सन्दीपको अर्को सफलता अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्ने

प्रकाशित मिति : २०७५ भाद्र २६

काठमाडौं, भदौ २६ । नेपालका चर्चित युवा क्रिकेटर सन्दीप लामिछानले नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय क्रिकेट जगतमा समेत निकै नै उचाई कमाई रहेका छन् ।

उनले इन्डियन प्रिमियर लिग, क्यारेबियन र क्यानेडियन लिग समेत खेलिसकेका छन् । अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्ने भएसँगै उनको यो चौथो अन्तर्राष्ट्रियस्तरीय लिग हो ।

दुबईमा सोमबार भएको अक्सनमा नङहार क्लबले सन्दीपलाई अनुबन्ध गरेको हो । प्रतियोगिता ५ देखि २१ अक्टोबरसम्म सारजहाँ क्रिकेट मैदानमा हुनेछ । एपिएलमा पक्तिया, काबुल, नङहार, बल्ख तथा कान्दाहार क्लबले प्रतिस्पर्धा गर्नेछन् । सन्दीपको टोलीमा एन्ड्रय रुसेल, तामिन इक्वाल, मुजिब रहमान, वेन कटिङ, साफिल्लाह सफक, नाजिबुल्लाह, मिसेल मेक्लिनघन, मोहमद हफिज, मुस्फिकर रहिम, रहमत साह, नविन उलहक र जाहिर खान छन् ।

सन्दीप एसोएसिएट राष्ट्रअन्तर्गतबाट अनुबन्धित भएका हुन् । नेपालका कप्तान पारस खड्का र सोमपाल कामी अक्सनमा समावेश हुन सकेनन् । ड्राफ्टमा पक्तियाले पाकिस्तानका साहिद अफ्रिदीलाई आइकन खेलाडीका रूपमा राखेको छ । यसैगरी, काबुलले अफगानिस्तानका स्पिनर रसिद खान, नङहारले वेस्टइन्डिजका रुसेल, वल्खले वेस्टइन्डिजका क्रिस गेल तथा कान्दहारले न्युजिल्यान्डका ब्रेन्डन म्याककुलमलाई आइकन खेलाडीका रूपमा समावेश गरेका छन् । आइकन खेलाडीले १ लाख डलर पाउनेछन् ।