काठमाडौं, भदौ १४ । जारी एसिया कप छनोटको दोस्रो खेलमा पनि नेपाल हारेको छ । बिहीबार युएईसँग ७८ रनले हारेसँगै नेपालको एशिया कप खेल्ने सम्भावना निकै न्यून भएको छ । हालै मात्र एक दिवसीय मान्यता पाएको नेपाल छनोट प्रतियोगिता जितेर भारत र पाकिस्तानसँग एसिया कप खेल्ने लक्ष्यका साथ मलेसिया पुगेको थियो ।
नेपाललाई युएईले २५५ रनको बिजय लक्ष्य दिएको थियो । नेपालले गरेको जवाफी ब्याटिङमा निर्धारित ५० ओभरमा ७ बल बाँकी रहँदा १७६ रन मात्र बनाउँदै अल आउट हुन पुग्यो । नेपालका लागि सुवास खकुरेल र दीपेन्द्रसिंह ऐरी बाहेक अन्य खेलाडी राम्रोसँग जम्न सकेनन् ।
सुवासले ५० र दीपेन्द्रले ४० रन बनाउँदा नेपालका उच्च स्तरका ब्याट्सम्यान भने चल्न सकेनन् । कप्तान पारस खड्का १६, उपकप्तान ज्ञानेन्द्र मल्ल ४, सागर पुन र आरिफ शेख समान ३–३ रन बनाउँदै आउट भए । पछि नवौं नम्बर ब्याटिङ गर्न आएका सोमपाल कामी र १०औं नम्बरमा आएका बसन्तले ३४ रनको साझेदारी गर्दै नेपाललाई ठूलो अन्तरको हारबाट जोगाए । सोमपालले अविजित २७ र बसन्तले १२ रन बनाएका थिए ।
बलिङतर्फ युएईका अहमद राजाले ४ र मोहम्मद नभिदले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको थियो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा युएईले उत्कृष्ट सुरुवात गरेको थियो । युएईका लागि चिराग सुरीले ६५, एड्नान मुफ्तीले अविजित ५७, अश्फाक अहमदले ४५ र र रमिज शाहजादले ३६ रन बनाए ।
सन्दीपले पूरै १० ओभर बलिङ गर्दै २ ओभर मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिन सफल भए । त्यस्तै, नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले समान २–२ विकेट लिए । बसन्तले १० ओभर बलिङ गर्दै ४९ रन खर्चेर २ विकेट लिए । सोमपालले १० ओभर बलिङ गर्दै ५८ रन खर्चेर २ विकेट लिए ।
यो सँगै एसिया कप खेल्ने सम्भवाना न्यून
नेपालले अब बाँकी तीन खेल क्रमशः मलेसिया, सिंगापुर र हङकङसँग खेल्नु पर्नेछ । बाँकी तीन वटै खेल जित्दा पनि नेपालको अंक ६ मात्र हुनेछ ।
जबकी नेपाललाई हराएको यूएई र ओमान दुबैले दुई खेलबाट ४–४ अंक बटुलिसकेका छन् । अब यूएईले मलेसिया र हङकङ तथा ओमानले हङकङ र सिंगापुरसँग खेल्न बाँकी छ । एक खेलमा भने यूएई र ओमान अमनेसामने हुनेछन् ।
त्यसैले एसिया कपमा स्थान बनाउन अघि फाइनल पुग्न पनि नेपाललाई निकै कठिन छ । छनोट प्रतियोगिताको विजेताले एसिया कप खेल्न पाउनेछ । यद्यपि यूएई र ओमानका बाँकी खेलमा अनपेक्षित नजिता आए नेपाललाई लाभ हुनेछ ।