इंग्ल्याण्डसँग हार्यो भारत

इंग्ल्याण्डसँग हार्यो भारत

काठमाडौं, भदौ २७ । इंग्ल्याण्डले भारतविरुद्धको पाँचौ टेस्टमा १ सय १८ रनले जित्दै समग्रमा ४–१ को सिरिज आफ्नो हातमा पारेको छ । ४ सय ६४ रनको विशाल लक्ष्य पछ्याएको भारतका लागि लोकेश राहुल र ऋषभ पन्तले संघर्ष गरे पनि उनीहरु आउट भएलगत्तै भारतको ब्याटिङ अर्डर ध्वस्त भएको थियो । पाँचौ टेस्टको अन्तिम खेल अगाडि नै सिरीज कब्जा गरेको इंग्ल्याण्डले अन्तिम टेस्ट पनि आफ्नो नाममा पार्न सफल भयो ।

ओपनर आएका लोकशले १४९ तथा ऋषभले ११४ रन बनाउँदै भारतलाई कम्तिमा बराबरी गराउने अपेक्षा गरिएको थियो । तर इंग्ल्याण्डका अदिल रसिदले राहुल र पन्तलाई आउट गरेपछि भारतको पारी कमजोर भएको थियो । यसैगरी भारतका अजिंका रहेणेले ३७ तथा रविन्द्र जडेजाले १३ रन जोड्नु बाहेक अरुले दोहोरो अंकको रन बनाउनै सकेनन् ।

कप्तान विराट कोहली, हनुमान विहारी, चेतेश्वर पुजारा, मोहम्मद सामी सून्य रनमा आउट हुँदा शिखर धवनले १ रन जोडे भने इशान्त शर्माले पाँच रन बनाएका थिए । इंग्ल्याण्डका जेम्स एन्डरसनले ३ तथा अदिल रसिद र साम कुरानले दुई दुई विकेट लिए ।

पाँचौ टेस्टमा इंग्ल्याण्डले टस जिति पहिला ब्याटिङ गर्दै ३३२ रन बनाएको थियो । भारतले पहिलो पारीमा २९२ रन बनाए पछि ४० रनले पछि परेको भारतलाई इंग्ल्याण्डले दोस्रो पारीमा ४२३ रन बनाएर इनिङ समाप्त भएको घोषणा गरेको थियो ।

त्यसपछि ४६४ रन पछ्याउन मैदान आएको भारत कुनै पनि बेला इंग्ल्याण्डमाथि हावी हुन सकेन । यो टेस्टसँगै इंग्ल्याण्डका एलेस्टर कुकले अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि सन्यास लिएका छन् । उनले अन्तिम टेस्टमा पनि शतक बनाएर कीर्तिमान समेत राख्न सफल भएका छन् ।