मार्क्सवाद र वैज्ञानिक–प्राविधिक क्रान्तिको प्रश्न

प्रकाशित मिति : २०७५ भाद्र २७

“मेसिनले स्वयम् प्रकृतिका शक्तिहरुमाथि मानिसको विजयको प्रतिनिधित्व गर्दछ” –कार्ल मार्क्स

१) आधुनिक वैज्ञानिक–प्राविधिक क्रान्ति

नवमार्क्सवादीहरुले आधुनिक वैज्ञानिक–प्राविधिक क्रान्तिले, जस्तो कि स्वचालन, कम्पुटर प्रविधिको विकास, बाह्य अन्तरिक्षमा हस्तक्षेप–प्रयास, पारमाणविक तथा अन्य वैज्ञानिक–उर्जा विकास, आदिले उत्पादन प्रक्रियामा मानिसको भूमिकालाई विस्थापित गरेको कारणबाट उत्पादनको प्रत्यक्ष कर्ताबाट अब मानिसलाई सामान्यतः प्राविधिक प्रकृयाको एउटा नियन्त्रकमा रुपान्तरित गरेको कुरामा जोडदिंदै मानव श्रम र श्रमिकवर्गको भूमिकालाई नकारेका छन् ।

उनीहरुले वैज्ञानिक–प्राविधिक क्रान्तिलाई प्राथामिकतामा राखेका कारणले के दाबी गरेका छन् भने कार्ल मार्क्सले प्रतिपादन गरेको औद्योगिक पुँजीवादले जन्माएको अतिरिक्त मूल्यको सिद्धान्त अब भूतकालिन अध्ययनको विषयमात्र हुन पुगेको छ । के वैज्ञानिक–प्राविधिक क्रान्तिले गरेको तुफानी प्रगति मानिसको प्रगति हो या होइन ? यो क्रान्तिले मानिसलाई उसको उपाङ्ग बनाउने खतरा छ या यो क्रान्तिको निरन्तरतासँग मानिसको व्यक्तित्वको परिष्कार तथा सर्वाङ्गीण विकास को पनि निरन्तरता रहने छ ? यही विषयमा यहाँ छलफल केन्द्रित गरिने छ ।

२) के हो वैज्ञानिक–प्राविधिक क्रान्ति ?

एक विख्यात समाजशास्त्री गेन्नादी मारिन्कोको अनुसार मानवजातिको अस्तित्वलाई विगत पचास हजार वर्ष मान्ने र त्यसलाई पुस्ताको सङ्ख्याले नाप्ने हो भने (जसको जीवनअवधि ६२ वर्ष हो) एक चाखलाग्दो र रोमञ्चकारी तस्वीर हाम्रो सामुन्ने उभिन्छ । यस्तो पुस्ताको सङ्ख्या करिब ८०० मानिन्छ । तीमध्ये ६५० पुस्ता गुफामा बसेका थिए । केवल ७० पुस्ताले मात्र लिपीको प्रयोग गरे, ६ पुस्ताले मुद्रित शब्दहरुको र अन्तिम २ पुस्ताले विद्युत–मोटरको ज्ञान प्राप्त गरे ।

आज विद्यमान अधिकतर भौतिक तथा आत्मिक मूल्यको सिर्जना वर्तमान पुस्ताकै जीवनकालमा नै भएकोछ ( वैज्ञानिक–प्राविधिक क्रान्ति, १९८९; मास्को : प्रगति प्रकाशन (अंग्रेजी) । त्यतिमात्र नभएर वैज्ञानिक–प्राविधिक क्रान्तिले मानव समाजको अगाडि प्रकृतिको कायाकल्पको लागि, विपुल भौतिक सम्पदाको सृष्टि र मानिसको योग्यता बृद्धिका लागि अपूर्व सम्भावनाहरु खुल्ला गरेको छ । यो क्रान्ति जटिल र बहुपक्षीय परिघटना हो । विकासमा यसका नयाँनयाँ रुप र सार प्रकट हुने गर्दछ ।

