काठमाडौं । संरक्षणवादी आर्थिक नीति अबलम्बन गर्न पुगेको ट्रम्पको अमेरिका आजका दिनमा विश्व व्यापार संगठन (डब्लुटीओ) को विरुद्धमा उत्रिन पुगेको छ । उदारीकरण, खुलाबजार अर्थतन्त्र, विश्वव्यापीकरण र स्वतन्त्र व्यापारको आजसम्म नेतृत्व गर्दै आएको अमेरिका अब उसले अबलम्बन गर्न पुगेको संरक्षणवादी नीति विश्व व्यापार संगठनको चलिरहेको नीति विरुद्ध हुन पुगेको छ ।
आफूले नेतृत्व गर्दै आएको खुला अर्थतन्त्रको नीतिको विरुद्धमा अमेरिकी संरक्षणवादी हुन गएपछि ट्रम्पले अमेरिका अब विश्व व्यापार संगठन बाट बाहिरिने चेतावनी दिएका छन् । ट्रम्पको आफ्नै भाषामा डब्लुटीओले अमेरिकालाई अन्याय गरेको छ ।
ट्रम्पले संरक्षणवादी आर्थिक नीति अबलम्बन गरे लगत्तै अमेरिकामा आयात हुने सबै देशका सामानहरुमा बीसौं गुणा व्यापारिक कर लगाउँदै आएका छन् । अमेरिकाले लगाएको यो चीव्यापारिक करका विरुद्धमा उनका व्यापार साझेदार युरोपीय युनियनसँग सम्बद्ध देशहरु तथा चीन, रुसलगायतका देशहरुले जबाफी व्यापार कर लगाएका छन् ।
अमेरिकाले व्यापारिक कर लगाएपछि आफूहरु पनि व्यापारिक लगाउन बाध्य भएको भनी ती सबै देशहरुले यसको कारक अमेरिका नै रहेको बताउँदै आएका छन् । विश्वमा आज व्यापार युद्ध चलिरहेको छ ।
व्यापार युद्ध लड्ने क्रममा उपभोक्तामाथि परेको ज्यादती र बाध्यात्मक स्थिति सिर्जना हुन गएकोमा आफूलाई निकै अप्ठेरो परेको र त्यो पनि अमेरिकाको कारणले हुन गएको भनी डब्लुटीओमा चीनले अमेरिका विरुद्ध मुद्दा दायर गर्न पुगेको छ ।
हिंजो बन्द व्यापार नीति अख्तियार गर्ने चीन आज खुला अर्थनीतिका पक्षमा डब्लुटीओमा नेतृत्व गरिरहेको छ भने हिंजोको खुल्ला अर्थ नीतिको नेतृत्व गर्दै आएको अमेरिका आज खुम्चिन र संरक्षणवादी नीति अबलम्बन गर्न पुगेको छ ।
वास्तबमा डब्लुटीओ हिजोका कम्युनिष्ट समाजवादी देशहरुका विरुद्धमा सेता झण्डा बोक्ने देशहरुको धुरी बनेको अमेरिकाको नेतृत्वमा चल्दै आएको थियो र हो पनि । तर आज अमेरिका जस्ता देशहरु त्यो खुल्ला अर्थनीति लागू गर्न निर्माण गरिएको डब्लुटीओले आफूहरुलाई असन्तुलित र भेदभावपूर्ण व्यवहार गरिरहेको आरोप लगाएका छन् ।
उता चीन भने खुला अर्थनीति र खुला तथा प्रतिस्पर्धात्मक विश्व बजारको पक्षमा छ ।