निम्न आय भएका उपभोक्ता सबैभन्दा बढी मारमा

प्रकाशित मिति : २०७५ कार्तिक ९

काठमाडौं । उपभोक्ता बजारको पछिल्लो अध्ययनअनुसार निम्न आय भएका आम उपभोक्ताहरु नै सबैभन्दा बढी मारमा पर्ने गरेको तथ्यांकले देखाएको छ । आय आर्जनको स्रोत नहुनु वा सानो हुनु, साझबिहानको छाक टार्ने समस्या प्रवल भएर आउनु, महंगी अकल्पनीय रुपमा चुलिनु, उत्पादनमा ह्रास आउनु आदि कारणले उपभोक्ता बजार यो बहुजनका हित विपरीत चलिरहेको छ ।

चोरमाथि चकार भने झैं यही अमैत्रीपूर्ण उपभोक्ता बजारमा विचौलिया र दलालहरुको हालीमुहाली हुनपुगेपछि यो आम उपभोक्ता अमैत्री हुन पुगेको छ । उदाहरणका लागि कालिमाटी तरकारी बजार नै हाम्रालागि काफी छ । कालिमटीमा रहेको थोक बजार ढकबाट, क्विन्टलबाट र प्याकिङबाट चल्ने गरेको छ । यो हुनेखानेमैत्री बनेको छ ।

तर यही कालिमाटीमा रहेको फुटकर तरकारी तथा खाद्य बजार सर्वसाधरण तथा तल्लो वर्गका लागि चल्ने गरेको छ । जहाँबाट थोकमा होइन, फुटकरमा व्यापर गरिन्छ । साँझ विहानको मामला यहीबाट टारिन्छ । तर पनि छेवैमा रहेको थोक बजारबाट बाहिर ल्याएर बेच्ने गरेको खाद्य तथा सागपातमा १५० देखि ३०० प्रतिशतसम्म महंगोमा बिक्रि गरिन्छ ।

यसका साथै ती खाद्य, सागपात तथा फलफूलमा बाहिरबाट रंगरोगन गरिएको हुन्छ । भित्र भने कुहिएर गुणस्तर नस्ट भइसकेको हुन्छ । केमिकलको अत्यधिक प्रयोगले सवृसाधरणको जीवनमा निकै हानी पुर्याइरहेको पनि छ ।