मानिस दिमाग चलाउने (सोच्न सक्ने) तर कमजोर तन भएको सामाजिक प्राणी हो । खाना,बस्न र सुरक्षाको लागि मानिसले प्रथम हातको प्रयोग ग¥यो तर हातहरु पर्याप्त नभएपछि ढुङ्गा, घुँयत्रो, भाला, बर्छी, धनुकाँड, भरुवा बन्दुकहुँदै आज बालिष्टिक मिसाइल समेतको प्रयोग गर्ने भएको छ । दोस्रो खुट्टाले मात्र हिँडेर पर्याप्त नभए पछि घोंडा, राँगो, हात्तीको प्रयोग गर्दै आज मोटर, ट्रेन, हवाई जहाज, पानी जहाजको प्रयोग गर्ने ठाउँमा आइपुगेको छ । तेस्रो पशु चराउने मानिसले आगोको खोज गरेपछि गुफाबाट कृषिमा आइपुगे । अनि हलो, कोदाले, कूटोहुँदै आज टेक्टर, पानी पटाउने पम्प–मेसिन, कुलो–नहर प्रयोग गर्ने अबस्थामा आइपुगेका छन् ।

र चौथो औद्योगिक क्रान्तिले ठूला ठूला उद्योग धन्दाहरु खुले र त्यहाँ पुँजी र मजदुरहरुको संकेन्द्रण भयो । अहिले हामीले भनेको वैज्ञानिक–प्राविधिक क्रान्तिको प्रारम्भ पहिलो स्वचालित लेथलाइन, परमाणु र नाभिकीय उपकरणहरु तथा कम्पुटरको निर्माण, प्रथम कृतिम भू–उपग्रहको प्रक्षेपण, रसायनिक संश्लेषण, सुक्ष्म इलेक्ट्रोनिक–खोज, आदि जस्ता अपूर्व उपलब्धिहरुबाट भयो । विगतकालभन्दा अहिले के फरक छ भने आज वैज्ञानिक उपलब्धिहरुलाई उत्पादनमा लगाइन्छ ।

तसर्थ, यो क्रान्ति विज्ञान र प्रविधिमा एकसाथ ब्याप्त भयो । यसैलाई वैज्ञानिक–प्राविधिक क्रान्ति भनिन्छ । २१ औं शताब्दीसँग आएका आधुनिक कम्पुटर, आधुनिक रोबोट, परमाणु उर्जा–उद्योग, सूचना क्रान्ति, जैविक–प्रविधिको विकास, आदिले मानव जातिको भविष्यलाई सुखी–सम्पन्न हुनसक्ने परिस्थिति निर्माण गर्ने क्षमता राख्दछ । तर साम्राज्यवादीहरुले, (क) यी प्रगतिलाई शस्त्रअस्त्रको होडमा लगाएकाले त्यसबाट मानव जातिका लागि घातक विभिषीका उत्पन्न नहोला भन्न सकिन्न । (ख) पुँजीवाद अन्तर्गत वैज्ञानिक–प्राविधिक क्रान्तिबाट हुने उपलब्धी सम्पूर्ण समाजको नभएर पुँजीवादी एकाधिकारीहरुले नै फाइदा उठाउँदछन् ।

उनीहरुले यसको उपयोग पुँजीको स्थितिलाई मजवुद बनाउन, श्रमिक जनतालाई शोषण गर्न र अधिकतम नाफा कमाउनका लागि गर्दछन् । यसबाट बेरोजगारी, मुद्रास्फिति र महङ्गी बढ्न जान्छ । पुँजीवादी समाजमा पुँजीवादीहरुको वर्गीय स्वार्थका कारणले गर्दा विज्ञान–प्रविधिको उपलब्धीलाई मानवजातिकै हितविरुद्ध लगाइन्छ ।

३) वैज्ञानिक–प्राविधिक क्रान्तिले औद्योगिक पुँजीवादलाई विस्थापन ग¥यो ?

पुँजीवाद अन्तर्गत, जहाँ उत्पादन विस्तारको उद्देश्य धेरैभन्दा धेरै नाफा बटुल्नु हुन्छ, वैज्ञानिक–प्राविधिक क्रान्तिको उपलब्धिहरुलाई उत्पादनमा गरिने प्रयोगले श्रमको उत्पादनशीलतालाई वृहत मात्रामा बृद्धि गर्दछ र साथसाथै बेरोजगारी जन्माउँदछ । त्यही अध्ययनबाट कार्ल माक्र्सले के प्रमाणित गरेका थिए भने पुँजीवादले जीवन–साधनहरुबाट बञ्चित अपेक्षाकृत अतिरिक्त श्रमिक जनतालाई निरन्तर जन्म दिँदैरहेको हुन्छ । एंगेल्सले “समाजवादः काल्पनिक तथा बैज्ञानिक”मा भनेका छन् : “एकातिर मेसिनहरुको निरन्तर प्रगति, जो प्रतिस्पर्धाको कारण प्रत्यक कारखाना मालिकको लागि अनिवार्य हुन्छ र जसको कारण मजदुर निरन्तर बढ्दो सङ्ख्यामा बिस्थापित हुन्छन् । औद्योगिक रिजर्भ सेना र अर्कोतिर, उत्पादनको सीमाहीन विस्तार ।

