राजविराज । मोहीका नाममा भूमिसुधार कार्यालयहरुमा दर्ता गरिएको भनिएको निवेदनको आधारमा स्थानीय जग्गाधनीहरुका घरघरमा भूमिसुधार कार्यालयका कार्यालय सहायकहरु मोहीको तर्फबाट समाह्वान पत्रहरु लिएर आउन थालेपछि जग्गाधनीहरु आश्चर्यमा पर्न थालेका छन् । यो प्रक्रिया सप्तरी जिल्लाका विभिन्न ठाउँहरुमा दिनहुँ यसरी नै फैलिदै गइरहेको छ । कसैले घडेरी त कसैले सानो टुक्रा जग्गा किनेर बसेका जग्गाधनीहरु यो देखेर अवाक हुन थालेका छन् ।
मोहीको दाबी गरेर आउनेहरु वास्तविक जग्गा जोताहा मोही नभई हाल टोलटोलमा बनेका जग्गा दलालीमा समावेश भएका मानिसहरु रहेको स्थानीय जग्गाधनी किसानहरुले बताउने गरेका छन् । मोहीको दाबी गर्नेहरुलाई भूमिसुधार कार्यालयमा कार्यरत कर्मचारीहरुले बोलाई अनुसूचि २ अन्तर्गत दर्ता गरिएका भनिएका चारकिल्ला पनि र ठाउँको नाम पनि नमिल्ने तर बाटोको निकास भएका ठाउँहरुमा मोहियानी हक दाबी गर्न पठाउने गरेका छन् ।
भूमिसुधार कार्यालयमा कार्यरत कर्मचारी, भूमाफिया, जग्गा दलाल तथा बिचौलियाको मिलेमतोमा यी सबै कामहरु भैरहेको र हुने गरेको स्थानीय जनताको गुनासो रहेको छ । जग्गामा मोही दाबी गर्न आउनेहरुको न त बडापत्रअनुसार आवश्यक कागजात मिलेको छ, न त उनीहरुको पूर्खाले जोती खाएको प्रमाण नै छ । यी सन्दीग्ध मोहीहरुको चलखेल बढेपछि भूमिसुधार कार्यालय सप्तरीमा दिनहुँ निकै चहलपहल बढेको सप्तरीवासीहरुको भनाइ छ ।
भूमिमाथिको द्वैध स्वामित्व अन्त्य गर्नका लागि भूमिसुधार मन्त्रालयले देशैभर २०७५ भाद्र ४ गतेसम्म मोही र जग्गाधनीको निवेदन माग गरेको थियो । तर यसैलाई आधार र अवसरका रुपमा उपयोग गरेर भूमिसुधार कार्यालय सप्तरीले छूट मोही दर्ता गर्ने नाममा असोजसम्म पनि त्यस्ता निवेदनहरु बुझिलिई समाह्वान पत्र पठाउने गरिरहेकोमा स्थानीय किसानहरुको तीब्र आक्रोश छ । तर आश्चर्यको कुरा त के छ भने यस्तो खाले अनियमित कामको कुनै पनि निकायबाट अनुगमन र नियन्त्रण हुन सकेको छैन ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर