इराकमा हवाई आक्रमणहुँदा १२ मारिए, संसदमा आकस्मिक बैठक

इराकमा हवाई आक्रमणहुँदा १२ मारिए, संसदमा आकस्मिक बैठक

बगदाद, भदौ २४ । इराकको दक्षिणी शहर बसरामा सुरक्षाकर्मीको हवाइ आक्रमणमा परी १२ जना विद्रोहीको ज्यान गएको छ । विद्रोहीहरुले उक्त स्थानमा मंगलबारदेखि प्रदर्शन शुरु गरेको र इरानी वाणिज्यदूतावासमा समेत आगो लगाइएपछि सो तनाव उत्पन्न भएको थियो ।

उक्त घटना लिएर अहिले इराकी संसद्मा आकस्मिक तथा आपत्कालीन बैठक बोलाइएको छ । इराकी प्रधानमन्त्री हैदर अल अवादीले उपलब्ध मन्त्रीहरूको बैठकमा जानकारी गराएका छन् । अवादीले उक्त हिंसालाई ‘राजनीतिक प्रतिशोधले गरिएको आक्रमण’ भन्दै यसविरुद्ध दृढ भएर अघि बढ्न आग्रह गरेका छन् । विद्रोहीले इरान पक्षधर लडाकु तथा राजनीतिक दलका कार्यालय, सरकारी भवनहरू तथा इरानी वाणिज्यदूतावासमा आगजनी गर्न थालेका थिए ।

तनाव साम्य पार्न गरिएको सुरक्षा कारबाहीमा १२ जना विद्रोही मारिएका पुष्टि भएको छ । खानेपानीको अभावमा प्रदूषित पानी खाँदा विरामी परेका करिब ३० हजार नागरिक अस्पताल भर्ना भएपछि आक्रोशमा सरकारी भवनमा आगजनी गर्न थालेको आन्दोलित समूहले बताएको छ । सुरक्षाकर्मीले आन्दोलनकारीविरुद्ध चलाएको कारबाहीमा ५० जनाभन्दा बढी घाइते भएका गृहमन्त्रीले जनाएका छन् ।

इराकले आन्दोलन इरानको उक्साहटमा भएको जनाएको छ । विदेश मन्त्रालयले वाणिज्यदूतावासमा भएको आक्रमणलाई अस्वीकार्य कदम भन्दै ‘यसले इराकको चासो तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई कमजोर आँकलन गर्न खोजेको’ जनाएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ताल बहराम घसेमीले ‘असभ्य आक्रमण’ भनी इराकले गरेको आलोचनाको खण्डन गरेका छन् ।

इराकका लागि इरानी राजदूत इराज मस्जेदीले वाणिज्यदूतावास पूर्णरूपमा ध्वस्त गरिएको बताउँदै यसमा अमेरिका, जियोनी तथा केही अरब मुलुकका ‘विदेशी दलाल’ले इरान–इराकको सम्बन्ध बिगार्ने प्रयासमा गरेको आक्रमण भनी आरोप लगाएको इरानी समाचार संस्थाले जनाएको छ । बार्सामा गत जुलाईदेखि शुरु भएको विरोध कार्यक्रममा अहिलेसम्म २७ जनाको ज्यान गइसकेको छ ।

‘हामी तीर्खाएका छौँ, भोकाएका छौँ, विरामी परेका छौँ र राज्यद्वारा त्यागिएका छौँ । त्यसैले हाम्रो पवित्र कर्तव्यका लागि आन्दोलन शुरु गरेका छौँ र इमान्दार नागरिकले आन्दोलनमा सहभागिता जनाउने छ’, इरान निकट मानिने सिया समूहका अलि हुसैनले भने । यसैबीच सांसदले प्रधानमन्त्री लगायत सरकारी अधिकारीबाट घटनाको विवरण सुनाइएको छ । आन्दोलनको कारक भनिएको प्रदूषित खानेपानी तथा विद्युत् समस्याबारे छलफलसमेत भएको बताइएको छ ।

बसराका चर्चित सिया धर्मगुरु मोक्तदा सादरको आग्रहमा सांसदको आपत्कालीन बैठक बोलाइएको हो । यसक्षेत्रबाट निर्वाचित सांसदले जनताको जायज मागमा भएको लापबाही थप केही दिन रहे संकटकालीन सरकारको निर्माण गरिने चेतावनी दिएका छन् ।