प्रतिस्पर्धा अन्तर्गत यो पनि हरेक कारखाना मालिकको लागि अनिवार्य बन्दछ । दुबैतर्फ उत्पादक शक्तिहरुको अपूर्व विकास; माग भन्दा बढी आपूर्ति; अति उत्पादन, मालहरुले भरिभराउ बजार, प्रत्यक दशौं वर्षमा सङ्कट, दुस्चक्र–एकातिर, उत्पादनका साधनहरु र उपजको अधिकता; अनि अर्कोतर्फ, जीविकाको साधनहरुद्धारा बञ्चित बेरोजगार मजदुरहरुको अधिकता” (माक्र्स–एंगेल्स सं.र.खण्ड– २४; १९८९ : ३५५; प्रगति प्रकाशन (अंग्रेजी) । तर उत्पादन र सामाजिक समृद्धिका यी दुबै भारबाहकले एकसाथ काम गर्न पाउँदैनन् किनभने पुँजीवादी उत्पादन–प्रणाली अन्तर्गत उत्पादक शक्तिहरुले तवसम्म काम गर्न सक्दैनन्, जबसम्म तिनीहरुलाई पहिले पुँजीको रुप दिन सकिंदैन ।

तर यो तिनीहरुको अधिकताकै कारण सम्भव हुन सक्दैन । यसबाट यो प्रमाणित हुन्छ कि पुँजीपतिवर्ग स्वयम् आफ्ना सामाजिक उत्पादक शक्तिहरुको ब्यवस्थापन गर्न अयोग्य ठहरिएको छ । एंगेल्सले भनेका छन् “उत्पादनका र सञ्चारका ठूला–ठूला संस्थानहरु पहिले ज्वाइन्ट स्टक कम्पनिहरु, त्यसपछि ट्रष्टहरु र अन्त्यमा राज्यको अधिकारमा हुनुले यो प्रमाणित हुन्छ कि पुँजीपतिवर्ग एउटा फाल्तु वर्ग बन्न गएकोछ । त्यसका सबै सामाजिक संस्थाहरु अव वेतनभोगी कर्मचारीहरुद्धारा सम्पादित हुन्छन्” (उही)। एंगेल्सको भनाई पुष्टि भएको छ कि, बैज्ञानिक–प्राविधिक क्रान्तिले, ठूला पुँजीपतिहरुलाई परजीवी बनाइदिएकोछ ।

उनीहरुको उद्यम ब्यवसायहरुको संचालन वेतनभोगी कर्मचारीहरुद्धारा गरिने हुँदा उनीहरु उत्पादन–प्रकृयामा पूर्णतः अनावश्यक बन्दछन् । दक्ष वेतनभोगी कर्मचारीहरु परिश्रम गरिखाने जनताको प्रत्यक्ष शोषणका लागि जिम्मेवार हुन्छन् । प्रतियोगिता उग्रतर हुने र वैज्ञानिक–प्राविधिक क्रान्तिका कारणले पुँजी अधिक संकेन्द्रित हुन्छ । एकाधिकारी पुँजीपतिहरुले अहिले बहुराष्ट्रिय कम्पनीहरुमा एकाबद्ध भई पुँजीलाई थोरै मानिसको हातमा संकेन्द्रित गर्दै छन् । यसबाट विश्वका उत्पीडित राष्ट्र र श्रम गरिखाने जनतालाई बढीभन्दा बढी लुट्ने काम भएको छ ।

