नेपालका लागि सामुद्रिक तथा सुख्खा बन्दरगाह खुला गर्न चीन सहमत

नेपालका लागि सामुद्रिक तथा सुख्खा बन्दरगाह खुला गर्न चीन सहमत

काठमाडौं । चीन र नेपालका बीचमा व्यापार तथा पारवाहन सन्धिको प्रोटोकल तयार पारिएको बताइएको छ । तयार पारिएको उक्त प्रोटोकलका आनुसार चीनले आफ्ना लागि प्रयोग गरिरहेको सामुद्रिक तथा सुख्खा बन्दरगाह नेपालका लागि तेस्रो देशसँग व्यापार गर्न खुल्ला गर्ने भएको बताइएको छ ।

एक भूपरिवेष्ठित देशले अन्तर्राष्ट्रिय कानुन अनुसार पाउनु पर्ने अधिकार छिमेकी देश भारतले बारम्बार कुण्ठित गरिरहे पछिको यो कठिनाइपूर्ण अवस्थामा अर्को छिमेकी देश चीनले बन्दरगाह खुल्ला गर्नु खुशीको कुरा हो ।

तर यो अधिकार व्यापार तथा पारबाहन संझौतामार्फत् चीनले नेपाललाई उपलब्ध गराएपछि नेपालले कुन कुन र कस्ताखाले उत्पादनहरु बढाएर विदेश पैठारी गरी यी बन्दरगाहबाट तेस्रो देशसँग व्यापार गर्ला त, यी भने भारतको चाहनामा लिस्टिङ गरिने बताइँदै आएको छ ।
यसबारेमा नेपाल सरकारले कुनै पनि आधिकारिक धारणा हालसम्म सार्वजनिक गरेको छैन । नेपालीहरुलाई प्रोत्साहित गरी नेपालका उत्पादनहरु विदेशमा पठाउने गरी उद्योग वाणिज्य संघ, व्यापारी तथा साना उद्योग र हस्तकला तथा अन्य सम्बन्धित पक्षलाई पनि यो बारेमा सोधपूछसम्म गरिएको छैन ।

नेपालले भोग्दै आएको समस्या के हो भने कहिल्यै पनि देश र जनताका बारेमा शासकहरुले सोच्दैनन् । र, यसका लागि गृहकार्य पनि गर्दैनन् । विदेशीसँग भएका र हुने गरेका अधिकांश सन्धिसम्झौताहरुमा कहिल्यै पनि नेपालको गृहकार्य र तयारी रहेको पाइँदैन ।
हाल नेपालबाट उत्पादन भई भारतको स्थानीय बजारमा पठाइने एकदमै नगन्य मात्राका कृषि उत्पादनहरु सिमानामा महिनौ दिन राखेर सडाइएका हुन्छन् । चिया, अलैची, नरीवल तथा सुपारीको निर्यातमा भारतले सधैं किचकिच गर्ने र महिनौंसम्म लिन नमानेर किसानहरुलाई मर्कामा पार्ने गरिरहेको छ । यसै कारणले पनि रुद्राक्षको व्यापार भारतसँग नगरेर जनताले जनस्तरबाटै चीनसँग गर्ने गरिरहेका छन् ।

पछिल्लो पटक अर्गानिक चिया राम्रो तथा गुणस्तरीय रुपमा उत्पादन हुन थालेपछि भारतले यस विषयलाई लिएर निकै महंगो व्यापार कर लगाउने गरेको छ । यसबारेमा नेपाल सरकार कहिल्यै पनि चुँसम्म बोलेको र पहलसम्म गरेको इतिहास पनि छैन ।
त्यस अतिरिक्त नेपाली ढाका कपडा, पस्मिना तथा गलैंचा निर्यातमा पनि भारतले निकै दुख दिने गरिरहेको छ । यसका लागि पनि चिनियाँ बन्दरगाह सहज र सुविधाजनक हुन सक्छ ।

तर दुखको कुरा, नेपाल सरकारको तर्फबाट यी गृहकार्यहरु आफैले नगरेर भारतसँग साधपूछ गरिरहेको भन्ने अति गोप्य कुरा जनताको माझमा जानकारीमा आउन थालेको छ ।