एएफसी यु–१९ च्याम्पियनसिप छनोट खेलमा नेपाली चेलीहरुले हराए भारतलाई

प्रकाशित मिति : २०७५ कार्तिक ९

काठमाडौं । एएफसी यु–१९ च्याम्पियनसिप छनोट खेलअन्तर्गत नेपाल र भारतबीच भएको खेलमा नेपाली चेलीहरुको टोलीले भारतीय टोलीलाई पराजित गरेको छ । नेपाली चेली रेखा पौडेलले नेपाललाई शानदार जित दिलाउँदै भारतीय टोलीलाई दुई गोल हानिन् ।

अघिल्लो चरणको यात्राका लागि जित्नै पर्ने दबाबमा रहेको नेपाली चेलीहरुको टोलीले चाहे अनुसारको नतिजा निकालेको छ । नेपालको जितमा शानदार प्रदर्शन गरेकी रेखाले खेलको ५९ औँ मिनेटमा पहिलो गोल गरेकी थिइन् ।

खेलको सुरुबाटै गतिला अवसर गुमाएको नेपाली टोलीका लागि रेखाले अग्रता दिलाएपछि भारतलाई झनै दबाबमा राखेको थियो । ५९ औँ मिनेटमा अग्रता दिलाएकी रेखाले ८८ औं मिनेटमा अर्को गोल थपिन् ।

खेलको अन्तिम समयमा भारतीय किपर डि बक्स भन्दा अगाडि आएको मौका सदुपयोग गर्दै रेखाले गोल गरेकी थिइन् । भारतलाई हराएपछि नेपालले अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राखेको छ । नेपालले अघि बढ्न बाँकी खेल जित्नुपर्ने छ ।

नेपालले अब समूह चरणको अन्तिम खेल आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । छनोटका क्रममा ६ समूहका विजेता÷उपविजेताबाट उत्कृष्ट दुई टिम आगामी अप्रिलमा हुने दोस्रो चरणमा जानेछन् ।