पछिल्लो कालमा बैज्ञानिक–प्राविधिक क्रान्तिले सुक्ष्म इलेक्ट्रोनिसको विकास गरेबाट पुँजीको पक्षधर नवमार्क्सवादीहरु “मजदुरको श्रम अनावश्यक हुँदैछ, मजदुर वर्ग विघटित हुँदैछ र पुँजीवादको चिहान खन्नेहरुको विश्व ऐतिहासिक भूमिका गुम्दैछ” भनेर खुसी भएका छन् । तर एउटा अध्ययनले के देखाएको छ भने पुँजीवादी विकासले कृषिक्षेत्रलाई औद्योगिकीकरण गर्ने भएकाले संख्या कटौंती हुन्छ र ठूला उद्योगहरुमा पनि आधुनिक प्रविधिको विकासले रोजगारीमा केही कटौंती हुने गर्दछ । तिनका तुलनामा सेवा क्षेत्रमा रोजगारी वृद्धि भएको देखिन्छ ।

तर पनि सत्य के हो भने कृषिश्रममा आधारित मुलुकको विकास सम्भब छैन । तसर्थ अमेरिका र युरोपको अनुभबले के देखाउँछ भने ती मुलुकहरुले उहिले औद्योगिक क्रान्ति सम्पन्न गरेपछि सेवा क्षेत्रमा प्रवेश गरेका हुन् । ता पनि आज सम्मको तथ्याङ्कले के प्रमाणित गरेको छ भने कृषि, उद्योग र व्यापार क्षेत्रले नै ति देशहरुको गार्हस्थ उत्पादनमा मूख्य योग्दान पु¥याएको छ ।
ता.नं. १
फ्रान्स, जर्मनी, बेलायत र अमेरिका (सन् १८००–२०१२)
सेवा क्षत्रमा रोजगारी (प्रतिशतमा)
१) स्वास्थ्य र शिक्षामा २० प्रतिशत भन्दा माथि (जनताको करबाट सञ्चालित)
२) होटल र टुरिज्ममा २० प्रतिशत
३)अन्य
फर्म क्षेत्र (कन्सल्टीङ, डिजाइन, लेखा, डाटा प्रोसेसीङ आदि)
रियल स्टेट र विक्तीय क्षेत्र (व्याङ्क, इन्सुरेन्स, आदि) २० प्रतिशत
ट्रान्स्पोर्रेशन क्षेत्र

४) सरकारी प्रशासन र सुरक्षा क्षेत्र

(सामान्य प्रशासन, अदालत, सेना प्रहरी, आदि) १० प्रतिशत (जनताको करबाट संचालित)।
पुँजीको २०० वर्षको इतिहासको अध्ययन गरेका प्रसिद्ध अर्थशास्त्री प्रा. पिकेटीको निष्कर्ष के छ भने अहिले पनि औद्योगिक क्षेत्र नै विकसित पुँजीवादी मुलुकहरुको आर्थिक मेरुदण्ड हो, राष्ट्रिय आयको मुख्य श्रोत हो । प्रो. पिकेटीको अनुसार निजले गरेको अध्ययन

अवधिमा विकसित पुँजीवादी देशहरुको सेवा क्षेत्रमा ७०–८० प्रतिशत रोजगारी रहेको देखिन्छ । तर सेवाभित्र सरकारी प्रशासन, सुरक्षा तथा शिक्षा र स्वास्थ्य पूर्णतः जनताको करबाट चलेको देखिन्छ । अर्को तालिकामा (ता.नं.२) प्रो पिकेटीले फ्रान्स र बेलाइतको सन् १७७०–२०१०को राष्ट्रिय आयको पुँजीगत आय (लगान, नाफा, लाभाम्स, व्याज …) ३०–४० प्रतिशत र श्रम आय (ज्याला र गैर–ज्याला) ६०–७० प्रतिशत रहेको थियो (पिकेटी, पे. २००–२०१) । यसबाट के पुष्टि हुन्छ भने आजको साम्राज्यवाद भनेको पनि कर्पोरेट औद्योगिक पुजिँवाद नै हो र मजदुर वर्ग अझै पनि पुँजीवादको चिहान खन्ने ऐतिहासिक भूमिकाबाट पछि हटेको छैन ।

४) अवको साम्राज्यवाद युद्ध चहाँदैन !

