अमेरिकामा फ्लोरेन्स आँधी, कैयौंको ज्यान जाने पूर्वनुमान

काठमाडौं, भदौ २९ । अमेरिकामा अहिले हेरिकेन फ्लोरेन्स नामक आँधीको त्रास व्यापक मात्रामा उत्पन्न भएको छ । अधिकारीहरुका अनुसार फ्लोरेन्स आउँदै गरेको पूर्वसूचना दिइएको र सुरक्षित स्थान नरोजेकोहरुको ज्यान जानसक्ने चेतावनी दिएको छ ।

अमेरिकाको संघीय आकस्मिक व्यवस्थापन एजेन्सी (फेमा) ले आँधी बढेमा त्यसले अन्तरदेशीय क्षेत्रमा बाढी ल्याउन सक्ने प्रक्षेपण गरेको छ ।

आँधीको चेतावनीपछि दक्षिण क्यारोलिना, उत्तर क्यारोलिना र भर्जिनियाका १७ लाख मानिसहरुलाई घर छाडेर सुरक्षित स्थानमा जान उर्दी जारी गर्दै आपतकाल घोषणा गरिएको छ । उत्तर क्यारोलिनाका ११ हजार घरमा विद्युत्त आपूर्ति बन्द भइसकेको बीबीसीले जनाएको छ ।बीबीसीका अनुसार दक्षिण क्यारोलिनाको तटीय रेखामा भीषण वर्षा र आँधीपछि बाढीसमेत आउन थालिसकेको छ ।

फ्लोरेन्स आँधी केही घण्टाअघि दक्षिण क्यारोलिनको पूर्वी तटीय क्षेत्रमा रहेको माइरटल बिचभन्दा २५० मिटर पर थियो । मौसमविदहरुले स्थानीय समयानुसार बिहान ८ बजे आँधीको असलीरुप देखिने बताएका छन् । उनीहरुको अनुमान छ, आँधीले पहिरोसहितको विपद् ल्याउन सक्छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताए अनुसार अहिले आँधीको बेग प्रतिघण्टा १६५ किलोमिटर छ । क्याटागोरी थ्रीबाट टूमा उकालिएको आँधीले पानीको सतह चार मिटरसम्म माथि उठ्ने अनुमान गरिएको छ ।