काठमाडौं । आइतबार अदालतबाट सफाइ पाएसँगै गोरखाका कृष्ण अधिकारी हत्या प्रकरणमा आरोपित ज्येष्ठ नागरिक छविलाल पौडेल सोमबार जेलबाट रिहा भएका छन् । उनलाई बाजागाजाका साथ आफन्तहरुद्वारा स्वागत गरिएको छ । उनको रिहाइ न्यायप्रेमी जनताका लागि खुशीको कुरा पनि हो ।
वर्ग विभाजित समाजमा एउटा वर्गपक्षधर खुशी हुने र अर्को वर्गपक्षधर दुखी हुने वर्ग सापेक्ष कुराहरु हुन् । भयो पनि यस्तै ! गंगामाया अधिकारी फेरि पनि अनसनमा बस्ने भनेर अडान लिन थालेकी छन् । उनले पनि आफैले जन्माएको र आफ्नै काँखमा हुर्काएको छोरा गुमाएकी छन् ।
कुरा कानुनका पाना पल्ट्याउँदै दफा र उपदफा भट्याएर दोषी को र निर्दोषी को भनेर करार गर्ने भन्दा पनि राजनीतिक परिवर्तनका लागि भएका र हुने गरेका ठूलाठूला हिंसा र रक्तपातको समाज परिवर्तनसहितको सामाजिक न्यायभित्र परिवर्तनको स्थान कहाँ हुन्छ ? के परम्परागत अदालती दफा र उपदफाले त्यो बदलिएको परिस्थितिमा साँच्चिकै न्याय दिन सक्ला र सक्छ त ?
यो प्रश्नको जबाफ दिंदा परिवर्तनका क्रममा पीडित हजारौं छबिलाल पौडेल र हजारौं गंगामायाहरुलाई नियालेर हेर्नैपर्छ । नत्र बदला र प्रतिशोधको भुङ्ग्रोमा अरु हजारौं छबिलाल र गंगामायाहरु बत्तिमा पुतली परेझैं परि नै राख्ने छन् र पारिई नै राखिने छन् ।
जनयुद्धकालमा वैचारिक विमति र मत भिन्नताका कारणले हामी नेपालीहरु दुई खेमामा बाँडिन पुग्यौं । विचारको विमति रक्तपातपूर्ण युद्धमा परिणत हुन गएको थियो । त्यसको हल लडाइँद्वारा भइरहेको थियो । कसले जित्ने र कसले हार्ने ? युद्धको वैचारिक र प्रतिध्रुवीय पक्षधरता थियो ।
छबिलाल पौडेल र गंगामाया अधिकारी यही प्रतिध्रुवीय खेमामा थिए । पौडेलको खेमा परिवर्तनको पक्षमा थियो । अधिकारीको खेमा यथास्थितिको पक्षमा थियो । यो व्यक्ति विशेषको चाहनाको कुरा थिएन । यो सार्वभौम कुरा थियो । त्यतिबेला संवैधानिक राजतन्त्र सार्वभौम थियो । आज गणतन्त्र सार्वभौम छ । त्यसो भए के छबिलाल पौडेल र गंगामाया अधिकारीको विचार र पक्षधरता ती सार्वभौम विचार र कुराहरुसँग जोडिएका थिएनन् त ?
आजका सतही रुपमा मानव अधिकारको वकालत गर्नेहरुले, प्रतिशोध र बदलाका सीमा र दरारहरु कोट्याउँदै फराकिलो पार्न खोज्नेहरुले, ती गणतन्त्र तथा परिवर्तन विरोधीहरुका विचार र मत त्यतिबेला आफू अनुकूल थिएनन् भनेर प्रतिशोध राखी अहिले आत्मरति लिन र ‘खुच्चिङ’ गर्नका लागि दोषी करार गरी कारबाहीको माग गर्नेहरुले यो कुरालाई बुझ्नु र बुझाउनु पर्दैन ?
अर्कोतिर, लत्रन र टाँङमुनि छिर्ने पनि सीमा हुन्छन् होला । तात्कालिन जनयुद्धका ‘नायक’ तर हालका जनवादी क्रान्तिका भगौडा पुष्पकमल दाहालले एक बयोबृद्ध छबिलाल पौडेललाई हात समातेर घरबाट ल्याई सर्वोच्चमा ‘आत्मसमर्पण’ गराए । धन्य भगौडा महोदय ! तिमी त्यही व्यवस्थाको प्रधानमन्त्री हुने, राष्ट्रपति भई पनि छाड्ने ध्वाँस पनि देखाउने, तर तिम्रो कायरतापूर्ण आत्मसमर्पणका रक्षाकवज निर्माणका लागि अझ कति छबिलाल पौडेलहरुले लाइन लागेर समर्पण गरिदिने र आत्मसम्मान र प्रतिष्ठाको आत्मघाती बलिवेदीमा आहुती दिने ?
अझैं कति बाँकी छ, तिमी जस्ता कायर र गद्दारका लागि छबिलाल पौडेल जस्ता अरु स्वाभिमानहरुले आहुती दिन ? इतिहासमा कायर, गद्दार र भगौडाहरुले योद्धाहरुको यस्तै र यो भन्दा पनि घटिया अपमान गर्ने गरेका छन् ।