पुणे सैन्य अभ्यासमा आफू प्रतिबद्ध रहेको भनेर ओलीले फोन गरे मोदीलाई

पुणे सैन्य अभ्यासमा आफू प्रतिबद्ध रहेको भनेर ओलीले फोन गरे मोदीलाई

काठमाडौं । गत साता नेपालमा सम्पन्न बिम्स्टेक चौथो शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले गरेको आह्वान अनुसार नेपाली सेना भारतको पूणेमा यही भदौ २५ देखि ३१ गतेसम्म हुन गइरहेको सैन्य अभ्यासमा भाग लिन जान तयारी गरिरहेको छ । यसका बारेमा देशभित्र र बाहिरबाट ओली सरकारको चर्को विरोध भएपछि भारतीय प्रम मोदीलाई फोन गरेर ओलीले आफू सैन्य अभ्यासमा प्रतिबद्ध भएको पुनः जानकारी दिएका छन् ।

नेपालको चीन र भारत जस्ता दुई ठूला तथा महाशक्तिहरुका बीचमा रहेको भूराजनीतिक अवस्थितिलाई लिएर देशभित्र र बाहिरबाट सैन्य अभ्यासको विरोध भएको हो । बिम्स्टेकका सहभागी राष्ट्रहरुले पनि राम्रो गरी पचाउन नसकिरहेको यो प्रस्ताव नेपालका लागि त ‘आत्महत्या जत्तिकै कठीन रहेको’ विश्लेषण पनि त्यति बेला नै भइसकेको थियो ।

भन्दा र देख्दा संयुक्त तथा साझा संगठनका साथै बहुस्वार्थ समेटिएको सामुहिक प्रयास भनेर बिम्स्टेकलाई भने पनि भारतको स्वार्थमा चीन र पाकिस्तान विरोधी गठबन्धनका रुपमा यसलाई विकास गराउन खोजिएको यो आफैमा प्रस्ट देखिन आएको छ ।

चौथो बिम्स्टेक शिखर सम्मेलनमा भाग लिन आउँदा भारतीय प्रधानमन्त्री मोदीले नेपालको सुरक्षा सतर्कता र सुरक्षा घेरालाई चुनौती दिंदै भारतीय कमाण्डो फोर्स नेपाली भूमिमा उतारेका थिए । यो एक सार्वभौम तथा आयोजक राष्ट्र नेपालका लागि एक लज्जाको विषय बनको थियो । यो स्वाभिमान नेपालीका लागि मुटु छुने विषय थियो ।

नेपालका आफ्ना स्वार्थ र सुरक्षाका आफ्ना तरिकाहरु छन् । ओलीले भारतीय शासकहरुको चाकरी गर्दा चीनको हित, स्वार्थ र अपेक्षालाई नदेखेको झैं गर्न मिल्दैन । चीन र पाकिस्तानको अनुपस्थितिमा भारतीय शासक मोदीले जुन रोबरवाफ र दादागिरी देखाए, यो नपाल र नेपाली सार्वभौमिकतामाथिको ठाडो हस्तक्षेप हो ।

त्यस पछिको यही भदौ २५ देखि ३१ गतेसम्म भारतको पूणेमा हुन लागेको बिम्स्टेक संयुक्त फौजी अभ्यास अर्को हस्तक्षेप हो । भारत र बेलायतले नेपाली सेनालाई गोर्खा आर्मीका नाममा नेपालका छिमेकी, मित्रराष्ट्र तथा दौत्य सम्बन्ध कायम भएका देशहरुका विरुद्धमा प्रयोग गर्दै आएको इतिहास छ । यसलाई पुनरावलोकन गर्ने यो बेलामा ओली सरकार उल्टै दलाली गरेर भारतीय सेना र सैन्य अभ्यासको गोटी बन्न पुग्नु नेपाल र नेपालीका लागि सैह्य कुरा होइन र हुन पनि सक्दैन ।