन्दु धर्म नेपालको राजतन्त्रसित जोडिएको सवाल हो । ओली एउटा व्यक्ति नभई नेपालका सरकारका कार्यकारीणी प्रमुख हुन । धर्म निरपेक्षताअनुसार सरकारका कार्यकारीणी प्रमुखको नाताले उनको जिम्मेवारी सरकारलाई कुनै पनि एउटा निश्चित धर्मको संरक्षकका रुपमा स्थापित गर्ने होइन । नेपालको राजतन्त्रले तात्कालीन नेपाल अधिराज्यको संविधानले व्याख्या गरे अनुसार उनी हिन्दु राजाका रुपमा जे गर्दथे त्यो उनकालागि ठिक थियो । उनले राजतन्त्रको नाममा त्यसो गरेको नेपाली जनतालाई मनपरेन र त नेपालको राजतन्त्रको अन्त्य गरेर २०६२–०६३को जनआन्दोलनले नेपालमा राजतनत्रको अन्त्य र गणतन्त्र स्थापना गर्यो । तर गणतन्त्रको स्थापनापछि भएका सरकारहरुले नेपालको संविधान २०७२ ले स्थापित गर्न खोजेको दिशानिर्देश विपरीत विगतमा हिन्दुवादी राजतन्त्रले गरेका हरेक कार्यहरु गणतन्त्र नेपालका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले गर्दैछन् ।

नेपालमा विगतमा रहेको एक जना राजा, उनका परिवार र उनका भाइभारदारहरुले जे गर्दथे अहिले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले मात्रै नभई प्रदेशका मुख्य मन्त्री र गाउपालिकासम्मका अध्यक्षले गर्दैछन् । विगतमा राजदरवार र सिंहदरवारमा रहेको सामन्तवादको दवदवा अहिले गाउँसम्म संस्थागत हुँदै गएको छ । गणतन्त्रपछि सामन्तवाद झन मौलाएर गएको छ । २०७५ को विजया दशमीका दिनको टीका लगाउने नेपालीको परम्परालाई राष्ट्रपति र प्रधानमन्त्रीले झन सामन्तीकरण गर्न थालेको पाइयो । विगतमा राजाले दरवारबाट टिका थाप्ने समयदिएर सरकारका मन्त्री, सरकारका कर्मचारी तथा सुरक्षा निकायका प्रमुखहरु र आम जनसाधारणलाई राजाले टिका दिंदा जे जस्तो प्रचलन थियो हुबहु अहिलेका राष्ट्रपतिले कायम गरिन ।

यसमा अझ थप नयाँ ओलीले के गरे भने कहिल्यै नगरिएको प्रधानमन्त्रीले पनि टीका थाप्ने समयदिएर सरकारका मन्त्री, सरकारका कर्मचारी तथा सुरक्षा निकायका प्रमुखहरु र आम जनसाधारणलाई राजाले जस्तै बालुवाटारमा टिका लगाइदिए । यसो गरेर ओलीको लोकतन्त्र भित्रका सामन्तवादी चेहराहरु अहिले उद्घाटित भएको छ । नेपालको राजतन्त्र तत्कालिन संविधानले घोषणा गरेअनुसार चलेको अनुभूति थियो । तर ओली सरकारले त नेपालको सविधान २०७२लाई नै एउटा कागजी खोस्टा बनाइदिएको छ । राजतन्त्र भनेको सामन्तवादको प्रतिीधिमूलक संस्था हो, त्यसैले उसको काम सामन्तवादका मूल्य मान्यतालाई संरक्षण गर्ने, तिनको कार्यान्वयन गर्ने हो तर ओली आफूलाई गणतन्त्रको प्रधानमन्त्री भन्ने, धर्म निरपेक्षताको संविधानको कार्यान्वयन गर्ने जिम्मेवारी लिने तर व्यवहारमा आफूलाई नेपालको राजाको रुपमा स्थापित गर्नेखालका काम र व्यवहार गर्ने ? यो कस्तो गणतन्त्र र धर्मनिरपेक्षता हो ओलीको र भण्डारीको ?

