ललितपुर, भदौ २६ । देशका विभिन्न ठाउँमा बलात्कारका घटनाले साम्य नपाउँदै फेरि राजधानीको कीर्तिपुरमा ११ वर्षीय बालिका बलात्कृत भएकी छिन् । बलात्कारको आरोपमा महानगरीय प्रहरी परिसर टेकुले कैलाली, घोडाघोडीका २५ वर्षीय हेम खत्रीलाई पक्राउ गरेको छ ।
कीर्तिपुरका ११ र १३ वर्षीया किशोरी भदौ २१ गते विद्यालयबाट घर नफर्किई खत्रीको सम्पर्कमा पुगेका थिए । दुवैलाई खत्रीले आफ्नै कोठामा लगेर राखेका थिए । प्रहरीका अनुसार खत्रीले ११ वर्षीयालाई बलात्कार गरेका थिए ।
खत्रीले अर्की १३ वर्षीया किशोरीलाई चाहिँ बल्खु लगेर छोडिदिएको र उनी पछि आफन्तको सम्पर्कमा आएपछिमात्र घटनाबारे जानकारी भएको परिसरका एसएसपी वसन्त लामाले बताए ।
खत्री वैदेशिक रोजगारीमा जाने सिलसिलामा कीर्तिपुर आएर बसेको जनाउँदै लामाले भने, ‘थप अनुसन्धान भइरहेको छ । दुवैजनाको मेडिकल रिपोर्ट आउन बाँकी छ ।’