चितवन, भदौ २६ । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा खसेको ठूलो पहिरोका कारण रातिदेखि नै सो सडकखण्ड अवरुद्ध भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार यातायात सञ्चालनमा आउन मंगलबार दिउँसोसम्म नै लाग्ने भएको छ । रातिदेखि नै उक्त क्षेत्रमा ठूलो पानी परिरहेको छ । खनालले भने, ‘राति करिब १ बजेयता यहाँ गाडी चल्न सकेको छैन ।’
चार किलोमा ठूलो पहिरो खस्नुका साथै जलबिरे क्षेत्रमा साना पहिरोहरु गएका छन् । निकै ठूलो पानी परेका कारण पहिरो हटाउने काम सुरु गर्न नसेकेको उनले बताए । ‘अन्यत्रको पहिरोको समस्या त्यति ठूलो हैन तर चार किलोको पहिरो सफा गरेर गाडी चलाउन कम्तिमा पनि दिउँसोको तीन बज्ने अवस्था छ,’ सूचना अधिकारी खनालले भने, ‘पानी कति बेला रोकिएला भनेर कुरेर बसेका छौं । पानी रोकिए फिस्लिङबाट मगाएको उपकरण र हामीसँग भएको उपकरणले सफा गरेर दिउँसो तीन बजेसम्म बाटो खुलाउने प्रयास रहनेछ ।’
पहिरोले सधैजसो अवरुद्ध हुँदै आएको यो सडकमा साउन २१ यता आज ठूलो पहिरो गएको हो । दैनिक १० हजार गाडी ओहर–दोहर गर्ने यो सडक अवरुद्ध हुदाँ हजारौँ यात्रु अलपत्र पर्ने गरेका छन् ।