काठमाडौं । बिम्स्टेक सम्मेलनपछि अब बिम्स्टेक सदस्य राष्ट्रहरुको ध्यान भारतको पुणेमा हुन लागेको बिम्स्टेक सेन्य अभ्यासतिर बिस्तारै तानिन थालेको छ । यो सैन्य अभ्यास कसैका विरुद्ध नहुने भनिए पनि सैनिक र सैनिक गतिविधि कसै न कसैका विरुद्ध परिलक्षित हुन्छ नै । त्यसैले पनि बिम्स्टेक सदस्यका हैसियतले नेपालको सहभागिता स्वयम् नेपालीका लागि पनि पचिराखेको छैन ।
यसबारेमा नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बिम्स्टेक संयुक्त सैन्य अभ्यास कुनै पनि देशका विरुद्ध लक्षित नभएको बताउँदै प्रस्टीकरण दिइरहेका छन् । तथापि नेपाल जस्तो भूराजनीतिक तथा भूरणनीतिक महत्वको संवेदनशील स्थानमा रहेको अवस्थितिलाई गहिरो गरी मध्यनजर गर्ने हो भने यसको सैन्य, कुटनीतिक तथा अन्य तटस्थता नेपाल र नेपालीकै लागि निकै जीवनदायी हुन जान्छ ।
नेपाली सेनाको पेशागत सैन्य दक्षताका लागि आफैले नेपालमा सैन्य प्रशिक्षक बोलाई नयाँ खालको प्रशिक्षण दिलाउन पनि सकिन्छ । तर अन्य मुलुकसँग र विशेष गरी भारतसँग यस्तो सैन्य सहकार्यले अन्तर्राष्ट्रमा राम्रो प्रभाव पार्दैन ।
तर नेपाली नेता र मन्त्रीहरुले यति सजिलैसँग जवाफ दिन्छन् कि उनीहरुलाई पत्रकार वा प्रश्नकर्ताको छिटोछिटो जवाफ दिएर घरमा पुगी भात खान हतार छ । रणनीतिक प्रभाव, आइपर्ने समस्या, निर्वाह गर्नुपर्ने दायित्व र जवाफदेहिताको वास्ता नै छैन । ठूलाले बोले भइहाल्छ ।
जवाफ एक शब्दमा खलास पारिदिन्छन् कि सैन्य अभ्यास प्राकृतिक प्रकोप र उद्धारका लागि गरिन मात्र लागिएको हो । रेडीमेड छ जवाफ ।
प्रश्नकर्ता वा पत्रकार भने सशंकित छ कि सैन्य अभ्यासलाई भारतले सामरिक र रणनीतिक हिसाबले आफ्नो स्वार्थअनुरुप डोर्याउन चाहेको छ । तर उनीहरुको सामन्ती अहम् यतिसम्म चुलिएको छ कि सरकारी मान्छेले आफूलाई सोच्ने गर्छन् ‘राजाले हुन्न भने पछि हुन्न हुन्न, राजाका अगाडि बाबाका दुहाई !’
जापानमा एक चरणमा यस्तै थियो । दोस्रो विश्व युद्धको कालमा जापानी राजा हिरोहितोले बोलेपछि, कासन दिएपछि वा हप्काएपछि अमेरिका थुर्र काँपेर आत्मसमर्पण गर्छ र जापानीको जीत हुन्छ । तर भयो के त ? जापान अमेरिकाले खसालेको अणुपरमाणु बमले ध्वस्त भई अमेरिकाको गुलाम बनाइयो ।
बिम्स्टेकको सबैभन्दा ठूलो देश भारतले आफ्नै छिमेकी देश पाकिस्तान र चीन तथा रसियालगायतका देशहरुसँग पौठेजोरी खेल्न रणनीतिक हिसाबले दक्षिण एशियाका ससाना देशहरुलाई आफूसँग एक ठाउँमा लिएर मुछिरहेको छ । यो नेपाली जनतालाई पनि मन परिरहेको छैन ।
तर पनि बिम्स्टेकका सदस्य राष्ट्रहरुले ‘बहुदेशीय फिल्ड ट्रेनिङ माइलेक्स’ का नााममा भदौ २५ देखि ३१ गतेसम्म भारतीय सेनाको अगुवाइमा भारतको पुणेमा संयुक्त सैन्य अभ्यास गर्न थालेका छन् । उक्त सैन्य अभ्यासमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यान्मार र थाइल्याण्ड सहभागी हुँदै छन् । सहमतिअुसार प्रत्येक देशबाट ३० जना सेनाका उच्च ओहदाका सैन्य अधिकारीहरुले भाग लिने छन् ।