माक्र्स–एङ्गेल्सको समयमा निरन्तर दोहोरिने औद्योगिक महामन्दीले ठूला–ठूला पुँजीवादी कारोवारहरु चौपट हुन जाँदा उत्पादनका साधनहरुको वृहत राशीहरुको सामाजीकरणको रुपमा विभिन्न प्रकारका ठूला–ठूला ज्वाइन्ट स्टक कम्पनिहरुको उदय भएको थियो र तिनीहरु नै पछि एकाधिकारमा वदलिएका थिए । तिनै एकाधिकारी पुँजीवादी विश्वका ठूला ठूला समुहको नेतृत्व गरेर साम्राज्यवादी मुलुकहरुले प्रथम र दोश्रो विश्वयुद्ध रचेका थिए । त्यसप्रकारको एकाधिकार पुँजीवादलाई नै लेनिले साम्राज्यवाद भनेका हुन् । आजको साम्राज्यवाद पनि एकाधिकार पुँजीवाद नै हो तर त्यसको संरचना र चरित्रमा समयानुकुल परिवर्तन जरुर भएको छ । अहिले विश्व अर्थतन्त्रलाई कन्ट्रोल गर्ने ५०० वटा बहुराष्ट्रिय तथा परराष्ट्रिय कम्पनीहरु छन् जसको आधाजतिको नेतृत्व अमेरीका स्वयम्को हातमा रहेको छ । साम्राज्यवादी शक्तिहरुले पूर्व–उपनिवश तथा पूर्व–अर्ध–उपनिवेशी मुलुकहरुको सिमानाभित्र आफ्नो उत्पादन, वित्त र प्रविधिको विनारोकटोक गरिने कर्पोरेट पुँजीवादी प्रवाहलाई “नवउदारीकरण” को नाम दिएका थिए ।

तर सन् १९८० देखि आएको कर्जा शंकटलाई “थ्याचर रेगन थोरापी” मार्फत हल गर्न विश्व ब्याङ्क र अन्र्तराष्ट्रिय मुद्रा कोषको वित्तीय लगानीमा अल्प– विकसित देशहरुमा “संरचनागत समायोजन” लागु गरियो । सन १९९० मा सोवियत संघ विघटन भएपछि त्यसलाई विश्व व्यापार संगठन (१९९५) मार्फत अघि बढाइयो र सन २००० सम्ममा यसले विश्वमै संस्थागत प्रभुत्व कायम गर्न सक्यो । साम्राज्यवादीहरुले नवऔपनिवेशिक नीतिलाई भुमण्डलीकरण नामाकरण गरे । तर पश्चिमा शक्तिहरुको यो नीति धेरै दिन चल्न सकेन । विश्व वहुध्रुबमा बाडिन पुग्यो । रुसको नेतृत्वमा चीन, भारत, ब्राजिल, दक्षिण अफ्रिका मिलेर “ब्रिक्स” को कार्यक्रम संचालन गरेको छ । यो कार्यक्रमले अमेरिकी साम्राज्यवादको सामु गम्भीर चुनौति खडा गरेको छ ।

चीनले छुट्टै “एक पेटी एक मार्ग” को कार्यक्रम मार्फत आफु केन्द्र र त्यो कार्यक्रमसँग जोडिने मुलुकहरुलाई पेरिफेरीमा राखेकोछ । साथै चीनले “एसियन इन्फाइष्ट्रचर ब्याङ्क” खडा गरेर विश्व ब्याङ्कलाई र “पिपल्स ब्याङ्क अफ चाइना” खडा गरेर अन्र्तराष्ट्रिय मुद्राकोषलाई चुनौती दिएको छ । अमेरीकी राष्ट्रति डोनाल्ट ट्रम्पले “अमेरीका प्रथम”को निती लिएपछि पेरिस जलवायु संझौंताबाट र इरानको परमाणु संझौताबाट पछि हट्ने निणर्य लिएको र आयात करमा वृद्धि गरेको, आफ्ना सहयोगीहरुमाथि निरन्तर कटुता बढाइरहेको, आदि कारणले अमेरिकाको विश्वव्यापी नेतृत्व क्षामतामा ह्रास आएको वर्तमान अवस्थामा चीनको प्रभाब बढ्न सक्ने देखिन्छ ।