नेपाली जनता त अहिले सिंहदरवारमा र राष्ट्रपति भवनमा नेपाली जनताका छोराछोरी नभई राजामहाराजा र रानी बडामहारानी देख्दै छन् । हो उनीहरुलाई त्यसो गर्ने अधिकार त्यस बेला हुन्छ, जब उनीहरुले नेपालको संविधान २०७२ लाई खारेजगरी नेपाल अधिराज्यको संविधान निर्माण गरेर त्यसमा दुईतिहाई मत ल्याउनु पर्ने हो । के त्यसो गर्ने हिममत राख्छन् ? ओली र भण्डारीको काम विगतमा राजाले गरेको कामको निरन्तरता गर्ने भनेर नेपाली जनताले उनीहरुलाई त्यहाँ पु¥याउका पटक्कै होइन्, फेरि उनीहरुत नेपाल कम्युनिष्ट पार्टीका सदस्यहरु हुन, अनि त्यो पार्टीले के को लागि आफूलाई नेपाल कम्युनिस्ट पार्टी भन्ने गर्दछ, जसले आफ्नै पार्टी सदस्यहरुले नेपालमा सामन्तवादको पुनस्र्थापनागर्ने खालका व्यवहार क्रियाकलाप गर्दा पनि उनीहरुसित एउटासम्म प्रश्न सोध्न सक्दैन्, बरु त्यसका नेताहरु र कार्यकर्ताहरुले उनीहरुका अगाडि विगतमा राजाका अगाडि जस्तै भूइँमा घुडा टेकेर दुवै हात थापी टीका ग्रहण गरिरहेका छन् । नेपालको प्रशासनतन्त्र, प्रहरी, सेना र नेपालको न्यायालयत विगतमा राजासित उनको छत्रछायाँ र जयजयकारमा घुडा टेक्न र उनका अगाडि नाच्न, लम्पसार पर्न अभयस्त थिए र उनका लागि त्यो एउटा सहज हुन सक्ला र अहिले पनि सहजरुपमा गरिहेका छन् ।

तर यी सबैका विरुद्ध परिवर्तनका लागि सहीदहरुको रगत, उनीहरुको लामो त्याग, तपस्या, बलिदानको जगमा सरकारमा पुगेका र सामन्तको अन्त्यगरी देशमा उनकै शब्दमा पुँजीवाद हुँदै समाजवादको मार्गतर्फ लाग्नेहरुको यो कन्त विजोग अहिले हामी देख्न वाध्य भएका छौ । ओलीले अहिले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको मर्म र मूल्यमान्यतालाई जसरी खुमच्याएर जसरी गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको लागि बनेको नेपालको संविधान २०७२ को विरुद्ध लागिरहेका छन् । र नेपालमा सामन्तवादको अन्त्य नभई यसको सुदृढीकरणमा ओलीका यी अनगिन्ति चेहराहरु राष्ट्रपति, उपराष्ट्रपति र अहिले उनका मन्त्रीहरु, सांसदहरु र सिंगो प्रहरी प्रशासन, सेना, न्ययालय आदिमार्फत अभिव्यक्त भइरहेका छन् । जसमा धर्म निरपेक्षता र संघीयताको मर्म र मूल्यमान्यता विपरीतको कार्यान्वयन र देशमा गणतन्त्र नभई ओलीवंशको उत्पत्तिको इतिहास लेख्ने अभियानमा उनका व्यावहारले पुस्टि गरिरहेका छन् ।यसो गरेर यिनीहरुले नेपालको संविधान २०७२लाई एउटा कागजी खोष्टो बनाएका छन् ।

त्यसैले यो अवस्थाबाट देशलाई मुक्त गर्न सरकारमा गएका यी नव सामन्तहरु, राजाहरु, बडामाहारानीहरु र नव भारदारहरका अगाडि घुडा टेकेर टीका थाप्ने होइन् बरु यिनका विरुद्ध सशसक्त प्रतिरोधपूर्ण एउटा अर्को जनआन्दोलनको आवश्यकता छ । सही अर्थमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको पुनस्र्थापना र कार्यान्वयनको जरुरत छ ।