अर्थतन्त्र उकालो लाग्यो वा अर्थमन्त्रीको होश खुल्यो ?

अर्थतन्त्र उकालो लाग्यो वा अर्थमन्त्रीको होश खुल्यो ?

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले नेकपाको बहुमतले सत्ता सम्हालेको ६ महिनाभित्रै देशको अर्थतन्त्र उकालो लागेको तथ्यांक पेश गरेर सबैलाई चकित पारिदिएका छन् । उनले अब देशले आर्थिक गति लिन थालिसकेको बताएका छन् । ६ महिनाअघि बर्बादीको दिशामा धकेलिएर मूर्छा परेको देश ६ महिनापछि झङलंग ब्युँझिएको छ ।

ओली सरकारका अर्थमन्त्री युवराज खतिवडाको आर्थिक होश फिरेको छ । अर्थमन्त्री नियुक्त भएलगत्तै उनले आर्थिक श्वेतपत्र जारी गरी देशको अर्थतन्त्र चौपट रहेको बताएका थिए । सबै टाट पल्टिइसकेको र एमालेको सरकार नआएको भए देश लिलाम हुन पुग्ने अवस्थामा रहेको भनी जनतामा आर्थिक भय र त्रास उत्पन्न गराएका थिए ।

त्यतिबेला यो सबै कांग्रेसी सरकारले गराएको बताएका थिए । कांग्रेसका नेता तथा अर्थविदहरु पनि चकित भएका थिए । उनीहरुले देशको अर्थतन्त्र त्यसरी चौपट नभएको तर एमाले निकै ढँटुवा र पाखण्डी भएको बताएका थिए । अहिले देश कांग्रेसले चौपट पार्यो भनेपछि एकदुई महिनाभित्र एमालेले फूमन्तर गरेर धेरैमाथि उठायो भनी जनता ठग्न यसो गरिएको बताएका थिए ।

भयो पनि त्यस्तै । एमालेले गरेको केही होइन, हालको नेकपाले गरेको पनि केही होइन । तर ६ महिनाको अन्तरालमा अर्थतन्त्र उकालो लाग्यो । त्यो भनेको नेकपाको कमाल हो । साधरण जनताले पनि प्रश्न गरिरहेका छन् ६ महिनामा के कमाल भएछ कुन्नी ? तर अर्थमन्त्री खतिवडाले देशको अर्थतन्त्र उकालो लगाइछाडे ।

आर्थिक हिसाबले लागोस् कि नलागोस्, अर्थमन्त्रीले तथ्यांक सार्वजनिक गरेकै छन् । पत्याऊ कि नपत्याऊ !