अमेरिका विश्वव्यापी नेतृत्वको भूमिकाबाट पछि हट्दै जाने र चीनले त्यसको विकल्पमा विश्व नेतृत्व बढाउदै लैजाने स्थिति बनेको छ । अमेरिकाले अन्तराष्ट्रिय व्यापार तथा लगानीले सिर्जना गरेको भूमण्डलीकरणको भूमिकाबाट पछि हट्ने घोषणा गरेसँगै चीनले चिनियाँ चरित्रको भूमण्डलीकरणलाई जोड दिएको छ । उक्त कारणहरुले गर्दा अमेरीका र नयाँ उदीयमान शक्तिहरुको वीचमा ढिलो वा चाँडो युद्ध हुन सक्ने सम्भावनालाई नकार्न सकिदैन ।

अर्को पाटोबाट पनि भन्ने हो भने मध्यपूर्व, कोरिया प्रायद्धीप, दक्षिण चीन सागर, आदि क्षेत्रमा बढ्दै गएको द्धन्द्धहरु र पुँजीवादी लामो आर्थिक संकट, पुँजी संचय तथा केन्द्रिकरणको तीव्र लालचको कारण निम्तिएको द्धन्द्ध र समस्याको समाधान साम्राज्यवादीहरुले अन्ततः युद्धबाटै गर्न खोज्दछन् र त्यसका लागि आवश्यक तयारी र प्रयोग समेत गर्दैछन् । अहिले अमेरिकाले गरेको स्पेस फोर्सको कुरो पनि तयारीकै कुरो हो र यसबाट पनि विभिन्न क्षेत्रीय युद्धहरुको खतरा बढ्न थालेको देखिन्छ ।

५) समाजवाद र बैज्ञानिक–प्राविधिक विकास

पहिले पहिले उत्पादनको पुँजीवादी पद्धतिले मजदुरहरुलाई बेकार बनाउँदथ्यो भने अहिले त्यसले पुँजीपतिवर्गलाई पनि काम बाहिरको तर बसिखाने वर्ग बनाएको छ । आधुनिक पँुजीवादी राज्यले पुँजीवादी उत्पादन–सम्बन्धको (अन्तरविरोध)हल गर्न सक्दैन, बरु चर्काउने काम गर्दछ ।

तसर्थ यसको समाधान तव नै हुन सक्तछ जब समाजले सिधा र प्रत्यक्ष रुपले उत्पादक शक्तिहरुमाथि नियन्त्रण गर्दछ र उत्पादकले उत्पादनका साधनहरु एवं उत्पादनको सामाजिक स्वरुपको उपयोग आफ्नो प्रकृतिको पूर्ण ज्ञानकासाथ गर्नेछन् । तब उनीहरु विश्रृङखलता एवं समय समयमा विघटनको कारण नरहेर स्वयं उत्पादनको सबभन्दा शक्तिशाली उत्तोलक बन्नेछन् (एंगेल्स,समाजवाद; काल्पनिक र वैज्ञानिक)। वैज्ञानिक–प्राविधिक क्रान्तिले, जो २० औं शताब्दीको उत्तरार्धको एक चमत्कार थियो , उत्पादक शक्तिहरुको, विज्ञान तथा प्रविधिको बैज्ञानिक विकासको लागि सीमाहिन संभावनाहरु खालिदिएकोछ ।

तर विकसित पुँजीवादी देशहरुमा यसले व्यापक बेरोजगारी, करोडौलाई “बेकार” कंगाली र अभावतिर धकेलिदिने काम गरेकोछ । युद्ध थोपरेर शरणाथीहरुको ओइरो लगाएकोछ । भोकमरी पुँजीवादी जगतको विकराल समस्या बनेकोछ । पुँजीवादी मुलुकहरुमा लाखौं मानिस घरबार विहिन छन् र फोहोर झुपडीहरुमा बस्छन् र कुपोषणको शिकार बनेका छन् । एकाधिकारवादीहरु भने नाफाको लागि पर्यावरण–खेत र वन्, नदी र सागर वातारण र भूगर्भलाई समेत निर्ममतापूर्वक विनष्ट गर्दैछन् । त्यसको परिणाम पृथ्वी प्राणी जगतले भोग्नु परेकोछ ।

