नेपाललाई इतिहास रच्ने अवसर

नेपाललाई इतिहास रच्ने अवसर

काठमाडौं, भदौ २७ । बंगलादेशको ढाकामा जारी साफ सुजुकी कप फुटबल प्रतियोगितामा बुधबार (आज) नेपाली राष्ट्रिय फुटबल टिमले माल्दिभ्सविरुद्ध फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछ । समूह चरणमा नै पाकिस्तानसँग अप्रत्याशित रुपमा बेहोरेको हारको कारण संकटमा परेको नेपाली टिमले प्रतियोगितामा राम्रो पुनरागमन गर्न सफल भयो ।

पहिलो हारपछि समूह चरणका अन्य दुई खेलमा जितसँगै आफूअनुकूल नतिजा आएपछि नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनल प्रवेश गर्न सफल भयो । नेपालको यो चौथो साफ सेमिफाइनल यात्रा हो । यसअघि सन् १९९९, २०११ र २०१३ मा सेमिफाइनलमा प्रतिस्पर्धा गरे पनि नेपाल निरन्तर पराजित हुँदै आएको छ ।

कस्ताे छ माल्दिभ्ससँगको इतिहास ?

साफ च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध नेपाल इतिहास खासै राम्रो छैन । नेपालले साफमा हराउन नसकेको राष्ट्र नै माल्दिभ्स हो यो स्थितिलाई हेर्दा नेपालको इतिहास खराब नै देखिन्छ । तर, पछिल्लो समय माल्दिभ्सको फुटबल भित्र आएको विवादका कारण माल्दिभ्सको फुटबल निकै नै खस्किएका देखिन्छ । यो कारणले गर्दा पनि नेपाललाई केही सहज भने देखिन्छ तर पुरै भने होइन । समूह चरणमा खराब प्रदर्शनका बाबजुद माल्दिभ्स मात्र १ अंक जोडी भाग्यमानी बन्दै सेमिफाइनल प्रवेश गर्न सफल भएको थियो । श्रीलंकासँगको बराबरी र भारतसँग पराजित भए पनि चिट्ठामा माल्दिभ्स छनोट भएको हो ।

नेपालले हालसम्म माल्दिभ्सविरुद्ध १५ खेल खेलेको छ । जसमा नेपालले ४ जित र ४ बराबरी खेलेको छ भने ७ खेल गुमाएको छ । नेपालले समग्रमा माल्दिभ्सविरुद्ध १९ गोल गर्दा २० गोल खान पुगेको छ । साफमा नेपालले माल्दिभ्ससँग ६ खेल खेलेको छ । जसमा नेपालले २ बराबरी र ४ हार बेहोरेको छ । नेपालले साफमा माल्दिभ्सविरुद्ध ७ गोल गर्दा १४ गोल खान पुगेको छ ।

भारतलाई पाकिस्तानको चुनौती

बुधबार नै हुने दोस्रो सेमिफाइनल भिडन्तमा साफ फुटबलमा सर्वाधिक सफल टिम भारतले पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । दोस्रो सेमिफाइनलमा समूह ‘ए’को उपविजेता बनेको पाकिस्तानले समूह ‘बी’को विजेता बनेको भारतसँग प्रतिस्पर्धा गर्नेछ । भारतले पाकिस्तानको चुनौती सहज रूपमा पन्छाउने विश्वास लिँदा पाकिस्तान पनि भारतलाई हराउँदै सनसनीपूर्ण इतिहास बनाउने दाउमा छ ।