काठमाडौंको ठमेलमा आगलागी, १० करोडभन्दा बढी क्षति

काठमाडौंको ठमेलमा आगलागी, १० करोडभन्दा बढी क्षति

काठमाडौं, भदौ २६ । राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा मंगलबार बिहान भीषण आगलागी भएको छ । ठमेलको ज्याठास्थित अक्सिजन ग्यास सिलिण्डर स्टोरमा बिहान करिब ४ बजे आगलागी हुँदा १० करोड रुपैयाँभन्दा माथि क्षति भएको प्रहरीले अनुमान गरेको छ । आगलागीबाट अन्य दुई घरमा पनि क्षति पुगेको छ ।

प्रहरी वृत्त दरबार मार्गका डिएसपी दानबहादुर मल्लले जानकारी दिए अनुसार स्थानीय सुमनमान स्थापितको घरमा पानी तान्ने मोटरमा विद्युत् सर्ट भई आगालगी सुरु भएको थियो ।

स्थापितको घरबाट पौने ४ बजे सुरु भएको आगलागी बेलैमा नियन्त्रण गरिएकाले ठूलो क्षति हुनबाट जोगिएको डिएसपी मल्लले बताए । महानगरपालिकाको दमकल, नेपाली सेना र प्रहरीको प्रयासमा बिहान पौने ५ बजे आगो नियन्त्रणमा लिइएको उनले बताए ।

‘ग्यासको सिलिण्डर पड्कन थालेकाले जानेबित्तिकै आगो नियन्त्रणमा खटिन सकेनौं,’ डिएसपी मल्लले भने, ‘जे होस्, बेलैमा आगलागी नियन्त्रण गर्न सकिएकाले मानवीय क्षति हुन पाएन ।’