के करोडौ श्रमजीवीहरु र पृथ्वीका सबै मानिसको हित अनुरुप सामाजिक परिस्थितिहरुको निमार्ण असम्भव छ ? वैज्ञानिक समाजवादको सिद्धान्तले यसको सकरात्मक जवाफ मात्र नदिएर बरु समाधनको साधन पनि देखाँउदछ । बर्जुवा व्यवस्थाभन्दा भिन्न, समाजवाद अन्र्तगत व्यक्तिको सर्वांगीण विकास केही चुनिएको मुठ्ठीभर मानिसको लागि नभएर, बरु सबै श्रमिक जनताका लागि हुन्छ र विशेष सुविधा हुन्छ । समाजवाद अन्र्तगत उत्पादन जनताको हातमा हुन्छ र मानिसद्धारा मानिसको शोषण, सामाजिक उत्पीडन विशेषाधिकार प्राप्त गरेका अल्पसंख्याको सत्ता, गरीबी र लाखौं मानिसले भोगेको नरक्षरतालाई सधैका लागि उन्मूलन गरिइन्छ ।

वैज्ञानिक–प्राविधिक प्रगतिले बेरोजगारी बढाउनका सट्टा सबै जनताको खुसीलाई लगातार अभिवृद्धि गर्दछ । “प्रत्यकबाट उसको योगयतानुसार , प्रत्यकलाई उसको काम अनुसार” को काम र परिश्रमिकमा समान अधिकार हुन्छ । यसरी समाजवाद अन्तर्गत वैज्ञानिक–प्राविधिक क्रान्तिको उपलब्धीलाई समाजवादी प्रणालीको संम्भावनाका साथ आंगिकरुपबाट जोड्ने काम गरिन्छ, जसबाट जीवनस्तर माथि उठाउन र व्यक्तिको सर्वतोमुखि शारीरिक एंव मानसिक विकासको अवस्थाको निमार्ण गर्न सम्भव बन्दछ ।

६) नयाँ जनवादी क्रान्ति कि वैज्ञानिक समाजवाद !

नेपाली कम्युनिष्ट आन्दोलनलाई दुई थरी अबसरबादी संशोधनवादीहरुबाट आक्रमण भइ आएको छ । एकाथरि अबशरवादीहरुले प्रतिकृयावादी राज्यशत्ता र बेवस्थाको पहरेदार बनेर नयाँ जनवादी क्रान्ति पुरा भएकोले अबको कार्यभार भनेको आर्थिक क्रान्तिमार्फत वैज्ञानिक समाजवादमा पुग्ने भ्रम सृजना गरेकाछन् ।

अर्काथरि अबशरवादीहरु छद्म क्रान्तिकारीका रुपमा देखा परेका छन् । उनिहरुले वैज्ञानिक–प्राविधिक क्रान्तिको भूमिकालाई सर्वोपरी ठानेर मानविय श्रम तथा औद्योगिक पुँजीवादमा हुने अतिरिक्त मूल्यको सिद्धान्तलाई नकारेका छन् । उनीहरुको तर्क के छ भने मुख्य उत्पादक शक्तिको रुपमा विज्ञन प्रविधि आए पछि आजको भूमण्डलीकृत पुँजीवादी साम्राज्यवादी व्यवस्थाभित्र वैज्ञानिक समाजवादी युगको आरम्भ भएको हो । तसर्थ वैज्ञानिक साम्य वादमा पुग्नलाई वैज्ञानिक समाजवाद अहिलेको न्यूनतम राजनीतिक कार्यक्रम बनेकोछ ।

युरोप र अमेरीकामा जस्तो पुँजीवादी क्रान्ति पुरा नभएको र २१ औ शताब्दीमा पनि दुईतिहाई श्रम शक्ति कृषिमा लागिरहेको अर्ध सामन्ति, अर्ध औपनिवेशीक तथा नव औपनिबेशीक अबस्थाको अत्यन्त पिछडीएको मुलुक नेपाल साम्राज्यवादी भूमण्डलीकृत पुँजीवादको गिरफ्तमा आएकोले त्यसले नेपालको राष्ट्रिय पुँजीवादको विकास गर्ने नभई दलाल पुँजीवादको विकास गर्ने हुन्छ ।

त्यस्तो मुलुकले पहिले जनवादी क्रान्ति पुरा गरि समाजवादी क्रान्ति सम्पन्न गर्नु पर्ने हुन्छ न कि समाजवादी क्रान्ति । प्राविधिक क्रान्तिको हौवा खडागरेर नयाँ जनवादी क्रान्तिलाई नकार्नु भनेको वास्तविकता बाट भाग्नु हो ।